बंगलादेशी महिलामाथि क्रुर घटना, कलेज गएको रिसमा काटिदिए श्रीमतीको औंला

तस्वीरः एजेन्सी

महिलाको सफलतामा इस्र्या गर्ने पुरुष प्रवृत्ति हाम्रो समाजका लागि नौलो विषय होइन्। तर, बंगलादेशमा हालै एउटा यस्तो क्रुर घटना भएको छ, जसले सारा विश्वलाई एक पल्ट सोच्न बाध्य बनाएको छ।

बंगलादेशका एक मुस्लीम युवाले श्रीमतिले अनुमति बिना अध्ययनलाई सूचारु राखेको भन्दै औंला काटिदिएका छन्। श्रीमतिको सफलताबाट उद्धिग्न ३० वर्षीय रफिकुल इस्लामले श्रीमति हावा अख्तरले अध्ययन गर्ने हातको पाँच वटै औला काटिदिएका हुन्।

रफिकुल केही वर्षअघि वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स गएका थिए। २१ वर्षीय अख्तरले श्रीमानको अनुमति बिना डिग्रीको पढाइ सुरु गरेकी थिइन्।

उनलाई कलेज नजान रफिकुलले धम्क्याउँदै आइरहेका थिए। घटनाको दिन रफिकुलले श्रीमतिलाई एउटा आश्चर्यजनक उपहार दिन लागेको भन्दै आँखा बन्द गर्न भनेका थिए। पहिला उनले एउटा कपडाले श्रीमतिको आँखा छोपिदिएका थिए। आवाज बाहिर नजाओस् भनेर मुखमा टेप पनि टाँसिदिए।

यसपछि अध्ययन गर्दा प्रयोग गर्ने उनको हात तानेर पाँच वटै औला काँटिदिएका थिए। डाक्टरहरूले सल्यक्रियाबाट उनको औंला जोड्न नसकुन भनेर एकजना आफन्तले अख्तरको औला ‘डस्टबिन’ मा हालिदिएका थिए।

‘बंगलादेश फर्किएपछि उनले फेरि मसँग विवाद गरे,’ विदेशी अखबार ‘दि टाइम्स’ लाई प्रतिक्रिया दिने क्रममा अख्तरले बताइन्– ‘एक्कासी उनले मेरो आँखा बाँधे र मेरो हात अट्ठयाए। उनले मेरो लागि केही आश्चर्यजनक उपहार छ भन्दै मेरो मुख पनि टेपले बाधे। लगत्तै मेरो औलाहरू काटे।’

बंगलादेशी प्रहरी प्रमुख मोहम्मद सलाउद्धिनले दिएको जानकारी अनुसार रफिकुलले अपराध स्विकार गरिसकेका छन्। उनलाई राजधानी ढाकाबाट प्रहरीले पक्राउ गरेको थियो।

बंगलादेशको मानवअधिकार संस्थाहरूले रफिकुललाई आजीवन कारावासको सजाय हुनुपर्ने माग गरेका छन्।

अख्तरले यो घटनापछि पनि आफूले अध्ययनलाई सुचारु राख्ने बताएकी छिन्। उनले आफ्नो हातको औंला काटिए पनि लेख्न सुरु गर्ने बताइन्। उनी अहिले माइतीमा छिन्।

बंगलादेशमा भएको यो पछिल्लो घटनालाई अध्ययनमा लागेका मुस्लीम महिलामाथि पुरुष हैकमको सिलसिलावार आक्रमणको रुपमा हेरिएको छ।

गत जुनमा पनि एक बेरोजगार युवाले ढाका विश्वविद्यालयमा सहायक प्रोफेसर पदमा कार्यरत आफ्नो श्रीमतिको आँखा फुटाइदिएका थिए। उनी क्यानडामा थप उच्च शिक्षा लिने योजनामा थिइन।

प्रकाशित मिति: : 2019-05-10 15:33:13

प्रतिकृया दिनुहोस्