हरेक वर्ष अंग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा यस वर्षको नारा ‘समानताको पुस्ता, बलात्कारविरूद्ध ऐक्यवद्धता’ तथा अन्तर्राष्ट्रिय नारा 'अरेन्ज द वर्ल्ड जेनेरेसन इक्वालिटी स्ट्याण्ड अगेन्स्ट रेप' रहेको छ।
नेपालमा बलात्कारका घटना वृद्धि भएको भन्दै १६ दिने अभियानको नारा बलात्कार केन्द्रीत बनाइएको हो।
यसै विषयमा आधारित रहेर पटक पटक बलात्कारको हिंशा सहेर अहिले आफैं अभियन्ता बन्न पुगेकी मुना दमाई (नेपाली) रक्षा नेपालकी कोषाध्यक्षसमेत हुन्।
मान्छे जब हिंसामा पर्छ। त्यो हिंसा सहन नसकेपछि एक न एक दिन बिस्फोट हुन्छ। यस्तै बिस्फोट मुनाको जीवनमा पनि भयो।
१७ वर्षअघि नुवाकोटस्थित घरमा बम बिस्फोटमा परि बा आमा गुमाउँदा उनी मात्र ५ वर्षकी थिइन्।
त्यतिखेर दिदीहरूको विवाह भइसकेको थियो। एक दाजु र भाइ थिए। मुनालाई त आफ्नो बाबाआमाको राम्रोसँग सम्झना पनि छैन।
टुहुरो हुनुको पीडा छँदैछ। त्यसमाथि लित हुनुको अभिसापले मुनालाई धेरैनै गिजोल्यो। मुना हुर्किर्दै गइन्। गाँउघर, पानी-पँधेरोमा जाँदा पनि दलित भनेर सबैले हेपेको सम्झना उनलाई ताजै छ।
गाँउमा बस्न नसकेपछि उनी दाजुसँगै काठमाडौं शहर पसिन्। मुनालाई त्यत्ती बेला कति वर्षको थियौं भनेर सोध्दा उनलाई राम्रोसँग सम्झना छैन। 'सायद १० वर्षकी थिएँ कि?', उनले अनुमान लगाउँदै जवाफ दिइन्।
काठमाडौं शहर मुनाले सोचेजस्तो भेदभावमुलक कहाँ थियो र? कल्पना गरेजस्तो सहज पनि थिएन। यहाँ त पाइलैपिच्छे गिद्दे नजरबाट बचेर हिँड्नु पर्थ्यो। कामको नाममा मान्छेले मान्छेलाई नै बेच्ने नजरबाट बच्नुपर्थ्यो।
काठमाडौं शहर यस्तै थियो। जहाँ आफन्त पनि बिराना हुन्छन्। मुनाको पनि यस्तै भयो। दाइले भाउजु ल्याए। मुना सडकमा पुगिन्।
मुनाले कति दिन त सडकमा फ्याँकेको खाइन्। सडक मै सुतिन्। काम गर्नेको लागि जात सोध्दा एक दिन उनले जात ढाटेपछि एउटा घरमा भाँडा माोझ्ने काम पाइन्।
त्यहाँ एक वर्ष काम गर्दा उनले धेरै दुःख सहनुपर्यो। उनको त्यो अवस्था एक व्यक्तिले नियालिरहेका थिए। उसले एक दिन मुनालाई राम्रो ठाँउमा काम लगाइदिने आश्वासन दियो।
मुनालाई 'ढुङ्गा खोज्दा देउता मिले' जस्तै भयो। मुना त्यो केटासँग नयाँ कामको खोजीमा त्यहाँबाट निस्किइन्। मुनाले सोचिन् 'यो शहरमा राम्रो मान्छे पनि हुँदा रहेछन्।'
त्यो केटाले उनलाई अर्को अपरिचित व्यक्ति कहाँ पुर्यायो। 'तिमी यही बस्दै गर, म एक छिनमा आँउछु', भनेर त्यो केटा त्यहाँबाट निस्कियो।
त्यो मान्छेले किनिदिएको रातो फ्रक र जुत्ता लगाउन पाउँदा उनी दङ्ग थिइन्। 'बच्चा न थिएँ। मैले आफूलाई नै सिन्ड्रेला सम्झेर फुरूङ भएकी थिएँ', उनले बिएल नेपाली सेवासँग भनिन्, 'तर, जब एउटा कोठामा पुर्याएर कसैसँग जर्वजस्ती सुत्न लगाइयो। त्यसपछि मैले सबै वास्तविकता थाहा पाएँ।'
बच्चाले जति नै नाइनास्ती गरे पनि कसैले सुनेनन्। न त कसैले थाहा पाए। त्यो पिँजडाबाट निस्कन उनी सकिनन्।
'दिनकै ३०, ३५ जना ग्राहकको ओछ्यान बन्नुपर्ने अवस्था आयो। त्यो एक छिनमा आँउछु भन्ने मान्छे कहिले फर्केर आएन। मलाई लाई बेचेर गएको रहेछ', उनले भनिन्।
