अपराध गर्दै देश छोड्दै, इन्टरपोलको धरापमा ९७ नेपाली

तस्बिरः बिएल

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ९७ जना नेपालीको नाममा रेड कर्नर नोटिस जारी गरेको छ।

मुलुकभित्र विभिन्न अपराध गरी देश छाडेपछि उनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिएको हो।

रेड कर्नर नोटिसमा रहेका ९७ जना विश्वका विभिन्न मुलुकमा लुकीछिपी बस्दै आएका छन्। उनीहरूलाई १ सय ९४ देशका प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोजी गरेको हुनाले कुनै न कुनै दिन पक्राउ पर्ने निश्चित छ।

देशभित्र अपराध गरेर देश छाडेर अन्य देशमा भागेका अपराधीलाई पक्राउ गर्न सम्बन्धीत देशको प्रहरीले इन्टरपोलको सहयोग लिने गरेको छ।

इन्टरपोल नेपालले २९ जना नेपाली र २ जना विदेशी गरी ३१ जनाको नाममा रेड नोटिस जारी गरेको छ।

त्यसैगरी इन्टरपोल नेपालले ३४ जना नेपालीको नाममा डिफ्यूजन नोटिस पनि जारी गरेको छ।

विभिन्न अपराधमा संलग्न भएर प्रहरी कारबाहीबाट भागेका र अनुसन्धानको क्रममा देशबाहिर रहेका बेला झिकाउन उनीहरुलाई नेपाल प्रहरीको एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल मुख्यालयले रेड नोटिसमा राखेको हो।

इन्टरपोल नेपाल पछिल्लो सयममा निकै सक्रिय छ। केही अघिका वर्षमा इन्टरपोलबारे खासै कसैलाई जानकारी थिएन। प्रहरीले पनि इन्टरपोलको खासै फाइदा लिएको देखिँदैन, तर पछिल्ला वर्षहरुमा इन्टरपोल नेपालको सक्रियताका कारण देशमा अपराध गरेर भाग्नेहरुको मनोबल गिरेको छ।

कुन अपराधमा कति ?

  • ठगी– ७ जना
  • हत्या– ९ जना
  • जबर्जस्ती करणी– १ जना
  • वन्यजन्तुसम्बन्धी– २ जना
  • अवैध सुन ओसारपसार– ११ जना
  • सरकारी कागजात किर्ते– १ जना
  • नक्कली मुद्रा– १ जना
  • भीओआईपी– १ जना
  • मानव ओसारपसार– ३ जना
  • अपहरण– १ जना

नेपाल प्रहरीको इन्टरपोल शाखाले ३४ जना नेपालीका नाममा डिफ्यूजन नोटिस जारी गरेको छ। अनुसन्धानकै क्रममा आरोपी देशबाहिर रहेको जानकारी प्रहरीलाई भयो भने त्यस्ता व्यक्तिको निगरानी राख्न डिफ्यूजन नोटिस जारी गरिन्छ।

प्रहरी तथ्याङ्कअनुसार नेपाल प्रहरीले जारी गरेको रेड नोटिसमा बसैभन्दा बढी अवैध सुन ओसारपसारमा संलग्न छन्। त्यसैगरी विभिन्न व्यक्तिको हत्यामा संलग्न ९ जनाका नाममा रेड नोटिस जारी भएको छ। विभिन्न बैङ्क तथा वित्तीय अपराध र ठगी गर्ने ७ जनाका नाममा नोटिस जारी गरिएको छ।

को को छन् रेड नोटिसमा ?

पवनकुमार कार्कीः नेपालको क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स डुबाएर अमेरिका गएर डिपार्टमेन्ट स्टोर खोलेर बसेका छन्। नेपाल प्रहरीको आग्रहमा कार्कीलाई इन्टरपोलले २०१५ को डिसेम्बरमा रेडकर्नर नोटिसमा राखेको थियो।

भूपेन्द्र खड्काः विभिन्न ६ जना व्यक्तिलाई विदेश पठाइदिने भन्दै ४५ लाख रुपैयाँ ठगी गरेर भागेका खड्काको नाममा २००६ अगस्टमा रेडकर्नर नोटिस जारी भएको हो।

भक्तबहादुर लामाः विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ३१ करोडभन्दा रकम उठाएर फरार भएपछि नेपाल प्रहरीको आग्रहमा लामालाई इन्टरपोल मुख्यालयले २००६ मा रेड नोटिसमा राखेको थियो।

