ट्याक्टरमा तस्करी गर्दै गर्दा बहुमूल्य सखुवाको काठ बरामद

बिएल

मोरङको लेटाङ नगरपालिका–८ जाँतेबाट वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त टोलीले बुधबारराति तस्करीको काठसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

को २ त २७९५ नम्बरको ट्याक्टरमा माथिबाट ढुंगाले छोपेको अवस्थामा राति साढे १० बजे बहुमूल्य सखुवाको काठ बरामद भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले बताए । उनकाअनुसार मिक्लाजुङ क्षेत्रबाट आएको ट्याक्टरलाई जाँचे बजारमा रहेको वडा कार्यालय अगाडि रोकिराखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

शव डिभिजन वन कार्यालय जाँतेका प्रमुख सहायक वन अधिकृत रुद्रप्रसाद यादवकाअनुसार ट्याक्टरमा लोड गरिएको र ढुंगाले छोपेको अवस्थामा ८४ थान सखुवाको चिरान काठ फेला परेको छ । काठ ३६ दशमलव ८८ क्यूफिट रहेको उनले बताए । नियन्त्रणमा लिइएका बेला ट्याक्टरमा चालक र सहचालक कोही पनि थिएनन् । सहायक वन अधिकृत यादवले ट्याक्टर कसको हो भन्ने बारेमा पनि खुलिनसकेको बताए ।

उनले मुचुल्का तयार पारेर आवश्यक कारबाहीका लागि काठसहित ट्याक्टरलाई शव डिभिजन वन कार्यालय मंगलबारेमा बुझाइएको जानकारी दिए । तस्करीको भए पनि काठ कहाँबाट ल्याएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ । ‘ट्याक्टर रहेका ठाउँमा चालक नभेटिएपछि हाम्रै चालकले काठसहितको ट्याक्टरलाई मंगलबारेसम्म ल्याएका हुन्,’ यादवले भने, ‘छानबिन गरेर सबै कुरा पत्ता लगाउँदै आवश्यक कारबाही गरिने छ ।’

प्रकाशित मिति: : 2019-11-14 14:17:40

प्रतिकृया दिनुहोस्