ढुंगामाटोसहितको लेदो खसेपछि बीपी र अरनिको राजमार्ग अवरुद्ध

फाइल तस्बिर

बीपी राजमार्गको विभिन्न ठाउँमा ढुंगामाटोसहितको लेदोे खसेपछि बाटो अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकाको नार्के, माङ्पी, साङ, फेदी लगायतका खहरे खोलाबाट ढुंगामाटोसहितको लेदो बाटोमा खसेपछि गाडी चल्न नसकेको हो ।

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाका अनुसार अहिले बाटोमा खसेको लेदो हटाउने प्रयास भैरहेको छ । गाडी नचल्दा पूर्वका लागि छुटेका र पूर्वबाट काठमाडौंका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । ‘त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ’, उनले भने, ‘धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।’

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताए। अविरलरूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिराले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ ।

उता रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ ।

प्रकाशित मिति: : 2019-09-18 12:00:38

प्रतिकृया दिनुहोस्