आज पनि देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली भइ वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकालगायतका देशका धेरै स्थानमा परेको लगातारको वर्षाले चितवनको रिउ खोला र काठमाडौंको सुन्दरीजलमा बहावले सतर्कता तह पार गरेको र वर्षाको क्रम आज रातिसम्म नै जारी रहने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने छ।
नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सडक र हवाई यातायातमा सामान्य अवरोध आउनसक्ने हुनाले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको सुन्दरीजल र आसपास पछिल्लो समय भारी वर्षा भएको जनाउँदै ९० मिलिमिटरसम्म वर्षा मापन भएको जनाएको थियो ।
उपत्यकाको विष्णुमति, बागमतीलगायतका नदीमा सतर्कता तह आसपासको बाढी आउन सक्ने र नदी किनाराको बाटो भइ हिँड्दा सतर्क रहन आग्रह गरेको थियो।