कसैलाई मनोरंजन त कसैका लागि पिडा नै पिडा। आउने जाने बटुवा अचम्म मान्दै हेर्छन्। अनि नानाथरि प्रश्न गर्छन्। कोहि मनकारी भने सक्दो सहयोग पनि गरिरहेका हुन्छन्। तिनै सहयोगीले उपलब्ध गराएकाे रकमले बालकको उपचार भइरहेकाे छ।
दैनिक बिहानै उठेर ८ महिने छोरालाई कोखमा च्याप्दै पोखरास्थित फेवातालको डिलमा दिनभरि बस्नु, ३० वर्षीय यमकली नेपालीकाे नियति नै भइसकेकाे छ। तीन छोरीपछि छोरा जन्मिदा उनकाे परिवार कम्ता खुशी भएकाे थिएन?
तर, नियतिकाे अगाडी उनकाे केही चलेन। समयसँगै गरिबी बोझ भैदिँदा उनी पुरै गलिन्। त्यसमाथि ८ महिने अपाङ्ग छोराका कारण उनलाई पर्नु बज्र पर्याे।
यमकलीको स्थायी घर पोखराको रिखिपानी हो। श्रीमान दिनभरि ज्यामी काम गर्छन्। छोराको उपचारका लागि अहिलेसम्म ९ लाख खर्च भैसकेको छ। उनले छाेराकाे उपचारका लागि बैकबा६ २ लाख र सहकारीबाट १ लाख ५० हजार ऋण गरेकी छिन्।
छोरा निको हुने आशमा उनी गाउँमा रहेको २ कोठे कच्चि घर छोडेर पोखरामै सुकुम्बासी टोलमा बास बस्न आइन्। अहिले जस्ताले छाएको घरमा मासिक एक हजार रुपैयाँ भाडा तिरेर बसेकी छिन्।
छोराको टाउको शरीरभन्दा ठूलो देखिन्छ। पोखरा घुम्न आउने बटुवाले फुटपाथमा सुताइराखेको बालक र आमाको स्थिति हेरेर ५ रुपैयाँदेिख सय रुपैयाँसम्म सहयाेग दिने गरेका छन्। बटुवाले दिएको यिनै पैसाले अहिलेसम्म उपचार खर्च धानेकाे छ। अहिले उनलाई एउटै चिन्ताले सताएको छ– बैंक र सहकारीबाट लिएकाे ऋणको पैसा कसरी चुक्ता गर्ने?
उनी साताकाे दुई पटक पोखरास्थित मणिपाल अस्पतालमा छाेराकाे टाउकोबाट पानी निकाल्न लैजान्थिन्। एक पटक पानी निकाल्दा ६ हजार रुपैयाँ खर्च हुन्छ।
महिनामा उपचारका लागि मात्र ४८ हजार रुपैयाँ खर्च हुँदै आइरहेकाे छ।
सुकुम्बासी बस्तीमा भूइँमा बस्दा चिसो लाग्ने समस्या एकातिर छदैछ, छोराको उपचारको आशामा धेरै ठाउँ भौतारिनु पर्ने बाध्यता पनि उनीसँग छ।
शरीरको तुलनामा टाउको निकै ठूलो भएकाले अस्पतालले अपरेशनको लागि भनेको थियो। तर अपरेशनका लागि आवश्यक पैसा जोहो गर्न नसक्दा यति बेला उनीसँग टाउकोबाट पानी निकाल्ने बाहेक अर्को विकल्प छैन।
छोरालाई बचाउन यति धेरै पैसा कहाँबाट जुटाउन सकिन्छ? कुनै बेला याे साेच्दै गर्दा उनलाई ज्वराे फुट्ने गर्छ। उनी देश–विदेशमा बसोबास गर्ने मनकारी दाजुभाई तथा दिदीबहिनीले सहयोग गरे आफ्नो छोरा बचाउन सफल हुने बताउँछिन्।