पीडित महिलाको पक्षमा प्रहरीले काम नगरेको बिरोधमा वीरगञ्ज तनावग्रस्त (भिडियो सहित्)

श्रीमानको कुटाईबाट गम्भिर घाईते वीरगञ्ज रानीघाटकी पीडित रञ्जु देवीका माईती पक्षले दोषीलाई प्रहरीले कडा कार्यवाही नगरेकाे भन्दै विरोध प्रदर्शन गरेका छन्। दाइजो प्रथा बन्द गर, महिला हिंसा अन्त्य गर र दोषीलाई कडा कार्यवाही गर भन्ने नाराका साथ सोमबार वीरगञ्जको घण्टाघर अगाडी विरोध र्‍याली निकालिएकाे थियाे।
 
घटनाको बारेमा प्रहरीलाई उजुरी दिएको ४ दिन बितिसक्दा पनि प्रहरीले चासो नलिएको भन्दै विरोध प्रदर्शन गरिएको पीडित महिलाका दाई रमेशप्रसाद साहले बिएल नेपाली सेवालाई जानकारी दिए।
 
पीडितका दाजु साहका अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी बाेकेर जाँदा प्रहरीले दोषीलाई कडा कार्यवाही गर्ने बताएपनि हालसम्म कसैलाई पक्राउ नगरिएकाे आरोप लगाएका छन्।
 
पीडित महिलाका श्रीमान गोबिन्द साह, सासु र ससुरा वीरगञ्ज रानीघाटको घरमै रहेको तर प्रहरीले दोषिमाथि कुनै कार्यवाही नगरेको भन्दै न्यायको लागि प्रहरी विरुद्ध  प्रदर्शन गर्नुपरेको माईती पक्षले बताएकाे छ। महिला हिंसाको घटना दिनप्रति दिन बढ्दै गएको र दोषीलाई कार्यवाही नगर्दा पीडितलाई झन पिडा दिने काम प्रहरी प्रशासनले गर्ने गरेको अर्का दाई अशोक साहले गुनासो गरे।
 
प्रहरी प्रशासनले कार्यवाही प्रकृया अगाडि नबढाउदा दोषीको मनोबल अझै बढ्दै गएको माईती पक्षको आरोप छ। पीडितका परिवारजनका अनुसार पर्सा प्रहरीले चाँडै दोषीलाई कार्यवाही नगरे मंगलबार पनि विरोध प्रदर्शन जारी राख्ने बताएका छन्। गत बिहीबार श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी रञ्जु देवीको अहिले वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
 
 
प्रकाशित मिति: : 2019-09-16 22:57:44

प्रतिकृया दिनुहोस्