गजुरीबाट अवैध बाघको छालासहित छजना पक्राउ

बिएल

गजुरी गाउँपालिकास्थित २ चालिसेबाट अवैध बाघको छालासहित छजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ३ का भाइराम प्रजा, राजेन्द्र तामाङ, ज्ञानबहादुर विक, आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र ३ का राजकुमार तामाङ रहेका छन्।

विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरी टोलीले ३ वटा मोटरसाइकल र एउटा बाघको छालासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

ग्रामिण क्षेत्रबाट राजमार्गतर्फ आउँदै गरेको  बा १८ प ९६९३, ग ७ प ५९६३, ग ६ प १६४५ नम्बरको मोटरसाइकलमा लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा पाटे बाघको छालासहित भाइराम प्रजा र सन्तमान तामाङ पक्राउ परेका थिए।

उनीहरुको सूचनाको आधारमा बाघको छाला बिक्री गर्न मिलेमतो गरिरहेको अन्य ४ जना पक्राउ गर्न सफल भएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले बताए। 

पक्राउ परेकालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको छ।

प्रकाशित मिति: : 2019-11-24 13:48:05

प्रतिकृया दिनुहोस्