विष्णुबहादुर लामाः भक्तबहादुरसँग मिलेर ३१ करोडभन्दा बढी ठगी गरेकै मुद्दामा उनको नाममा २००७ मा रेडकर्नर नोटिस जारी भएको थियो।

रामबहादुर तामाङः वैदेशिक रोजगार ठगी। तामाङलाई इन्टरपोलले अगस्ट २००७ मा रेडकर्नर नोटिसमा राखेको थियो।

केशव दर्लामी मगरः उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपरणमा संलग्न मगरलाई इन्टरपोलले २००८ को सेप्टेम्बरमा रेड कर्नर नोटिसमा राखेको थियो।

फकिर रियाजः मे २००८ मा रुपन्देहीमा तीर्थ बोहराको हत्यामा संलग्न रियाजलाई इन्टरपोलले जुलाई ३०, २००८ मा रेड कर्नर नोटिसमा राखेको थियो।

अङ्गबहादुर बोहोरा (वसन्त):  ६ वर्षीया बालिका बलात्कार गरी फरार बोहरालाई इन्टरपोलले २००९ मा रेडकर्नर नोटिसमा राखेको थियो।

रामकुमार यादव: हत्या/अपहरण, सिरहाको अयोध्या नगरका गङ्गाप्रसाद यादवको हत्या तथा अपहरण काण्डमा फरार यादवलाई प्रहरीले २०११ मा रेडकर्नर नोटिस जारी गरेको हो।

पशुपतिनाथ शुक्ला: बैङ्किङ ठगी

एमडी सकिल हुसेन: २०१३ मा सप्तरीमा हत्यापछि फरार रहेका हुसेनलाई इन्टरपोलले १९ जुन २०१५ मा रेडकर्नर नोटिसमा राखेको थियो।

वकेन्द्रबहादुर सिंह: हत्या। काम्दा–८ बाजुराका शेरबहादुर रोकायालाई अगस्ट २९, २०१५ मा हत्या गरी फरार थिए। उनलाई इन्टरपोलले डिसेम्बर २०१५ मा रेड कर्नर नोटिसमा राखेको थियो।

जीवनबहादुर अधिकारी: कास्कीको सिद्ध गाविसका शिवराज थापालाई हत्या गरी फरार थिए। उनलाई इन्टरपोलले २०१६ मा रेड कर्नर नोटिसमा राखेको थियो।

त्यसैगरी पछिल्लो वर्षमा ११ जना अवैध सुनको ओसारपसारमा प्रहरीले हरिशरण खड्कालगायतलाई रेड नोटिसमा राखेको छ।

त्यसो त नेपालीहरू स्वदेशमा मात्र होइन, विदेशमासमेत अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिको सूचीमा रहेको देखिएको छ।

इन्टरपोलको वेबसाइटमा रहेको तथ्याङ्कअनुसार चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी सिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा ६३ जना नेपाली छन्।

कुन देशले कति नेपालीको नाममा जारी गर्‍यो?

  • भारतबाट – २८ जना
  • अमेरिकाबाट – ५ जना
  • बेलारुसबाट – १ जना
  • यूएईबाट १६ जना
  • कतारबाट – ११ जना
  • साउदी अरेवियाबाट ३ जना
  • पोर्चुगलबाट – १ जना
  • बहराइनबाट १ जना

अमेरिकाले रेड नोटिसमा राखेको कुनै नेपाली नेपालमा पक्राउ परेमा अमेरिकालाई नै बुझाउनुपर्ने हुन्छ। तर त्यसका लागि देशको प्रचलित कानुनको भने ख्याल गर्नुपर्छ।

सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गरी नोटिस जारी गर्ने देशलाई बुझाउनुपर्छ।

इन्टरपोलको नोटिसमा रहेकाहरुको पासपोर्ट विवरण इन्टरपोल सदस्य राष्ट्रका प्रहरी अध्यागमनसँग हुन्छ। रेड नोटिस जारी गरेका व्यक्तिहरु कुनै एक देशबाट अन्य देशमा जाँदा र प्रहरीको सिस्टममा देखापरेका बेला प्रहरीले नियन्त्रणमा लिएर नोटिस जारी गर्ने देशलाई खबर गर्छ।

के हो रेड नोटिस ? किन हुन्छ जारी ?

सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रियस्तरमा फैलिँदै गयो। अपराधीहरु एक देशमा अपराध गरेर अर्को देशमा सर्न थाले। यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो। मुख्यगरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सन् १९२३ मा गठन गरिएको हो।

सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो। इन्टरपोलमा हालसम्म १९० देश सदस्य छन्। इन्टरपोलले सम्बन्धित देशको प्रहरी सङ्गठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ। अदालतबाट मुद्दा फैसला भई अपराधी लुकिछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ।

सोहीअनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ। इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन्। सोहीअनुरूप खोजी कार्य हुन्छ।

कुन नोटिसको के काम ?

