मोरङको बूढीगंगा गाँउपालिकास्थित पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुने भएको छ ।
सडकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार शिलान्यास गरेका छन् । बूढीगंगा गाँउपालिकाको कोयलपुरमा आइतबार आयोजित कार्यक्रमकाबीच उनले सो सडकको शिलान्यास गरेका हुन् । २३ किलोमिटर सात सय मिटर लम्बाईको सो सडक दुई वर्षभित्र कालोपत्रे गरिसक्ने जनाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव महेश अर्यालले ५२ करोड २४ लाख ७३ हजार सात सय २२ रुपैयाँ ८४ पैसामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको जनाए । उनले सडकको काठमाडौंस्थित श्री लुम्बिनी–मृत संजिवनी जे.भी.ले ठेक्का पाएको बताए । दुवैतर्फ १÷१ मिटरको सोल्डर राखेर साढे ७ मिटर चौडाईको रहने सो सडकको साढे ५ मिटर चौडाईमा कालोपत्रे गरिने अर्यालको भनाइ छ । सडकको सब बेसको मोटाई २० र बेस १५ सेन्टीमिटरको रहने जनाइएको छ ।
यसै गरी उक्त सडकमा पाइप कलर्भट ४५ वटा र स्ल्याब कल्र्भट १० वटा निर्माण गर्नुपर्ने ठेक्का सम्झौता रहेको जनाइएको छ । शिलान्यास कार्यक्रममा बोल्दै बूढीगंगा गाँउपालिकाका प्रमुख बालचन्द माझीले सो सडक खण्डको १८ किलोमिटर सडक बूढी गंगाउपालिकामै पर्ने भएकाले पालिकाभित्रका विभिन्न वडाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए ।