श्रीमानको कुटाईबाट गम्भीर घाईते भएकी वीरगञ्ज रानीघाटकी रञ्जु देवीका माईती पक्षले दोषीलाई कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्।
‘दाईजो प्रथा बन्द गर’, ‘महिला हिंसा अन्त्य गर’ र दोषीलाई कडा कारबाही गर’लगायतका नारासहित पीडितका माइती पक्षले सोमबार वीरगन्जको घण्टाघरबाट विरोधर्याली निकालेका थिए।
घटनाको बारेमा प्रहरीलाई उजुरी दिएको ४ दिन बितिसक्दासमेत प्रहरीले कुनै चासो नलिएको भन्दै प्रदर्शनमा उत्रिएको पीडित महिलाका दाजु रमेश प्रसाद साहले बिएल नेपाली सेवासँग भने।
पीडितका दाजु साहका अनुसार जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले दोषिलाई बोलाउन पत्र पठाएको तर अहिलेसम्म कोहीनआएको भन्दै कारबाही प्रकृया अगाडि नबढाएको आरोप लगाएका छन् ।
श्रीमान गोविन्द साह, सासु र ससुरा वीरगन्ज रानीघाटको घरमै रहेको तर, प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेको भन्दै न्यायको लागि प्रहरीको बिरोधमा प्रदर्शन गर्नुपरेको माईती पक्षले बताए ।
महिला हिंसाको घटना दिन प्रतिदिन बढ्दै गएको र दोषीलाई कारबाही नगर्दा पीडितलाई झन पीडा दिने काम प्रहरी प्रशासनले गर्ने गरेको पीडितका अर्का दाई अशोक साहले गुनासो गरे।
प्रहरी प्रशासनले कारबाही प्रकृया अगाडि नबढाउँदा दोषीको मनोबल अझै बढ्दै गएको माईती पक्षको आरोप छ। पीडितका परिवारजनका अनुसार यदि पर्सा प्रहरीले चाँडै दोषीलाई कार्यवाही नगरे मंगलबार पनि विरोध प्रदर्शन गर्ने जनाए।
गत बिहीबार श्रीमानको पिटाईबाट गम्भीर घाइते भएकी रञ्जु देवीको अहिले वीरगञ्जको नारायणी अस्पपतालमा उपचार भइरहेको छ।