पाटन उच्च अदालतले आफूलाई अवतारी लामा दाबी गर्ने टुल्कु लामालाई बलात्कारी ठहर गरेको छ ।
दक्षिणकालीको आफ्नो गुम्बामा रिम्बोर्छे छुल्ठिम दोर्जे योन्जन टुल्कू लामाले आफूलाई तन्त्र र झारफूक गरी उपचार गर्ने भन्दै २०६६ सालमा पहिलो पटक बलात्कार गरेको र त्यसपछि २०७३ सालसम्म शारिरिक मानसिक यातना दिएको भन्दै परिवर्तिन नाम २६ ले जाहेरी दिएकी थिइन् ।
टुल्कुले उपचारको बहानामा अरू महिलामाथि पनि यौन शोषण गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो।लामाको गुम्बाबाट भागेर आएपछि उनको बेइज्जत गर्ने नियतले आफूसँग खिचेका नग्न फोटोहरू अपलोड गरेकाले उनलाई विद्युतीय कारोबारसम्बन्धी कसुर लगाउन पनि उनले माग गरेकी थिइन्।
उक्त जाहेरीमाथिको अनुसन्धानपछि काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा अवस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वामा धर्मगुरू रहेका टूल्कु लामाले उनलाई मात्र होइन अरू महिलालाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको थियो। प्रहरीले बलात्कार मुद्दासँगै विद्युतीय कारोबार सम्बन्धी मुद्दा पनि लगाएको थियो।
तर उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले नै विद्युतीय कारोबार सम्बन्धी कसुर गरेको ठहर गर्दै १ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।
जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै भदौ २६ गते पाटन उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले टुल्कु लामालाई ७ वर्ष कैद हुने फैसला सुनाएको हो। साथै अदालतले बलात्कार मुद्दाकी पीडितलाई पीडकबाट ३० लाख क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
अन्तरिम राहतस्वरूप नगद र नगद नभए सुन गरगहनालगायत सामान दिलाउन फैसलामा भनिएको छ।
डर, त्रास, झुक्यान र अनुचित प्रभावमा पारी ९ वर्षभन्दा बढी समयसम्म गुम्बाभित्र पीडितलाई यौनदासीको रूपमा राखेको भन्दै टुल्कु लामालाई कुनै सहानुभूति राख्न जरूरी नभएको अदालतको ठहर छ। टुल्कु लामाको नाममा रहेको गुम्बा जग्गा जमिन र मजबुत आर्थिक अवस्था हेरेर पीडितलाई मनासिव क्षतिपूर्ति दिलाएको अदालतले जनाएको छ।
सिन्धुलीको दुम्जा घर भएका ५८ वर्षीय लामाले पहिला पर्यटकको गाइड काम गर्ने गर्थे। पछि चल्नाखेलमा १२ रोपनी जग्गा लिएर आफैंले गुम्बा बनाएका थिए। आफू भगवानको अवतार भएको भन्दै उनले जस्तोसुकै रोग निको पार्ने शक्ति आफूमा रहेको प्रचार गरेका थिए।
उनको गुम्बामा दैनिक २ सयसम्म बिरामी आउँथे। तीमध्ये गुम्बामा आएका महिलालाई टुल्कुले यौनशोषण गर्ने गरेको अभियोगपत्रमा उल्लेख छ।