मोरङको उर्लाबारी नगरपालिकास्थित दुईवटा वडामा जंगलबाट गाउँ पसेर हात्तीले बिहीबार राति आतंक मच्चाएको छ।
जंगली हात्तीले उर्लाबारी–४ सिसौलीमा चारवटा घर भत्काइदिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर सुवास राईकाअनुसार मेघराज थापा, कविता विक, रीता विक र यामबहादुर धिमालको घर भत्काएर हात्तीले लाखौंको क्षति पुर्याएको हो। कर्कट पाताको छानो र टाटीको बेरा भएका एक तले घरहरु हात्तीले भत्काइदिएको उनले बताए ।
राति १२ बजे हात्ती जंगलबाट गाउँ पसेर वितण्डा मच्चाएको स्थानीयले बताए । गाउँ पसेका हात्तीले घर भत्काएर घरमा रहेका चामल र धान खाइदिएको तथा छरेर नष्ट गरिदिएको प्रहरीले जनाएको छ ।
घर भत्काएर क्षति पुर्याउने तीनवटा हात्ती स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरी मिलेर बक्राहा खोलातिर लखेटेको इन्सपेक्टर राईले बताए। त्यस्तै हात्तीले उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी प्रतिष्ठानको पूर्वतिरको गाह्रो पनि भत्काएर क्षति पुर्याएको छ। प्रतिष्ठानको पाँच मिटर गाह्रो हात्तीले भत्काइदिएको जानकारी राईले दिए।