बाराको अमलेखगञ्ज डिपोबाट विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बोकेको ट्यांकर सिरहाको लहानबाट बेपत्ता भएको छ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट आइतबार २० हजार डिजेल लोड भएको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट भोलिपल्ट राति ११बजेदेखि सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ।
लहान पुगेपछि उक्त ट्यांकरलाई अज्ञात समूहले ट्याङ्कर लिएर गएको सिराहा प्रहरीले जानकारी दिएको छ।
ट्यांकर हालसम्म फेला नपरेको र खोजी तीव्र पारिएको लाहान प्रहरीले जनाएको छ।
धनगढीमाई नपा ३ का राजेशकुमार गुप्ताको नाममा रहेको उक्त ट्याकंर राजमार्ग छेउमा रोकेर चालक आराम गरेको बेला राति अज्ञात समूहले अपहरण गरेको प्रहरीले जनाएको छ।
सहचालक उमेश यादव ट्यांकरमा सुतिरहेको बेला मुखमा पट्टी बाँधेर आएका ६/७ जना अज्ञात समूहले उनीहरुको आँखामा पट्टी बाँधेर जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर डिजल भरिएको ट्यांकर लिएर भागेका ट्याकंर चालक रामदेव यादवले प्रहरीमा बयान दिएका छन्।
प्रहरीका अनुसार ती लुटेराहरूले तिमीसँग जाउँ तिम्रो मालिकसँग हाम्रो कुरा छ भन्दै चाबी थुतेर लगेको बयान दिएका छन्।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार नेपाल आयल निगमले डिजेल लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन भएको छ।
निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक एक जना प्रतिनिधि तोकिएका छन् ।
समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।