छैटौँ बागलुङ महोत्सवको तयारी तीव्र पारिएको छ।
व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव आगामी पुस ११ देखि २० गतेसम्म चल्नेछ। प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजनलगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन्।
महोत्सवकै अवसर पारेर आगामी पुस १० गते ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ शीर्षकमा आर्थिक बहससमेत हुँदैछ। लगानी सम्भावना औँल्याउन आयोजित बहस कार्यक्रममा सरकारका प्रतिनिधिसहित ठूला उद्योगी, व्यवसायी सहभागी हुनेछन्।
नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ। “भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकामा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भने।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिने भएको छ। जिल्लाको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ। परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणका रुपमा रहनेछन्।
महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक कक्ष रहने जनाइएको छ। “जिल्लाका घरवासमा पाइने मौलिक खानाका परिकार उपलब्ध गराउँदैछौँ”, महासचिव कँडेलले भने। महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन गरिनेछ। (रासस)