राजपा र समाजवादी पार्टीवीच चुनावी तालमेलको गृहकार्य सुरु

बिएल

पार्टी एकताका लागि गृहकार्य गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीवीच चुनावी तालमेलको गृहकार्य सुरु भएको छ ।

राजपाको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले आगामी मंसीर १४ गते हुने उप-निर्वाचनमा उपेन्द्र–बाबुराम नेतृत्वको समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ ।

२०७४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि यी दुई पार्टीबीच तालमेल भएको थियो ।

विभिन्न गाउँपालिका २१ वटा वडाहरुमा हुने उपचुनावमध्ये यसअघि दुईवटा वडामा मात्र राजपा र समाजवादीले जितेका थिए ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ७ मा यसअघि राजपाले जितेको थियो भने पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्ष पदमा समाजवादी पार्टीले जितेको थियो ।

त्यसैगरी विभिन्न नगरपालिकातर्फ २२ वठा वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । तीमध्ये महोत्तरीको मटिहानी २ र रौतहटको गढीमाई २ मा यसअघि राजपाले वडाध्यक्ष जितेको थियो । त्यस्तै महोत्तरीको बलवा ८ मा समाजवादीले वडाध्यक्ष जितेको थियो ।

त्यसैगरी राजपाले ०७४ सालमा महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा जितेको थियो । आगामी मंसिर १४ गते पिपरा गाउँपालिका अध्यक्षका लागि उपचुनाव हुँदैछ ।

आगामी मंसिर १४ गते एउटा प्रतिनिधिसभा, तीनवटा प्रदेशसभा, एक उपमहानगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

तदर्थ समिति गठन निर्देशिका परिमार्जन

यसैवीच, मंगलबार बसेको राजपाको बैठकले पार्टीको तदर्थ समिति गठनसम्बन्धी निर्देशिकालाई संशोधन गर्ने निर्णय गरेको छ । तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ (ग)मा संशोधन गरी वाक्याको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’ भन्ने वाक्यांश थप्ने निर्णय गरिएको महासचिव केशव झाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: : 2019-11-06 07:34:26

प्रतिकृया दिनुहोस्