नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडिन सुरु गरेको ५० वर्ष पुरा भएको छ। दक्षिण एसियाली खेलकुद (साफ) मा लगातार तीन वटा स्वर्ण जित्ने इतिहास रचेका मानन्धर नेपाली खेलकुदका धरोहर हुन्। उनले भारतको कोलकातामा भएको तेस्रो साफ गेम्समा म्याराथनतर्फ २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा पुरा गरेका थिए। साफ गेम्समा उनले बनाएको यो कीर्तिमान ३२ वर्ष बितिसक्दा पनि कसैले तोड्न सकेको छैन।
उनीसँग खेलकुद र खेलकुद बाहिरका थुप्रै रोचक कुरा छन्। ६६ वर्षका यी भेट्रान खेलाडीको जीवनी हामीले बिएल नेपाली सेवामा साप्ताहिक रूपमा पस्किने जमर्को गरेका छौं। र, उनीसँगको यो संवादलाई हामीले ‘बैकुण्ठको दौडको ५० वर्ष’ नामाकरण गरेका छौं। उनको जीवनीमा आधारित भिडियो अन्तर्वार्ता हरेक साताको मंगलबार बिहान ८ बजे बरिष्ठ खेल पत्रकार नवीन अर्यालले लिएर आउँदैछन्।
उनको समग्र खेल जीवनको विषयमा कुरा गर्दै जाँदा उनले २०४६ सालमा भारतले नेपालमा गरेको नाकाबन्दीको एउटा रोचक किस्सा बिएल नेपाली सेवालाई बताए। जुन अहिले प्रस्तुत गर्दैछौं।
२०४६ सालमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि काठमाडौंका बासिन्दा काकाकुल भएका थिए। यसै वर्ष भारत आफ्नो पहिलो प्रधानमन्त्री जवहारलाल नेहरूको सतबार्षिकी भब्यताका साथ मनाउने अभियानमा थियो।
नेहरूको सतबार्षिकी मनाउन विश्वभरिबाट विभिन्न क्षेत्रका व्यक्तित्व भारतीय राजधानी नयाँ दिल्ली पुगेका थिए। यति बेला नेपालबाट बैकुण्ठ मानन्धर र दीलिप कार्की भारत पुगेका थिए।
काठमाडौंकै रैथाने भएका कारण भारतको नाकाबन्दीबाट बैकुण्ठ पनि प्रभावित थिए। त्यसैले उनले दिल्लीतर्फ लाग्दा भारतीय प्रधानमन्त्री राजीव गान्धीलाई कालो झन्डा देखाउने मन बनाएका थिए।
नेहरूको सतबार्षिकी कार्यक्रमको उद्घाटन दिल्लीको लालकिल्लाबाट हुँदै थियो। बैकुण्ठ र दीलिप पनि उद्घाटन सत्रमा उपस्थित थिए। उनीहरू लालकिल्लामा उपस्थित भएको केही समयपछि नै हेलिकोप्टरबाट राजीव गान्धी लालकिल्लामा उत्रिए।
प्रधानमन्त्री राजीव उनीहरू बसेको ठाउँमा पुगे र बैकुण्ठलाई अंगालो हालेर लालकिल्लामा अतिथिलाई बस्न बनाइएको मञ्चमा डोर्याउँदै मुसुक्क हाँसे। राजीवले मञ्चबाट नेपालबाट यस्तो खेलाडी आएको छ भनेर उद्घोष नै गरे।
‘हामी त दंग पर्यौं। कस्तो सिआइडी छोडेको रहेछ,’ बिएल नेपाली सेवाले निर्माण गर्न लागेको आफ्नो सिरिजमा बैकुण्ठले भने।
भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीसँगको उनले गरेको जम्काभेटको विषयमा गरेको भिडियो अन्तर्वार्ता हामीले जस्ताको त्यस्तै राखेका छौं।
हेर्नुहोस् भिडियोमा