सडक दुर्घटना बढ्यो, ६ घण्टामा ६ जनाको मृत्यु

तस्बिरः रातोपाटी

काठमाडौं– केही दिनयता देखि देशभर सडक दुर्घटनाको संख्या बढ्न थालेको छ। आइतबार साँझदेखि सोमबार बिहानसम्म ६ घण्टाको अवधिमा सडक दुर्घटनाबाट ६ जनाले ज्यान गुमाएको प्रहरीले ब्रेक एन लिंक्सलाई जानकारी दिएको छ।

प्रहरीका अनुसार सडक दुर्घटनाबाट ज्यान गुमाउने घटना राजधानी काठमाडौंभन्दा बाहिरी जिल्लाहरूमा बढी देखिएको छ। राती मात्र दाङ, बाँके, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र सिराहा लगायत स्थानमा भएको विभिन्न सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको हो। दुर्घटनामा दर्जनौ घाईते भएको पनि प्रहरीले पुष्टी गरेको छ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाको घटना बढेको छ।

दाङ दंगिशरण गाउँपालिका–६ स्थित श्रीगाँउमा ग.१ ज ५६६४ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय देवीलाल पुनका ७ वर्षीय छोरा किरण पुनको मृत्यु भएको छ।
उनको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी बाँके राप्ती सोनारी गाउँपालिका–१ मा पनि रा.१ क ८५० नम्बरको ट्रकले भे.६ प ९८२३ नम्बरको मोटरसाइकल र साईकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय गोविन्द कुमालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा घाइते मोटरसाइकल चालक २४ वर्षीय विनोद वली, मोटरसाइकलमा सवार २८ वर्षीय हिम बहादुर कुमाल र २५ वर्षीय गणेश कुमालको कोहलपुरमै उपचार भइरहेको छ ।

कपिलवस्तु नगरपालिका–९ मा पनि लु.९ प ४६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ४० वर्षीय सर्वजित यादव र ३५ वर्षीय सेतु यादवको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा निधन भएको थियो। सर्वजित मायादेवी–७ स्थित वतनपुरका स्थायी वासिन्दा हुन् भने उनीसँगै मोटरसाइकलमा सवार सेतुको घर रमुवापुर भएको स्थानीय प्रहरीले जनाएको छ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–१० अरुणखोला, दुम्किबास जङ्गलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक युवकको निधन भएको थियो। उनको परिचय हालसम्म खुल्न नसकेको प्रहरीको भनाई छ।

यसैगरी सिराहा धनगढीमाई नगरपालिका–११ सोनापुरस्थित सडकमा ना.३ ख ६९७८ नम्बरको बसको ठक्करबाट बरियारपट्टी गाउँपालिका–४ का ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तका अनुसार प्रहरीको आँखा छलेर सवारी चलाउने गरेका कारण सडक दुर्घटनाको संख्या बढ्न थालेको बताउँछन्।

उनी भन्छन्,‘सडक दुर्घटना रोक्ने हो भने चालकलाई जिम्मेवार बनाउनु पर्छ। अहिले जति पनि सडक दुर्घटना भएका छन्, त्यसमा चालकको कमजोरी छ।’

 

प्रकाशित मिति: : 2019-05-13 13:02:55

प्रतिकृया दिनुहोस्