रेड नोटिस– नोटिस फरार अभियुक्त खोज्न, कुनै पनि अपराध गरेर देशबाहिर गएका र अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न जारी गरिने नोटिसलाई रेड नोटिस भनिन्छ।

एल्लो नोटिस– हराएका व्यक्तिको खोजी गर्न इन्टरपोलमार्फत जारी गरिने नोटिसलाई एल्लो नोटिस भनिन्छ। कुनै देशबाट हराएको व्यक्तिको विवरण उक्त नोटिसमार्फत सदस्य राष्ट्रका सबै प्रहरीलाई पुग्छ, फेला परेको खण्डमा खोजी गर्ने देशका प्रहरीलाई खबर गरिन्छ।

डिफ्युजन नोटिस– प्रहरी अनुसन्धानका क्रममा देश यदि कोही व्यक्ति देश छाडेर भाग्यो अथवा अनुसन्धानमा बोलाउँदा अटेर गर्यो र मुलुक बाहिर छ, त्यस्ता व्यक्तिलाई निगरानी गर्न जारीप् गरिने नोटिसलाई डिफ्युजन नोटिस भनिन्छ।

ब्लु नोटिस– कुनै अपराधीबारे जानकारी दिनुपरे जारी गरिने नोटिसलाई ब्लु नोटिस भनिन्छ। त्यस्ता व्यक्तिको पूर्ण विवरणसहित इन्टरपोल सदस्य राष्ट्रमा सर्कुलर गरिएको हुन्छ।

ग्रिन नोटिस– अपराधीको कार्यशैली जानकारी दिन जारी गरिने नोटिसलाई ग्रिन नोटिस भनिन्छ। कुनै व्यक्ति अपराधी हो भन्ने प्रहरीलाई यकिन भयो। तर उसको अन्य सञ्जाल पक्राउ गर्नु छ भने त्यसलाई निगरानी गर्न यो नोटिस जारी गरिन्छ।

ब्ल्याक नोटिस– सनाखत हुन नसकेको शवबारे जानकारी दिन जारी गरिने नोटिसलाई ब्ल्याक नोटिस जारी गरिन्छ। जस्तै कुनै अन्य देशका नागरिक नेपालमा आयो उसको मृत्यु भयो। तर सनाखत हुन सकेन भने त्यस्तो व्यक्तिको हुलियासहित विवरण राखेर नोटिस जारी गरिन्छ।

अरेन्ज नोटिस– हतियारबारे जानकारी दिन परेमा इन्टरपोलले अरेन्ज नोटिस जारी गर्छ। कुनै देशबाट हतियार लिएर कुनै व्यक्ति अर्को देश जाँदै छ, त्यसको पछिल्लो सञ्जाललाई पक्राउ गर्न बाँकी छ, भने एक देशले अर्को देशलाई सोही नोटिसमार्फत जानकारी गराउँछ।

इन्टरपोल नेपालको सक्रियता बढ्दो

श्रीमती, सासुससुरासहित ७ जनाको हत्या गरी कतार पुगेका सप्तरीका मोहम्मद सकिल हुसेनलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाइएको हो। त्यसैगरी सनम हत्या र ३८ सय किलो सुन काण्डका आरोपी बिनु श्रेष्ठलाई पनि इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याइएको छ।

२०७३ पुस ४ गते रुपन्देहीका युवासङ्घ अध्यक्ष दुर्गा तिवारी हत्यामा संलग्न तुलबहादुर सिँजालीलाई ७४ पुसमा कतारबाट नेपाल झिकाइयो। त्यस्तै ७४ फागुन २१ गते लोडु डिमेलाई भारतबाट नेपाल ल्याइयो, वन्यजन्तु तस्करीमा अदालतबाट सजाय तोकिएका डिमे भारतमा लुकिछिपी बस्दै आएका थिए।

त्यसैगरी ६९ जेठ १८ गते ललितपुरको यूएन पार्कमा हत्या गरिएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सुटर रामेछाप खनियापानीका सञ्जय स्माइली मगरलाई साउदीबाट नेपाल ल्याइयो। इन्टरपोलको सहयोगमा उनलाई ७२ भदौ ६ मा नेपाल ल्याइएको थियो।

