तिहारको माहौलमा काठमाडौं शहर दूलही झैं सिंगारिएको थियो। यति बेला शहरका धुलो र धुँवा पनि फूलको वासनाले छोपिएको थियो।
यही माहौलमा देउसी–भैलो खेल्नेको भीड पनि सडकमा उत्तिकै देखियो। केही वर्ष पहिला देउसी–भैलो खेलको पैसा संगोलमा हिसाब गरेर भोलिपल्ट बाँडिने गरिन्थ्यो। तर, हिजोआज केही निश्चित उद्देश्य बोकेर देउसी–भैलो खेल्ने र सो पैसालाई आफ्नो उद्देश्यअनुसार खर्च गर्ने गरिन्छ।
यस्तै एउटा फरक उद्देश्यका लागि यसपालि दृष्टिविहिनहरूले देउसी–भैलोको आयोजना गरेका छन्। हातमा सेतो छडी, काधमा मादल, गितार अनि तबला बाकेर दृष्टिविहिनको एउटा समूहले केही व्यापारिक घराना तथा घरदैलोमा देउसी–भैलो खेले।
‘ब्लाइन्ड रक्स’ नामक संस्था र ‘ब्राईट स्टार सोसाईटी’ले अपाङ्गता तथा स्वास्थ्य जनचेतना अभियानका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्यो। उनीहरूको उद्देश्य थियो, धादिङ्ग घर भएकी ११ वर्षीय नम्रता सापकोटाको उद्दार गर्ने।
नम्रता अल्प–दृष्टिविहिन हुन्। २०७२ सालको भूइँचालोमा घरमा पुरिएको अवस्थामा उनको उद्धार गरिएको थियो। यो घटनामा उनले ६ वर्षीय भाइ गुमाएकी थिइन।
आर्थिक अवस्था कमजोर भएकी नम्रतालाई ‘ब्लाइन्ड रक्स’ र ‘ब्राईट स्टार सोसाइटी’ नामक संस्थाले कीर्तिपुरको लेब्ररेटोरी इङ्गलिस स्कुलमा केही समयअगाडि पढाइरहेका थिए।
कक्षा १ मा पढ्दै गरेकी नम्रताले केही समयअघि एक्कासी कान पनि सुन्न छोडिन्। मेसिनको प्रयोग गर्दा पनि उनले कान सुन्न सकिनन्। यसपछि उनको पढाईमा विराम लागेको थियो। यति बेला उनी धादिङ्गमा बसोबास गर्दै आइरहेकी छिन्।
डाक्टरले उनको कानको उपचारको लागि ईनप्लान्ट सर्जरी गर्नुपर्ने बताएका छन्। यसको लागि १५ लाख रुपैयाँ आवश्यक पर्ने गर्छ। उनको परिवार आर्थिक संंकटबाट गुज्रिरहेका कारण ‘ब्लाइन्ड रक्स’ र ‘ब्राईट स्टार सोसाइटी’ ले संयुक्त रूपमा देउसी–भैलो कार्यक्रमको आयोजना गर्दै उपचारका लागि आवश्यक रकम जुटाउने प्रयास गरिरहेको छ।
सरकारले यस्ता व्यक्तिलाई ५ लाख रुपैयाँ सहयोग त गर्छ, तर आवश्यक बाँकी रकम कहाँबाट जुटाउने? यही विषयमा परिवारहरू चिन्तित रहेको अवस्थामा दुवै संस्था मिलेर यो कार्यलाई अन्तिम रूप दिन लागेका हुन्।
‘ब्लाइन्ड रक्स’ कि अध्यक्ष सृष्टी केसी नेपालको मौलिक संस्कृतिको जगेर्ना गर्न संस्थाले हरेक वर्ष देउसी–भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको बताउँछिन्। तर, यसपालि फरक उद्देश्यका लागि आफूले देउसी–भैलो आयोजना गरेको उनको भनाई छ।
‘हामीले नम्रताको उपचारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले यसपालि देउसी–भैलो खेलेका हौं’, उनी भन्छिन्, ‘हाम्रो उद्देश्यको धेरैले प्रसंसा गरेपनि केहीले वेवास्था गर्दा दुःख लागेको छ।’
‘ब्लाइन्ड स्टार सोसाइटी’ का अध्यक्ष बासुदेव अधिकारीले देउसी–भैलो कार्यक्रममा आफूहरूलाई धेरैबाट सकारात्मक सहयोग मिलेको बताए।