यसरी बन्दैछ, लागूऔषधको ट्रान्जिट नेपाल!

तस्वीर बीएल

अन्तर्राष्ट्रिय तस्करले नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर लागूऔषध ओसार–पोसार गर्दै आइरहेका छन्। नेपाली सुरक्षा निकायलाई चुनौती दिँदै उनीहरूले कोकिन, हिरोइन, आइसजस्ता लागूऔषध नेपाल भित्र्याउने गरेको अनुसन्धानमा आवद्ध प्रहरीले ब्रेक एन लिंक्सलाई बताएका छन्। 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको तथ्याङ्क अनुसार सन् २०१३ यता १९ हजार ६ सय २८ कारोबारी पक्राउ परेका थिए। यसमा बिदेशबाट लागूऔषध ओसार–पोसार गर्ने विदेशी भरियादेखि नेपालमै रहेका खुद्रा व्यापारी संलग्न थिए। प्रहरी अनुसन्धानमा पक्राउ परेका १९ हजार ६ सय २८ मध्ये ८ सय ६० जना विदेशी थिए।

लागूऔषधको अवैध ओसार–पोसार

लागूऔषध कारोबार नियन्त्रण गर्न सम्बन्धित निकाय क्रियाशील भए पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहका कारण नेपाल प्रहरीलाई गाह्रो पर्दै आइरहेको छ।

  • प्रहरी तथ्याङ्क अनुसार सन् २०१३ यता ७ सय ५५ भारतीय लागूऔषध कारोबारी छन्। अन्य कारोबारीमा पाकिस्तान, चीन, मलेसिया, सोमालिया, बोलिभिया, पोल्यान्ड, टर्की, रुसलगायत ३३ देशका नागरिक छन्।

    कहिले कति विदेशी पक्राउ?
  • सन् २०१३ मा १ सय ४६
  • सन् २०१४ मा १ सय ५२
  • सन् २०१५ मा १ सय २४
  • सन् २०१६ मा १ सय ३९
  • सन् २०१७ मा १ सय ५९
  • सन् २०१८ मा १ सय ३६

लागूऔषध ओसार–पोसारका लागि तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएको प्रहरी अनुसन्धानबाट प्रष्टिएको छ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार नेपाल–भारतबीच खुला सिमाना भएका कारण स्थलमार्ग हुँदै ठूलो परिमाणमा लागु औषध ओसार–पोसार हुनेगर्छ।
भारतबाट ब्राउन सुगर, औषधी जन्य लागु औषध, हेरोइन, कोकिनलगायत लागु औषध नेपाल भित्रिने गरेका छन्। नेपालबाट भने गाँजा, चरेस र अफिमको ठूलो परिमाण भारततर्फ तस्करी हुन्छ।

अन्तर्राष्ट्रिय तस्करले विशेषगरी काठमाडौंलाई ट्रान्जिट बनाएको प्रहरीको भनाइ छ।
दक्षिण एसियामा उत्पादन हुने अधिकांश लागु औषध भारतबाट काठमाडौंको बाटो हुँदै युरोप र अमेरिका पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अन्तर्राष्ट्रिय तस्करले नेपाललाई ट्रान्जिट बनाउने गरेको यसअघि बरामद लागु औषध र पक्राउ परेका विदेशी नागरिकबाट खुलेकै छ।
ब्युरोका एसएसपी विश्वराज पोखरेल संगठित तस्कर रोक्न प्रहरीले हदैसम्म प्रयास गरेको बताउँछन्। ‘तरपनि तस्कर समूहले विभिन्न उपाय निकालेर लागु औषध कारोबार गरिरहेका छन्। हाम्रो लागि यो चुनौतीपूर्ण छ।’

संगठित अपराधीहरूले विदेश बसेर नेपाललाई ट्रान्जिट बनाउने गरेका कारण भरिया मात्र पक्राउ पर्ने गरेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी बताउँछन्।

नेपालमा लागु औषध प्रयोगकर्ता बढे

नेपालमा लागु औषध दुव्र्यसनीको संख्या डेढ लाख बढी छ। पछिल्लो ५ वर्ष अवधिमा लागु औषध प्रयोगकर्ताको संख्या दोब्बर बढेको प्रहरी तथ्याङ्कले बताउँछ।
केन्द्रीय तथ्याङ्क विभागले २०६३ सालमा गरेको अध्ययनअनुसार नेपालमा ४६ हजार व्यक्ति लागु औषधको कुलतमा फसेका थिए।
यो तथ्याङ्क २०६९ सालमा बढेर ९१ हजार १ सय ५० पुगेको थियो।

अहिले दुब्र्यसनीमा पुरुषको संख्या बढी देखिएपनि महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको प्रहरी अध्ययनले बताएको छ। गत वर्ष महिला दुव्र्यसनीको संख्या ६ हजार ३ सय ३० थियो।
नेपालमा अधिकांश दुव्र्यसनीले डाइजेपाम, बुरुपिनर्फिन, फेनार्गनलगायत औषधीजन्य लागु औषध प्रयोग गर्ने गरेका छन्। एसएसपी पोखरेल नेपालमा औषधीजन्य लागु औषध उत्पादन नहुने बताउँछन्। यसैले जति औषधीजन्य लागु औषध नेपाल भित्रिने गरेका छन्, ती सबै भारतबाट आयातित हुन्।

खुला सिमाना भएका कारण भारतको जोगवनी, काकडभित्ताको पानीट्यांकी, नेपालगञ्जको लखनऊ, बीरगञ्जको गोरखपुरलगायत सोहरातगढ, बढनी, अलिगढवा, सुनौली–कृष्णनगर, दचिडी, भादगङ्गा, रङ्गपुर, विम्ली हुँदै लागु औषध नेपाल भित्रिन्छन्।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भारतका डिलरहरूले नेपालको सिमाना नजिकै लागु औषध ल्याइदिने बताउँछन्।
यसपछि नेपाली लागु औषध तस्करहरूले स्थानीय स्तरमा ती समान पु¥याउने काम गर्छन्। प्रहरी पक्राउको डरले नेपाली डिलर पेट्रोल ट्याङ्कर, भाडाको गाडी, सवारीका अन्य सामानमा लुकाएर लागु औषध नेपालमा भित्र्याउने गर्छन्।

कुन लागुऔषध नेपालमा उत्पादन हुन्छ ?
लागु औषध नियन्त्रण ब्युरोका अनुसार नेपालमा दुई प्रकारका प्रतिबन्धित औषध उत्पादन हुन्छ । एउटा गाँजा र अर्को अफिम हो। नेपालको बारा, पर्सा, मकवानपुर, रोल्पा, जाजरकोटलगायत जिल्लामा अफिम उत्पादन हुने अनुसन्धान अधिकृत बताउँछन्। यस्तै, धादिङ, मकवानपुर, नुवाकोट, रोल्पा, रुकुम, भोजपुर, संखुवासभा, सुर्खेतलगायत जिल्लामा व्यवसायिक रुपमै गाँजा खेती हुँदै आइरहेको छ।
दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा र अफिम उत्पादन हुने गरेको छ। गाँजा भन्दा अफिममा राम्रो आम्दानी भएका कारण कृषकले लुकिछिपी अफिम खेती गर्ने गरेको प्रहरीको दावी छ।

प्रकाशित मिति: : 2019-05-08 13:36:23

प्रतिकृया दिनुहोस्