आज पनि समयमा भएन 'ओली सरकार' पुनर्गठन

ओली हो कि भोली हो ? - त्यो त दैव जानुन् । फाइल तस्बिर

बुधबार गर्ने भनिएको ओली सरकारको पुनर्गठन राति अबेरसमम पनि भएको छैन । तर, नेपालमा जे पनि राति हुने भएकाले अझै यसको सम्भावना जिवितै रहेको बताइएको छ ।

पार्टीका विभिन्न गुट मात्र हैन, राष्ट्रपतिलाई समेत भागबण्डा लगाउनु परेकाले पद मिलानको रस्साकस्सी बढेर समयमा पुनर्गठन गर्न नसकिएको बताइएको छ।

हटाउने र ल्याउनेको सूची बनेको बनै छ । तर, अहिलेसम्म त्यसले अन्तिम रूप लिन नसकेको बताइए पनि प्रधानमन्त्री निकट स्रोतले भने सूची राष्ट्रपति कार्यालय पठाइ सकिएको दाबी गरेको छ।

हटाइनेमा ओलीबाहेक अन्य गुटका धेरै भएकाले नेकपामा गुटगत राजनीतिको पारो तातेको छ।

हटाइदैछन्- मातृका यादव, चक्रपाणि खनाल, थममाया थापामगर, रघुवीर महासेठ, लालबाबु पण्डित, गोकर्ण विष्ट, धनबहादुर बुढामगर, रामकुमारी चौधरी
ल्याइदैछन्- रामेश्वर राय यादव, लेखराज भट्ट, मोती दुगड, घनश्याम भुसाल, बिमला राई पौडेल, हृदयश त्रिपाठी, बसन्त नेम्वाङ र महेश बस्नेत

तत्कालिन माओवादी गुटबाट भने उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनालले आफूहरू हटेको बताए। उनीहरूको ठाउँमा रामेश्वर राय यादव र लेखराज भट्ट मन्त्री हुने भनिएको छ। यही गुटकी कृषिराज्यमन्त्री रामकुमारी चौधरी पनि हटाइने सूचीमा चढेकी छिन्। तर, उनको स्थानमा को ल्याउने वा राज्यमन्त्री नै नबनाउने यसै निर्णय भएको छैन। 

तत्कालिन माओवादीको गुटगत राजनीति मिलाउन गृहमन्त्री रामबहादुर थापा 'वादल' र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसपटक छुट्टी नपाउने भएका छन्। मेलम्भीले डुबाए पनि अध्यक्ष ससुराका कारण खानेपानीमन्त्री विना मगर पनि सुरक्षित भएको बताइएको छ।

उता, पूर्व एमाले गुटका महिलामन्त्री थममाया थापामगर, निर्माणमन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्ट हट्ने सूचीमा चढेका छन्। यो सूचीमा राज्यमन्त्री धनबहादुर बुढा पनि छन्। हट्ने सबै मन्त्री माधव नेपाल गुटका पेरका छन् भने राज्यमन्त्री बुढामगर बामदेवको कोटामा मन्त्री भएका थिए।

पूर्व एमालेबाट मन्त्री हुनेमा मोती दुगड, घनश्याम भुसाल, बिमला राई पौडेल, हृदयश त्रिपाठी, बसन्त नेम्वाङ र महेश बस्नेत हुने बताइएको छ। भुसाल नेपाल खेमाका हुन् भने राइ पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा मन्त्री हुन लागेको बताइएको छ। 

प्रधानमन्त्रीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले भोलि बिहीबार सपथ ग्रहण हुने बताएका छन्। उनको यो भनाइबाट आज राति नै पुनर्गठन हुने सम्भावना जिवितै रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: : 2019-11-20 20:53:08

प्रतिकृया दिनुहोस्