नेपालका सरकारी बिद्यालयमा हुने पिउन प्रथाका बारेमा मैले देखे/भोगेबमोजिमको जानकारी छ मलाई।मैले पढेका झापाका केही सरकारी बिद्यालयमा, मैले नपढेका तर मैले नजिकबाट नियालेका बिद्यालयमा, मैले शिक्षकको रुपमा काम गरेका बिद्यालयमा गरेर हाम्रो बिद्यालयमा पिउन प्रथाका बारेमा मैले केही देखे/जानेका अनुभव छन्।र, यता आएपछि क्यानाडाका सरकारी विद्यालयमा नेपालमा जस्तो पिउन प्रथा रहेछ कि रहेनछ भन्नेबारे नि प्रत्यक्ष देखे/भोगेका अनुभव छन्।
यो लेखको उदेश्य कुनै चलन साह्रै राम्रो र कुनै चलन साह्रै खत्तम गैबार भन्नु होइन।यो एउटा अनुभवको प्रस्तुति हो। कुन र के राम्रो र कुन र के नराम्रो छुट्याउने जिम्मा पाठकलाई नै छोडेको छु।
पिउन प्रथा हाम्रो समाजको एउटा निकै नै प्रिय र सबैले सबै कालमा अत्यधिक रुचाइएको प्रथा हो। जसरी चाकरी, भजन, अर्चना, प्रदक्षिणा भनेपछि समाजका जस्तै मै हुँ भन्ने क्रान्तिकारी, सुधारक र विनिर्माणवादीलाई पनि छुद्दे पर्छ, पिउन प्रथा पनि त्यस्तै सर्वकालिक र सर्वव्यापि प्रियतम् हो। हाम्रो समाजमा कोही एकजनालाई पिउन ठानिनु वा पिउन हुनु र अर्को एकजना मालिक वा हाकिम हुनु जताततै पाइलैपिच्छे जतिबेला नि भेटिने कुरा हो।
नेपाली शब्दकोशले ‘पिउन’लाई यसो भन्छ: कार्यालयको चिठीपत्र पुर्याउन,कार्यलयलाई सफा सुग्घर राख्न र अन्य परिआएका दैनिक काम गर्न राखिएको तल्लो दर्जाको कर्मचारी’ प्राविधिक अर्थमा पिउन कम शिक्षा र सीपले हुने कार्यालयका निश्चित काम गर्न राखिने एउटा कर्मचारी हो। तर हाम्रो पिउन प्रथा बुझ्न प्राविधिक अर्थको भरले मात्र पुग्दैन, यसको सांस्कृतिक अर्थ र ब्यबहारमा छिर्नुपर्छ यो प्रथालाई बुझ्न।
अब ‘प्रथा’ भनेको शब्दकोशका अनुसार ‘पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको रीतिरिवाज, चालचलन, बुढीरुढि’ सांस्कृतिक अर्थले यो पिउन प्रथा हाम्रो बिराट सनातन, चिन्तन, रीतिरिवाज,चालचलन र रुढीबुढी हो। हाम्रो सामाजिक सम्बन्धको सोपानमा अरुलाई मुन्तिर राखेर आफू मास्तिरको हुँ भन्ने चिन्तन बोक्नु र तदनुरुप ब्यबहार गर्नु पिउन प्रथा हो।आफूले जुरुक्क उठेर आफैं गर्न सक्ने सानातिना निजी वा
