आइजीपी खनालले भने- कसैलाई चित्त बुझेन होला, त्यसमा मेरो भन्नु केही छैन, तर म चाहिँ सफल नै भएको ठान्छु

पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक सर्वेन्द्र खनाल। तस्बिरः नेपाल प्रहरी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै  प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल पूर्णतः सफल भएको र  कसैको चित्त दुखाउने काम नभएको दाबी गरेका छन्।

‘यसलाई आइजी बनाइदिएको, यसले गरेन भनेर त्यस्तो चित्त दुखाउनुपर्ने ठाँउ छ जस्तो लाग्दैन। सबैले विगारेको कुरा आइजीले विगारेको हो भन्नु काही तर्क संगत हो वा न्याय हुन्छ कि, हुँदैन?’, खनालले भने।

महानिरीक्षक खनालले आफ्नो कार्यकाल नसकिएकाले आफ्नो कार्यकालमा भएका केही घटनाको अनुसन्धान टुंगोमा पुर्‍याउन लागिपरेको समेत जानकारी दिए।

कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षिय निर्मला पन्तको अनुसन्धानमा प्रहरी लागिपरेको बताए।

खनालले केही प्रहरीको गल्तीको कारण अनुसन्धान प्रभावित भएको दाबी गरेका छन्। ‘आइजीको समय सकिएको छैन। बाँकी पनि छ। निर्मला पन्तको विषयमा जसरी आएको छैन भनिएको छ। आउनको लागिपरिरहेका छौं। केही गाह्रो पनि भयो। प्रहरीबाट कमजोरी भएकाले कारबाही पनि गर्‍यो। तर, कारबाहीले मुक्त पाइन्छ भनेर सोध्नुभयो भने त्यहाँभन्दा अहिले गर्ने के छ?’

महानिरीक्षक खनालले आफ्नो एक वर्षे कार्यकालमा गुन्डागर्दी नियन्त्रण, देशमा शान्ति सुरक्षा कायम, अन्तराष्ट्रिय स्तरमा प्रहरीको सम्बन्ध विकासलगायत काममा सफलता हात पारेको दावी गरेका थिए।

शुरूमा नै पोखराका एक पत्रकार पक्राउको बारेमा गरिएको प्रश्नमा महानिरीक्षक खनालले भने, ‘हामीलाई प्रहरी भर्सेस पत्रकार बन्नु छैन।’

केन्द्रीय अनुसन्धान ब्यूरोले केही समय अगाडि पक्राउ गरेका पत्रकार सम्बन्धित अनलाइन दर्ता नभएकोले मात्र नियन्त्रणमा लिएको महानिरीक्षक खनालले दाबी गरे। 

खनालले थपे, ‘प्रेस काउन्सिलको पत्र आउँदा दर्ता भएको छैन भन्ने आयो। दर्तामा नआएपछि प्रहरीले के हेरिरहेको छ भनेर प्रश्न तपाईंहरुले पनि उठाउँदै आउनु भएको हो। पछि दर्ता भएको रहेछ भन्ने आएपछि उसलाई राखिरहनु हुन्न भनेर निर्देशन दिएको हुँ।'

खनालले मुद्दा दर्ता भइसकेकाले अदालतसम्म पुर्‍याउनुपर्ने भएकाले अदलात लगेको जानकारी दिए।

सुरुमा पत्रकार समक्ष विनम्र भएर प्रस्तुत भएका खनालले केही पत्रकारको चरित्रसमेत उदांगो पार्न खोजे। महानिरीक्षक खनालले भने, ‘मलाई पनि केही पत्रकारले यो चाहियो उ चाहियो भनेर म्यासेज गरेका छन्। नदिएपछि समाचार समेत लेखेका छन्।'

प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको दाबीसमेत गरेका छन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ नेपाल प्रहरी सदैव केन्द्रित रहेको बताए।

अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै उनले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन तथा अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको उल्लेख गरे।

प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रणमा समुदायको भूमिका अहम रहने र समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रण तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा समुदायको सहयोग भइरहेको चर्चा गरे।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझै व्यवस्थित बनाउन ३ महिने अभियान सुरु गरिएको जानकारी दिँदै उनले यसका लागि सबै सरोकारवाला निकायले समन्वयात्मक रुपमा आ-आफ्नो जिम्मेवारी एवम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

संघीय प्रहरी ऐन सम्बन्धमा राखिएको जिज्ञासाबारे प्रहरी महानिरीक्षक खनालले प्रहरीको भूमिका लगायत अन्य पक्षमा सरकारमा सुझाव पेश गरिएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-04-22 21:37:29

प्रतिकृया दिनुहोस्