युएईमा बीएल–१
राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला काभ्रेका सुरेश घिमिरे वैदेशीक रोजगारीका लागि सन् २०११ मा पहिलो पल्ट सुल्तानहरूको देश युनाइटेड अरब इमिरेट्स (युएई) आएका थिए। काठमाडौंस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा उनको मनमा थुप्रै सपना थियो। ४ वर्ष उनले युएईको आबुदाबीमा एकहोरो ट्याक्सी चलाए।
पैसा उनले नकमाएका होइनन्। तर ४ वर्ष परदेशमा पसिना चुहाउँदा उनी दिक्क भइसकेका थिए। २०१५ मा उनले निर्णय गरे, देश फर्किने।
४ वर्षअघि युएई आउँदा उनले जुन सपना बुनेका थिए, घर फर्किने बेला पनि उनीसँगै त्यही जोश र सपना थियो। उनले नेपाल फर्केर आफ्नै व्यवसाय गर्ने योजना बनाएका थिए।
युएई आउँदा एक्ला थिए। देश फर्केपछि विवाह गरे। विदेशमा कमाएको पैसा सबै व्यवसायमा लगाए। नेपालमा खुद्रा व्यापारीहरूका लागि व्यवसाय गर्ने राम्रो वातावरण थिएन। उनी डुबे। जता त्यतै भ्रष्टाचार र दुर्षित वातावरणका बीच उनले हार माने। र, फेरि आफ्नो परिवारलाई देशमै छाडेर पुरानै काममा फर्किए।
अबुदाबीको वाटरबिचमा भेटिएका घिमिरेले दुखेसो पोखे, ‘के गर्ने हजुर, मलाई आफ्नै देश फापेन।’
घिमिरे मात्र होइन, युएईमा यस्ता धेरै नेपाली छन्, जसले आफ्नै देशमा बस्न सक्दो प्रयास गरे। तर भोको पेटले आर्दश पनि नचल्ने रहेछ।
सरकारले ‘अब नेपालीले विदेश जानु नपर्ने। सरकारले देशमै रोजगारीको ग्यारेन्टी गर्छ’ भनेर टेलिभिजनबाट दैनिकी गुड्डी हाँकिरहेकै छ। घिमिरे जस्ता युवाहरूका लागि केही दिन यो रमाइलो समाचार त बन्न सक्ला। तर नियति त खाँडी नै होनी!
घिमिरेको उच्च शिक्षा युएईमा गाडीको ‘एक्सिलेटर’ दबाउन काम लागेको छ। ‘ऋण सापटी गरेर पढेको थिए। जागिर पाइन। युएई आए। देशमा परिवर्तन भयो। अब केही होला भनेर घर फर्किए। केही बदलिएको छैन। मर्ने मरिरहेका छन्। खाने खाइरहेका छन्,’ उनले ब्रेक एन लिंक्ससँग आक्रोस पोखे।
सन् २०११ देखि युएईको विकाशलाई प्रत्यक्ष अनुभव गरेका घिमिरे आफ्नो देशमा नेता परिवर्तन हुने तर देशको अनुहार नफेरिने रोग देखेर चिन्तित छन्। ‘२५ वर्षमा युएईले सबैलाई अचम्मित तुल्याउने परिवर्तन गर्यो। हाम्रो देशमा एउटा पुल बनाउन ५ वर्ष लाग्छ,’ उनी भन्छन्।
घिमिरे दिनभरी ग्रीनल्यान्ड ट्राभल्सको गाडी चलाउँछन्। राती परिवारको याद आयो भने समुन्द्रको डिलमा बसेर क्षितिजतर्फ टोल्याउँछन्। सोशल मिडियामा आउने सरकारी अधिकारीको ठूला ठूला कुरा सुनेर उनलाई दिक्क लाग्छ। र, साथीभाईसँग ठ्ट्टा गर्छन्, ‘नेपालमा मन्त्री र प्रधानमन्त्री बन्ने नेताले २ वर्ष वैदेशीक रोजगारीको अनिवार्य अनुभव लिएको हुनुपर्ने नियमलाई नेपालको कानुनमा राख्न सकिन्न र!’
उनी नेपालमा राजनीतिक पार्टीको झन्डा नबोके केही काम नहुने अनुभव सुनाउँछन्। ‘मलाई नेपालमा पनि ट्याक्सी चलाउने आँट नआएको होइन। तर, सवारी अनुमतिका लागि यातायातमा हुने फोहोरी खेल देखेरै वाक्क लाग्यो। काम गरेर खान्छु भन्दा घुस दिनुपर्छ,’ उनी भन्छन्।
उनलाई परिवारसँग बस्न नपाएकोमा निकै दुखेसो छ। तर बाध्यताको अगाडि कसको के लाग्छ?