कार्यालयीय काम कुर्सीमा बसिबसी अर्कोलाई अह्राउनु,आदेश दिनु वा खटाउनु पिउन प्रथा हो।पिउनलाई खासै इज्जत गर्नु पर्दैन, नमस्कार, ‘गुड मोर्निंग’ जस्ता कुरा पिउनलाई भन्ने कुरै होइन, पिउनमोराको खासै इमान नि हुदैन, र पिउन यसो नजरमा पर्यो भने खाँचो होस् कि नहोस् एउटा न एउटा काम अह्राइहाल्नु पर्छ। बुझाइ र गराइको यस्तो रीति पिउन प्रथा हो।हाम्रा विद्यालयमा पिउन हुन्छन्। हाम्रा सबै कार्यालयमा पिउन हुन्छन्। मैले पहिलोपल्ट पिउन २०३८/३९ सालमा देखें प्रावि स्कुलमा। त्यसयता मैले धेरै पिउनहरु देखें, भोगें। हुर्किंदै जाँदा पिउन प्रथाका गुण र ब्यवहार पनि आर्जन गरें।
स्कुल वा क्याम्पस गएका सबै नेपालीले एउटा पिउनले काम गरेको,पिउनलाई काम अह्राएको, कसैको पिउन भइनुको अर्थ, हैसियत र नियति नियालेको हुन्छ। पिउनलाई बोलाउने भाषा र ब्यबहार देखेर एउटा विद्यालयवा क्याम्पसबाट शिक्षा लिएको प्रत्येक व्यक्तिले पछि ठुलो भएर काम गर्न थालेपछि परिवार, समाज र कार्यालयमा आफू हाकिम वर्गको र अरुलाई पिउन वर्गको ठान्नु स्वभाविक हुन्छ। अथवा, समाजका अरु जम्मै पिउनै पिउन हुन् म अलिक मास्तिरको हुँ भन्ने ठान्न राम्रो ‘स्कुलिङ्ग’ पुग्छ स्कुलबाटै। भन्नलाई ‘म त त्यस्तो होइन ऊ चाहिं हो’ भन्ला प्रत्येकले तर यो हाम्रो सांस्कृतिक चरित्र हो जम्मैमा हुने। पिउन प्रथा घर स्कुलमा नानीदेखि देखे भोगेको बानी हो हाम्रा लागि।
्बाले आटमा पल्टेर 'लु खाजा बना त बुढी' भन्दै उताना टाङ लाएर आमाको खाजा पर्खिएको, खाजा खाएपछि दूध वा दहीले लतारेको फोहोरी थाल ठाउँको ठाउँ छोडेर हिंडेको र आमाले टिपेर माझेको हामीले देखेका हौं।गाग्रीमा पानी नहुँदा ‘ए आमाचैं पानीको थोपो रैन'छ गाग्रामा, लु झट्टै लेले तल पँधेरामा गएर' भन्दै पानी नआउन्जेल ठिंङ्ङ उभिएर कुरेको हामीले भोगेका हौँ।घरमा बाहुनबा, भिनाजु, फुपाजु आउँदा बाले तातोपानीले तीनका गोडा चुठुवा भाँडोमा हालेर धोइदिएर, बेलुका चिल्लो लाइदिएको र तिनले उग्राईउग्राई सन्च मानेको, ‘हन के सारो कसिंगर हो सिकुवामा खोई बढारेकोए काली कता गई. ‘ भनेर बहिनीलाई थर्काएको हामीले देखेर हुर्कियौं।
कालान्तरमा हाम्रो यस्तो पिउन प्रथाले सबैलाई आफूले सक्ने आफ्नो कामगर्नु भन्दा मालिक बनेर माखो नि अरुलाई नै मार्न लाउन पाए हुन्थ्यो भन्ने बनाउँदो रहेछ।यसै प्रथाले हुर्काएको समाजले गर्दा हाम्रा जर्नेल कर्नेलका निजी घर बनाउन, बुट पालिस गर्न, घोडाको लिदी तह लाउन, गाईको भकारो सोर्न, उनका छोराछोरीको करिया बनिन पर्नेरहेछ हाम्रा सिपाही जवानले।
