गतसाता चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) को कार्यालयमा काम विशेषले पुग्दा बरण्डामा कालो सलले टाउको छोपेकी महिला घोप्टो परेर टोलाईरहेकी थिईन्।
उनले सलको छेउ आँखातिर लगेको देखेँ। खसुक्क उनको आँखातिर हेरेँ। आँशुको थोपा भुईमा तप्प खस्यो। छेउमै गएर सोधेँ, 'के भयो तपाईलाईँ?
म मुस्लिमकी छोरी, नेपालमा आएर बेचिएँ, उनले भक्कानिदै बिएल नेपाली सेवासँग भनिन्।
उनको कुराले म स्तव्ध भएँ। केहीबेर उनलाई सम्हालेँ र विस्तारै सोधेँ।
भारतको आछाम नजिकै रहेको नागाल्याण्ड राज्यको मुस्लिम समुदायमा जन्मे हुर्किएकी उनको नेपालबाट कमाउन भारत गएको एक लाहुरेसँग माया बस्यो।
उनको प्रेमलाई घर परिवार र समाजले स्वीकार गरेन। उनी पनि लाहुरेलाई छोड्न सक्ने स्थितिमा थिइनन्। त्यसपछि उनीहरू भागेर बिहे गरे।
'मेरो प्रेमलाई परिवारले स्वीकार गरेन। त्यसपछि उनै लाहुरेसँग भागेर नेपाल आएँ, उनले भनिन्, 'सन् २००९ सालमा काठमाडौं आएर हामीले विवाह गर्यौं। त्यही साल पेटमा बच्चा बस्यो।'
ती लाहुरेले उनलाई कहिलै घर लिएर गएनन्। 'बुढाले आफ्नो घर भन्नुभएको थियो। तर, मलाई कहिल्यै लैजान मान्नुभएन। घर लैजानुस् न भन्दा एउटा-एउटा बहाना गर्दै टार्नुहुन्थ्यो', उनले भनिन्।
पछि बुझ्दै जाँदा उनी दोस्री श्रीमती रहेछिन्। लाहुरेले उनलाई ठगेर बिहे गरेका रहेछन्। 'मैले बुझ्दै जाँदा उहाँको गाउँमा जेठी श्रीमति भएको थाहा पाएँ। एकातिर पेटको बच्चा अर्कोतिर श्रीमानबाट पाएको धोका म मर्नु न बाँच्नु भएँ।'
त्यसपछि उनीहरूको घरमा रात दिन झगडा हुन थाल्यो। अब सँगै बस्न नसक्ने निर्णयमा पुगेँ। 'पेटको बच्चा जन्मिएपछि मैले उनलाई छाड्ने निर्णय गरेँ, अहिले एक्लै छु', अनिताले गहभरी आँशु पार्दै भनिन्।
अनिताले श्रीमानको गाउँमा पुगेर परिवारलाई पनि भेटिन्। अनि झगडा गरेरै भए पनि बच्चाको जन्म दर्ता गराईन्। तर, कान्छी श्रीमति भएकोले विवाह दर्ता भने बनाउन सकिनन्। त्यसैले श्रीमानबाट उनले कुनै किसिमको सहयोग र सपोर्ट पाउन सकेकी छैनन्।
श्रीमानसँग छुट्टिएपछिका उनका दिनचर्या काहालिलाग्दो छ। उनी भन्छिन्, 'मुस्लिमकी छोरी म नेपाल आएर बेचिएँ।'
बच्चाको पालन पोषणका लागि एक पैसा साथमा थिएन। बाबुले वास्तै गरेका थिएनन्। कामका लागि धेरै तिर भौतारिइन्। तर, भनेजस्तो काम कतै पाईनन्।
उनको दुःख देखेर एक जना साथीले ठमेलको डान्सबारमा काम लगाइदिइन्।
उनले ती साथीको छोरीको बर्थ डे पार्टीमा गएर डान्स गरेकी थिइन् त्यही देखेर उनलाई डान्स बारमा काम गर्न सुझाइन्। ' तपाईँलाई यति दुःख भइरहेको छ, फेरि यस्तो राम्रो डान्स गर्नुहुन्छ। जाउँ म सँगै डान्स बारमा काम गर्नु भनिन्,' डान्सबारमा नराम्रो काम हुन्छ भन्ने सुनेकी उनले ती साथीलाई त्यसबारे सोधिन्। साथीले पनि राम्रो नराम्रो आफैंमा भर पर्ने हो भन्दै काम गर्दा राम्रै हुने बताइन्।
त्यसपछि उनी ठमेलको एउटा डान्सबारमा काम गर्न गइन्।
