राष्ट्रपति र प्रधानमन्त्रीलाई फेसबुकमा गाली गर्ने सिन्धुपाल्चोकका प्रधानाध्यापक पक्राउ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोशल मिडियाबाट अपमानित गरेको आरोपमा सिन्धुपाल्चोकका स्थानीय प्रधानाध्यापक तथा शिक्षक इश्वरकुमार चौलागाई पक्राउ परेका छन्।

उनले सोशल मिडिया फेसबुकको आफ्नो वालमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटोलाई अपमानित ढंगले परिवर्तन गर्दै ‘दुल्हा–दुल्ही’ को रुपमा प्रस्तुत गरेका थिए। उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धानका लागि सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट मंगलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले ब्रेक एन लिंक्सलाई जानकारी दिए।

‘सामाजिक सञ्जालको दूरुपयोग गरी सम्मानित संस्था उपर भ्रम श्रृजना गर्ने उद्देश्यले चित्र बिगारी आफ्नो वालमा पोस्ट गर्नु भएको रहेछ। अनुसन्धानका क्रममा उहाँको संलग्नता खुल्न आएपछि पक्राउ गरेका हौं,’ राठौरले भने।

५० वर्षीय चौलागाई पतलीशीला मावीका प्रधानाध्यापक हुन्। उनी शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव पनि हुन्।


प्रकाशित मिति: : 2019-05-07 18:21:25

प्रतिकृया दिनुहोस्