प्रजातन्त्र, न्याय र समानताको लागि जीवनभर लडेको, जेलनेल भोगेको भनिएको एउटा नेतालाई हेर्नुस त ऊ पानी पर्दा आफ्नो छाता आफैं ओड्न सक्दैन।खोलो तर्नु पर्यो भने जुतामोजा फुकालेर, सुरुवाल माथि सुर्केर रोडा, बालुवा टेक्दै ‘आम आदमी’ जस्तो खोलो तर्न उसलाई पिउन प्रथा चिन्तनले दिंदैन र ऊ कार्यकर्ताको बुइ उक्लिएर खोलो तर्छ।प्रधानमन्त्री, राष्ट्रपति, जर्साब, कर्साबहरुको जुताको तुना बाँध्नेर मोटर रोकेपछि ढोका खोल्दिने पिउन नभई उनको पाइलो चल्दैन।कतै कतै हाम्रै मधेसका गरीब, दु:खीको मुक्तिका लागि अहोरात्र लाग्छु भन्ने नेताका गोडा दूधले धुइन्छ। कतै सभामा फलानो फलानो बस्ने कुर्सी र सोफाको र ओढाइने खादाको रंगरोगन र ढाँचा फरक हुन्छ। अरुका गर्धनलाई एकसरो एउटा मालाले हुँदा नेताको गर्धनलाई डेढ क्विन्टलको माला बनाउनु पर्छ भन्नु र बनाउनु सबै पिउन प्रथाका उपज हुन्।एउटै र सबैलाई उस्तै नगरिनुमा पिउन प्रथाको हात छ।
आफ्नो जुतामोजा धुनै नभ्याउने गरी, आफ्नो खाजा चिया आफैं बनाउनैनसक्ने गरी, आफूले खाएको भाँडोवर्तन पखाल्नै नसक्ने गरी, आफू चढ्नेमोटरको ढोका उघार्नै नसक्ने गरी कसैले पनि यस पृथ्बी ग्रहमण्डलमा काममाब्यस्त हुनु र परनिर्भर हुनुपर्छ जस्तो लाग्दैन। प्रत्येक सक्षम शरीरलाई आफ्नादैनिक आधारभूत आवश्यकताका कुराहरु-नुहाइ धुवाइ,पहिरनको हेरचाह गर्न, खाजाभातलगायत वरको सिन्को पर सार्ने समय दिएर पठाएका छन् जस्तो लाग्छ सृष्टिकर्ताले। तर हामीले पिउन प्रथा बिकास गरेर स्वावलम्बन जिउनुको त्यो स्वाद र सन्तुष्टी उहिले गुमायौं।
नेपालको एउटा विद्यालयमा पुसको घाम ताप्न मन लाग्यो एकजना मास्टरलाई ऊ बाहिर चौरमा निस्कियो अनि बोलायो पिउन तारानाथलाई रभन्यो एउटा कुर्सी लेऊ। तारानाथले कुर्सी ल्यायो। एकछिनमा अर्को मास्टर थपियो, उसले कुर्सी मगायो। त्यही बेला हेड सरले ट्यांङ्ग घन्टी बजाए पिउन बोलाए। पिउन कुदेर हेड सरको कोठामा पस्यो।‘एक गिलास चिसो पानी खुवाऊ तारानाथ’ हेड सरको प्यासले कुदायो हेड सरलाई पानी दिएर बाहिर कुर्सी पुर्याउन जाँदा अरु दुई मास्टर थपिएछन्।थप दुईटा कुर्सीको माग जाइलाग्यो अब। अरु थप दुई कुर्सी लिएर आउँदावर्दा टिफिनको घन्टी लाउन बितिसकेछ।कुदेर टिफिनको घन्टी बजाउन पुग्यो पिउन।अब बाहिर चौरमा बसेर प्रचण्डको दाउपेच र शेरबहादुरको नेतृत्वको सघन समीक्षा मन्थनमा जोतिएका मास्टरलाई तिर्खा लाग्यो।ठण्डी पानी खुवाउने माग आयो।पानी खुवाइयो धाराबाट थापेर ल्याई सबैलाई।अब नजिकैको चिया पसलबाट चिया अर्डर गर्दिन आदेश आयो समूहको एकजना मास्टरबाट। एक गिलास चिया अर्डर गर्न कुदयो पिउन। चिया आएपछि तात्तातो चियाको बास्ना सुँघेर अर्को मास्टरलाई चिया र नास्ता खाने छुद्दे निक्ल्यो र फेरी कुदायो पिउनलाई।
