ब्याँसी शौका जातिकै कारण जोगिएको हाम्रो राष्ट्रियता! (भिडियो)

बिएल

नेपालको पश्चिमी सीमामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले १० नोभेम्बर २०१९ मा आफ्नो नक्सामा समावेश गराउँदै नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्‍यो। यसैको विरोध गर्दै अहिले नेपाल र नेपालीहरू आन्दोलित छन्। 

यति बेला सामाजिक सञ्जालमा सबैलाई चकित तुल्याउने नयाँ तथा नौलो तथ्यका साथ मानिसहरू देशको भूमि रक्षाका लागि मर्न र मार्न तयार भएको भिडियोसहित देखापरिरहेका छन्।

सन् १९६२ मा भारत–चीन युद्धताका चिनियाँ सेनालाई भारतीय भूभागमा प्रवेश गर्न नदिन तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको अनुरोधमा राजा महेन्द्रले कालापानीमा भारतीय सेनालाई अस्थायी रूपमा गस्ती गर्न अनुमति दिएका थिए। तर, युद्व समाप्त भएको ५८ वर्ष बितिसक्दा पनि भारतीय सेना अटेर गरेर क्याम्प बनाएर बसेको छ।

लगभग ६ दशकदेखि नेपाली भूमिमा आँखा गाडेको भारतले अहिले आएर आफ्नो मनसाय व्यक्त गरेको छ। भारतको यो कार्यको सर्वत्र विरोध त भइरहेको छ नै तर ५८ वर्षसम्म आफ्नो भूमि कब्जा गरेर बसेको स्थान कुटनीति तवरबाट खाली गराउन नसक्नु नेपाली नेताको पनि ठूलो कमजोरी हो।

नेपालको कमजोर कुटनीतिका कारण भारतले कालापानीका तीन गाउँ गुन्जी, कुटी र नाबीलाई धेरै पहिले आफ्नो भूभागमा गाभिसकेको छ। यी तीन गाउँलाई भारतमा गाभ्दा चुइक्क नबोलेका राष्ट्रिय नेताको कमजोरीकै कारण भारतले आज महाकाली, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गर्ने दूर्साहस गरेको हो।

भौगोलिक रूपमा निकै विकट रहेको कालापानीमा न राज्यको उपस्थिति छ, न सडक बाटो नै। त्यसैले पनि भारतलाई यो क्षेत्रमा अतिक्रमण गर्ने बहाना मिलेको हो। भारतले आफ्नो नक्सामा नेपाली भूभाग समावेश गराएको विषयमा थुप्रै कोणबाट बहस भइरहेको छ।

तर, भारतको हेपाह प्रवृत्ति हेर्दा एउटा तथ्य चाहीँ स्पष्ट हुन्छ– यो क्षेत्रमा स्थानीय सौका जाति नहुँदो हो त, भारतले उहिल्यै कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो देशमा गाभेँर यहाँका जातिहरू भारतीय भइसक्ने थिए।

को हुन्, ब्यासी शौका जाति?

नेपाल, भारत र चीनको त्रिदेशीय नाकाको सामरिक महत्व राख्ने दार्चुला जिल्लास्थित ब्यासगाउँ पालिकामा दुई वटा गाउँपर्छ। ति हुन्, तिन्कर र छागरू। जहाँ ब्यासी सौका समूदायको स्थायी बसोबास छ। यहाँका बासिन्दाको आफ्नै कला र संस्कृति छ।

हिमालको बसाईँसँगै थोरै किसानी काम गर्ने र पूजाआजामा दमाहा बाजामा रमाउँछन्, ब्यासी शौका। उनीहरु पानी परेपछि खुल्ने निलो आकाशमुनि देखिने सुन्दर अपि हिमाल र नाम्पाको सुन्दरताको काँखमा लुटपुटिने गर्छन्।

वर्षोदेखि तिब्बतको ताक्लाकोटमा गएर व्यापार व्यवसाय गर्ने ब्यासी शौका जाति ६ महिना सदरमुकाम दार्चुला र ६ महिना हिमाली क्षेत्र ब्यासमा बसोबास गर्ने गर्दछन्।

ब्यासमा बसोबास गर्दा उनीहरु खेतीपातीको काममा ब्यस्त हुन्छन्। व्यापारको लागि उनीहरु ठूलाठूला हिमश्रृंखला छिचोल्दै ताक्लाकोट पुग्ने गर्छन्।

सुख–दुःखका साथ आफ्नो काममा तल्लिन शौका जाति परम्परागत व्यापारमा दत्तचित्त भएर लागेका छन्।

जीवन धान्न छानागरू र तिन्करका मानिसहरु खलङ्गाको सदरमुकामबाट घोडा–खच्चरमा गुड, मिश्री, सूर्ती, चुरोट लादेर छ्यालेक दोगगांग, टाटा र लिपुलेकको पिलर नम्बर–१ को बाटो हुँदै तिब्बत पुग्छन्।

तिब्बतमा व्यापार गरेर आर्जन भएको पैसाले सौका जातिको घर व्यवहार चलेको हुन्छ। जाडोमा उनीहरु सदरमुकाम झर्ने गर्छन्। तर, यो स्थानमा बाटो नहुँदा उनीहरु दुःखका साथ भारतीय बाटो हुँदै सदरमुकाम झर्ने गर्छन्।

त्यसैले यो क्षेत्रमा भारतीयको जति नै थिचोमिचो भएपनि उनीहरू मुख खोल्न सक्दैनन्।

ब्यासी शौकाहरूको मुख्य समस्या

दार्चुला सदरमुकामबाट ब्यासी सौका जातिहरु नेपालको बाटो नहिडेको वर्षो भइसकेको छ। भारततर्फको गोरेटो बाटो भएरै उनीहरु आफ्नो गाउँ फर्किन बाध्य छन्।

राजधानी काठमाडैंमा लिम्पियाधुराको बहस हुँदा यीनलाई एउटै कुराको डरले सताउँछ, त्यो हो– हिउँ परेपछि सदरमुकाम कसरी झर्ने भनेर? नेपालतर्फ गोरेटो बाटो छैन। भारतीय बाटो भएर गाउँ फर्किदा करिब एक साता लाग्छ। आफ्नै गाउँ जान बाटो नभएर सास्ती खेपेका उनीहरु राजधानीमा आन्दोलन हुँदा झन् सास्ती पाउने डरले निर्धक्क नेपाली हुँ भन्न पनि डराउनुपर्ने अवस्था छ।

त्यसैले यति बेला जिम्मेवार राजनीतिक दलले आन्दोलनलाई मात्र मलजल गर्नुको सट्टा तिंकरसम्म पक्की सडक सञ्जालको व्यवस्था गर्नु अनिवार्य भइसकेको छ। स्थानीय शौका जातिको पनि वर्षोदेखिको माग छ– सरकारले छिटोभन्दा छिटो कालापानीसम्म यातायातको सुविधा विस्तार गर्नुपर्‍यो।

कालापानीको सीमा सुरक्षा आजसम्म नेपाली सेनाले गरेको छैन। यीनै शौका जाति सीमाका जंगे पिलर भएर वर्षोदेखि उभिएका छन्।

प्रकाशित मिति: : 2019-11-22 19:55:56

प्रतिकृया दिनुहोस्