नेपालबाट भागेका अपराधीलाई पक्राउ गर्ने र नेपालमा आएका विभिन्न देशका अपराधीलाई पक्राउ गरी बुझाउने मात्र होइन, एनसीबीले सबै क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै आएको छ। नेपालबाट हराएका वा चोरी भएका १ लाख ९० हजारभन्दा बढी नेपाली राहदानीदेखि विभिन्न कागजपत्रको खोजी गर्न अध्यागमनसँग एनसीबीले सहकार्य थालेको इन्टपोल शाखाका प्रमुख एसपी उमेश जोशी बताउँछन्। इन्टरपोल सदस्य राष्ट्रका सबै देशमा यो विवरण पठाइएको छ। माइन्ट डिभाइसमार्फत विभिन्न विमानस्थल र बोर्डरमा चेकजाँच गरिन्छ।

उनका अनुसार सो डकुमेन्ट इन्टरपोल सदस्य राष्ट्रका सबै देशमा पठाइएको छ। माईन्ट डिभाईस मार्फत विभिन्न बिमानस्थल र बोर्डरमा चेकजाँच गरिन्छ।

त्यसैगरी पछिल्लो समयमा नेपालको समन्वयमा अपराध रोकथामका बारेमा विभिन्न तालिमहरु पनि सञ्चालन भएका छन्।

केही महिनाअघि यूएईमा भएको इन्टरपोलको सभामा पनि नेपाल प्रहरीको कार्यको प्रसंसासमेत भएको थियो।

इन्टरपोलको सहयोगमा पछिल्लो समयमा केही राम्रा काम भए, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘हामीले यसलाई बढाउँदै लग्यौं भोलिका दिनमा अपराध गरेर भाग्नेहरूको मनोबल गिर्नेछ। नेपालमा अपराध गरेर विभिन्न मुलुक पुगेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएका छौं। यत्ति हो भनेको बेला नहुन सक्छ, इन्टरपोलमा नोटिस भएका व्यक्ति उम्कन सक्दैनन्।’

उद्धारमा पनि उत्तिकै सक्रिय

अपराध गरेर भागेका अपराधी पक्राउ गर्ने मात्र नभएर प्रहरीले मानव तस्करी समूहले विभिन्न देशमा बेपत्ता पारेका युवतीको पनि उद्धार थालेको छ।

एक महिनाअघि भारतबाट उद्धार गरिएका १६९ जना युवा युवतीलाई नेपाल प्रहरीले उद्धार गर्‍यो। सो कार्यमा पनि इन्टरपोल नेपालले सहकार्य गरेको थियो।

त्यसैगरी २ साता अघि अफ्रिकाको मालवमा पनि ४ जना युवतीको उद्धार गरिएको छ। उनीहरुलाई नेपाल ल्याउन काम बाँकी छ।

इन्टरपोल नेपाल शाखाका प्रमुख एसएसपी उमेशराज जोशी भन्छन्, ‘हामी अपराधी पक्राउ गर्ने मात्र होइन, मानव तस्करीले विभिन्न देशमा पुर्‍याएका र दुःख पाएका हाम्रा नागरिकको उद्धार पनि गछौं।’

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन इन्टरपोल विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन हो। यसको स्थापना अस्ट्रियाको भियानामा सन् १९२३ मा भएको हो। यसले अन्तर्राष्ट्रिय अपराधलाई रोकथाम तथा प्रतिरोध गर्ने मिसनमा लागेका सम्पूर्ण संगठन, प्रशासन तथा सेवाप्रदायकलाई अन्तर सीमा प्रहरी सहकार्य, समर्थन र सहयोग उपलब्ध गराउँछ।

नेपालसहित इन्टरपोलमा १९० राष्ट्र संलग्न छन्। यसको मुख्यालय १९८९ देखि फ्रान्सको ल्योनमा छ। यसका अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरबी गरी चार वटा आधिकारिक भाषा प्रयोगमा छन्। इन्टरपोलले आफ्ना सदस्य मुलुकहरु तथा अभियोजन अधिकारीहरुलाई अनुसन्धानात्मक स्रोत संसाधन उपलब्ध गराउँदै आएको छ।

राष्ट्रिय केन्द्रिय ब्युरो एनसीबी काठमाडौं नेपाललाई इन्टरपोलको एक सयौं सदस्यका रूपमा १९६७ सेप्टेम्बर २७ मा क्योटोमा आयोजना भएको ३६ औं साधारणसभा अधिवेशनले मनोनयन गरेको थियो।

प्रकाशित मिति: : 2019-05-08 09:53:44

प्रतिकृया दिनुहोस्