'सधैं पछयौराले मुखसम्म छोपेर हिडेकि मान्छे पहिलो दिन जब छोटा कपडामा ग्राहकसँग ढेसिएर बस्नुपर्यो, मैले त्यही दिन सोचेँ- म नेपालमा बेचिएँ,' उनले आँखाभरी आँशु पार्दै भनिन्, 'ग्राहकलाई खुसी पार्न शरीरतिर छामछाम छुमछुम गर्दा विद्रोह गर्ने स्थिति नहुनू भनेकै बेचिनु होइन त म्याम?' उनको यो प्रश्नको जवाफ दिने स्थितिम सँग थिएन।
उनको डान्स देखेर बारको मालिकले उनलाई महिनाको ८ हजार तलब दिने बताए। त्यति तलबले मात्र घर खर्च र छोरा पाल्न नपुग्ने भएकाले उनी ग्राहकसँग नजिकिइन्।
'ग्राहकसँग बसेर रक्सी र टन्न खानेकुरा नखाए टिप्स नआउने, तलवले मात्र घर खर्च अनि छोरा पाल्न नपुग्ने, अनि के गर्ने त?, उनले आफ्नो विगत खोतलिन्।
जव साँझ पर्दै जान्थ्यो मुटुको ढुकढुकी एक्कासी बढ्थ्यो। उही रक्सी/चुरोटको माहोलमा अनेकथरीका ग्राहकसँगको हिमचिम।
कहिल्यै रक्सीको गन्ध नपाएकि उनले टिप्सकै लागि रक्सी, चुरोट, हुक्का सबै तान्ने भइन्।
उनी निरिह जस्तै भएर काम गर्दै गइन्। बिद्रोह गर्ने आँट आएन। उजुरि गर्ने ठाउँ भएन।
'उसका हातहरू मेरी शरीरका हरेक अंगमा सल्बलाउँदा मैले काहाँ गएर उजुरि हाल्ने? साहुलाई भन्दा ग्राहक खुसी पार्नुपर्छ भन्छन्। प्रहरीकोमा गएर भनौं मेरा शरीरभरी उसको हात सल्वलाएको, मेरो संवेदनशिल अंगमा उसले सुम्मसुमाएको घटनालाई म कसरी प्रमाण पेश गर्न सक्छु?,' उनले निरिहता पोखिन्।
ग्राहकले खानेकुराको अर्डर कम गर्यो भने साहुको गाली उनीहरूले नै खानुपर्थ्यो। 'ग्राहकले जति मेरो शरीरसँग खेल्न पाउँथ्यो उतिनै खानेकुरा अर्डर गर्थ्र्यो अनि मेरो टिप्स बढी हुन्थ्यो। कुनै दिन टिप्स कम भयो भने साहुले कामबाट निकालिदिन्छु भनेर धम्की दिन्थ्यो। म सबै सहन बाध्य हुन्थेँ', अनिताले लामो सुस्केरा तान्दै चिउँडोसम्म पुगेको आँसुको धारालाई सलले पुछ्दै आफ्नो पीडा पोखिन्।
नेपाली भन्दा पनि भारतबाट आउनेले बढी हिंसा गर्ने अनिताले बताइन्।
'एक जना भारतीय ग्राहक आएर तिम्रो शरीर स्लीम रहेछ। यति राम्री छौं, भारतमा मेरो साथीको डान्सबार छ। महिनामा २० हजार भारू हुन्छ जाऊँ भनि फकाएको थियो। घर छेउकै छिमेकी दाइले पनि दुवई जाउँ त्यहाँ धेरै तलव हुन्छ भन्दै फकाउँछन्। तर, धन्न नागरिकता नभएर बचेँ', उनले भनिन्।
विदेशमा राम्रो काम लगाईदिन्छु भनेर डान्सबार तिर बन्धक बनाएर राख्ने र ग्राहकसँग शारीरिक सम्बन्ध राख्न लगाउने गर्ने भन्ने उनले पछि मात्र थाहा पाइन्।
ठमेलको चाहाना डान्सबार, दिनेश डान्सबार अनि प्रिङ्गस डान्सबारमा काम गरेकी उनले भनिन्, 'मैले जति डान्सबारमा काम गरेँ। ती सबै महिला बेच्ने अखडा जस्तो मात्र लाग्यो। त्यहाँ आउने ग्राहक केटीलाई प्रयोग गर्ने र बाहिर लगेर शारीरिक सम्बन्ध राख्छु भन्ने उद्देश्यले नै आउने गरेका हुन्छन्।'
यतिबेला अनिताले डान्सबारमा काम गर्न छोडिसकिन्। साथीले क्याप नेपाल भन्ने संस्थाले मनोरन्जनको क्षेत्रमा काम गर्ने दिदिबहिनीको अधिकारको लागि काम गर्छ भन्ने सुनेपछि उनी त्यहाँ पुगिन्। 'क्यापले मलाई त्यो नर्कबाट निकाल्यो । जहाँ म सधै मरेर बाचेकी थिएँ,' उनी केही खुसी देखिइन्।
यतिबेला म क्यापलगायतका संस्थाको सहयोगमा सानो टेलर खोलेर बसेकी छु। त्यसबाट राम्रै कमाई भएको छ। तर चिन्ता एउटै कुराको मात्र छ- मसँग नेपालको नागरिकता छैन।