विराटनगरमा मोरङ प्रहरीको ‘स्वीप अपरेशन’

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी।तस्बिरः बिएल

चोरी घटनाको नियन्त्रणका लागि प्रहरीले प्रदेश १ को राजधानी विराटनगरमा ‘स्वीप अपरेशन’ सुरु गरेको छ।

पछिल्लो समय प्रदेश १ मा चोरीको घटना बढेपछि प्रहरीले ‘स्वीप अपरेशन’ को थालनी गरेको हो।

भदौंको दोस्रो सातायता मात्र विराटनगर महानगरपालिकाभित्र साना तथा ठूला गरेर डेढ दर्जन चोरीका घटना भइसकेका छन्। विशेष गरेर रातको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरीलाई टाउको दुखाईको विषय बनेको थियो। चोरी नियन्त्रण गर्न विशेष अभियान चलाएपछि शंकास्पद चार सय ६२ जनामाथि ‘स्क्रिनिङ’ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।

आवश्यक सोधपुछ र अनुसन्धानका क्रममा चोरी गरेको पुष्टि भएपछि १० जनामाथि मुद्दा चलाइसकिएको र अन्य केही व्यक्तिलाई पक्राउ गर्ने योजना बनाइएको उनको भनाइ छ।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

‘चोरीका घटना हुन थालेपछि त्यसका विरुद्ध प्रहरी सक्रियता बढाएर ‘स्वीप अपरेशन’ चलाइएको छ,’ अधिकारीले भने, ‘निगरानी बढाउँदै शंकास्पद व्यक्तिलाई धमाधम नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गर्न थालिएको छ।’ अपरेशन अन्तर्गत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान गर्ने तथा आवश्यक परे कानुनी कारबाही नै अघि बढाउने उनको भनाइ छ।

धेरै व्यक्तिलाई नियन्त्रणमा लिएर ‘स्क्रिनिङ’ गर्दै केहीमाथि मुद्दा चलाएपछि चोरीका घटना हुन छाडेको अधिकारीले बताए । विशेष ढंगबाट अनुसन्धान र कारबाही सुरु गरिएपछि विराटनगर भित्र एक साता यता चोरीका कुनै पनि घटना हुन नपाएको उनको उनको दाबी छ ।

प्रविधिको सहयोग र मुभमेन्टका हिसावले २४ घण्टा नै प्रहरी परिचालन गरेर चोरी नियन्त्रणको प्रयास भइरहेको एसपी अधिकारीले बताए । चोरी लगायतका घटना नियन्त्रण गरेर शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने हिसावमा प्रहरी अघि बढेको उनको दाबी छ ।

 

प्रकाशित मिति: : 2019-09-18 14:44:33

प्रतिकृया दिनुहोस्