यति धेरै पीडाका बिचमा पनि मुनाले हिम्मत हारिनन्। केही दिनपछि उनले आफूलाई ठमेलको मसाज सेन्टरमा बेचेको थाहा पाइन्। अँध्यारो रातमा पनि मुनालाई त्यहाँबाट निस्कने उज्यालोको दिप बलिरह्यो। धैर्य गर्दै एक दिन मुनाले रक्षा नेपालद्वारा एफएममा प्राशारित 'रक्षाको आवाज' नामक कार्यक्रम सुनिन्।
त्यो कार्यक्रममा फोन नम्बर दिएको थियो । मुनाले सम्झिइन् र साहुँलाई छलेर एक दिन रक्षा नेपालमा फोन गरिन्। उनको फोन कलसँगै मुनासहित अरू केहीलाई त्यहाँबाट उद्वार गरियो।
मुनाको साहस र आँटले रक्षा नेपालको संरक्षणमा पुर्यायो। रक्षा नेपाल हिंसा पीडित किशोरी र मनोरञ्जन क्षेत्रमा बाध्यात्मक शोषण गर्नेका विरुद्धमा काम गर्ने संस्था हो।
रक्षा नेपालकी अध्यक्षलाई मुना आमा अर्थात आफ्नो गडमदर मान्छिन्।
'गड मदरको अंगालोमा पहिलोपटक पर्दा मैले म (मुना) हुनुको अर्थ बुझेँ। मलाई मेरो माया लाग्यो। मलाई पनि कसैले माया गर्दो रहेछ भनेर बुझ्ने मौका पाएँ', उनले हर्षका आँशु बगाइन्।
रक्षा नेपालमा आएसँगै मुनाका दिन फेरिए। उनले आफूलाई संस्थाद्वारा सञ्चालित शशक्तिकरणको पाइलामा अगाडि सारिन्। उनी आफूजस्तै अरू किशोरी र महिलाहरुको उद्वारमा लागिन्।
मुना जीवनमा जहिल्यै सकारात्मक सोच्छिन्। त्यसैले उनले सकारात्मक कार्यक्रमदेखि प्रेरणादायी कुरा मात्र सुन्छिन्। उनको सकारात्मक सोचले सन् २०१८ मा एशियन पेन्ट्सले नारी दिवसको अवसरमा आयोजना गरेको 'शक्तिरूपेण संस्थिता' नामक गोल्डेन अवार्ड सहित ७० हजार नगद पुस्कार पाइन्।
उक्त पुरस्कार रकम मुनाले आफू जस्तै दलित किशोरीको पढाइमा खर्चिइन्।
मुना हालै युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भईरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि नेपालस्थित लिडरसिप एकेडेमी र अमेरिकास्थित युर्निभर्सिटी अफ सैन डिएगो, क्रोक इन्स्टिट्यूट फर पिस एण्ड जस्टीसले दिएको 'राष्ट्रिय युवा नेतृत्व प्रशीक्षण' का लागि छानिइन्।
कार्यक्रममा राष्ट्रलाई शान्ति र सम्वृद्धिको मार्गमा अघि बढाउन युवाले महत्वपूर्ण भूमिका खेल्नुका साथै उनीहरू प्रेरक शक्ति भएको बताइएको थियो।
समुदायमा सकारात्मक परिवर्तन सृजना गर्न अबको युवाले नेतृत्व लिएर आवश्यक कौशल र ज्ञान विकास गर्न जरूरी रहेको भन्दै युवा नेता/नेतृहरुको कामलाई अझै प्रभावशाली बनाउन एक बरिष्ठ नेता मार्फत सल्लाह, सुझाव तथा मार्गदर्शन गरिएको थियो।
कार्यक्रममा छनोट भएका युवा नेतालाई यो कार्यक्रम मार्फत यसै कार्यक्रममा छनोट भएका ७ प्रदेशका सहभागीसँग अन्तरक्रिया र देशभरका उदीयमान युवा नेतासँग काम गर्ने मौका दिइएको थियो।
मुना आफूजस्तै पीडाबाट गुज्रिएका महिला, किशोरी र युवतीलाई आशा र धैर्यता कहिले तोड्नु हुँदैन भन्छिन्। 'आशा गर्न नै छोड्यो भने बाँच्न सकिदैन। कुनै पनि कामको लागि सकारात्मक र धैर्यता गर्न छोड्नु हुँदैन', यो उनले जीवनमा सिकेको महत्वपूर्ण पाठ हो।
कुशल र असल युवा नेतृत्वले मात्र समाजमा प्रभावकारी रुपमा सकरात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले राष्ट्रलाई शान्ति र सम्वृद्धिको मार्गमा अघि बढाउन युवाहरु नै महत्वपूर्ण र प्रेरक शक्ति हुन्।
समुदायमा सकारात्मक परिवर्तन सृजना गर्न अबको युवा नेतृत्वले आवश्यक कौशल र ज्ञान विकास गर्न जरूरि छ।
युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरूमा विकसित भईरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि नेपालस्थित Leadership Academy र अमेरिकास्थित University of San Diego, Kroc Institute for Peace & Justiceले 'राष्ट्रिय युवा नेतृत्व प्रशिक्षण' कार्यक्रम सञ्चालनमा ल्याएको हो।
हिंसाका घटनाको अभिलेख राखिएको पुस्तक 'अन्वेषी' सार्वजनिक
यसैबीच नेपालका महिलामाथि एक वर्षको अवधिमा भएका हिंसाका घटनाको अभिलेख राखिएको पुस्तक 'अन्वेषी' सार्वजनिक भएको छ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन हिजो नोभेम्बर २५ मा राष्ट्रिय मानव अधिकार आयोगमा अयोजित कार्यक्रममा अन्वेषी सार्वजनिक गरिएको हो ।
अन्वेषी २०७६ मा 'जुलाई २०१८ देखि जुन २०१९' सम्म ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३ सय १९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ।
अन्वेषी २०७६ का अनुसार यो वर्ष सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिका माथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्ले, प्रहरी उपरीक्षक कृष्णसिंह थापा र ओरेकका अध्यक्ष ज्येत्सना मास्केले संयुक्त रुपमा लोकार्पण गरेका थिए।
अन्वेषी २०७६ का सम्पादक कैलाश राईले सर्वेक्षणले सीमित भूगोलका धेरैजसो हिंसा प्रभावितहरु ओरेकको सहयोगी संयन्त्रसम्म आफैं आइपुगेर गरेको रिपोटिङको आधारमा नेपालमा महिलामाथि हुने हिंसाको बारेमा अन्वेषीमा विश्लेषण गरेको बताइन् ।
ओरेकका अध्यक्ष ज्योत्सना मास्केले अब ओरेकले आफ्नो तथ्याङ्कको दायरालाई फराकिलो पार्दै अन्वेषीमा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्य लगायत महिला आन्दोलनको विविधता समेट्ने प्रयास गरिरहेको जानकारी दिइन् ।
ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले संकलित हिंसाको तथ्याङ्कले महिलाहरु घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको उजागर गरेको बताए ।अन्वेषी लोकार्पण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अन्वेषीले उजागर गरेको महिला हिंसाको वास्तविकता र विश्लेषणले मानव अधिकार आयोग, नेपाल सरकार र सरोकारवालालाई महिला हिंसा अन्त्य गर्न ठोस कार्य गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
महिलामाथि हुने हिंसा तथा महिला अधिकारका सन्दर्भमा निकै नीति तथा कानुनहरु निर्माण भएको भए पनि यसको प्रभावकारी कार्यान्वयनले मात्र मुद्दा सम्बोधन हुने बताए । मानव अधिकार आयोग महिलामाथि हुने कुनै पनि प्रकारको हिंसाका विरुद्ध दरिलोरुपमा उभिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
आयोगका सदस्य मोहना अन्सारीले सिड समिति, सिरासि समिति लगायत संयुक्त राष्ट्रसंघिय समितिहरुले महिला तथा बालबालिकामाथि हुने हिंसाको स्वरुप पहिचान गर्न, यसको कारण पत्ता लगाउन तथा सम्बोधनका लागि तथ्याङ्कहरुको व्यवस्थापन राष्ट्रिय रुपमै गर्नुपर्ने सुझाव पेश गरेको बताउँदै यस्तो संयन्त्र स्थानीय निकाय, प्रादेशिक सरकार तथा राष्ट्रियस्तरमै अति आवश्यक भएको बताइन् ।
महिला पुनर्स्र्थापना केन्द्र (ओरेक) ले सन् २००८ देखि देशभरबाट महिलामाथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लैङ्गिक हिंसा विरुद्धको दिवस २५ नोभेम्बर का दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।