भलिवल खेलेर नेट नथन्क्याई स्कुले हिंडे, कोठामा यति धेरै धुलो छ, कागज च्यातेर उति फाल्या छन्। ट्वाइलेट थुनिएर नर्क उठेको छ।अघि चौरमा बसेका मास्टरले कुर्सी नथन्क्याई उठेर हिंडे पिकनिकमा खाएको सेकुवाको महिमागान गरेर बसेको लेखापालको साइकलको हावा गएछ, मेकानिकको दोकानबाट पम्प ल्याइदे भन्यो। स्टाफ मिटिंगलाई चिया र चाउचाउ पकाएर बाँड्नु छ, खाएका भाँडा माझ्नु छ।विज्ञान सरको ओठमा चेप्ने मडुवा निख्रेछ, उनको खातामा लेखेर दोकानबाट एक पुरिया ल्याइदिनु पर्यो। उही बेला, स्कुलका लागि मगाइएका ‘सप्लाइज’का बाकस पसलमा ओर्लेका छन् ल्याउनु छ। हेडसरले छोरीको बिहेलाई किनेका खँड्कुलामा एउटा अलिक सानो परेछ एकैछिन मिलाएर साट्न पनि गइदिनु छ…
क्यानडाका विद्यालयमा हाम्रोमा जस्तो पिउन प्रथा हुँदैन।पढ्ने,पढाउने,सिक्ने सिकाउँनेमा विद्यार्थी शिक्षक लागिहाले, दैनिक प्रशासन र व्यवथापनमा सेक्रेटरीसहित प्रिन्सिपल(हरु) हरपल सक्रिय छन्।
हाम्रो पिउनको ठाउँमा ‘हेड कस्टोडियन’ नामको पद भएको एकजना कर्मचारी हुन्छ।विद्यालय समयमा कोठाचोटा, चोक, परिसरको सरसफाई, सुरक्षा र सामान्य मर्मत-संभारका लागि भनेर ऊ बिहान स्कुल खुल्नुभन्दा एकघण्टा आगाडिदेखि स्कुल सकिएको आधा घन्टापछि सम्मको जागिरे हो।अंग्रेजीको ‘पियन’ शब्द प्रयोग नै हुदैन त्यो काम, पद र कर्मचारीका लागि यहाँ।
उसलाई कसैले उसको तोकिएको कामको क्षेत्रभन्दा बाहिरको कुनै काम लाउन पाउँदैन। लाइहाले ठाडै ‘गर्दिन’ भन्न पाउने ‘प्रोटोकल’ हुन्छ।विद्यार्थीले र शिक्षकले आफ्ना ‘लन्च’जन्य फोहोर आफैंले कडाइका साथ सफा गर्नुपर्छ।उसले स्कुलका तला, प्यासेजमा घुमीघुमी केही फोहोर खसेको छ कि,कागज, रहलपहल खानेकुराका खोल वा जुत्ताको हिलो केही छ भने त्यसलाई सफा गर्छ। ट्वाइलेटमा भुराले टिस्युपेपर छरेर वा अन्य केही अनावश्यक ‘मेस अप’ गरे भने र काम बढाए भने कुन कक्षाका कुन मास्टरका भुराले गर्या हो पत्ता लाएर सम्बन्धित शिक्षक र विद्यार्थीसँग सिधै ‘डिल’ हुन्छ।
यस्तो गर्न मिल्दैन भन्न हाम्रो पिउनको जस्तो हैसियत आँट नपुग्ने भन्ने हुँदैन उसको यता।सिर ठाडो पारेर प्रष्टसँग उसले कक्षामा पसेर ‘लेक्चर’दिएर जान्छ। सबै शिक्षकले ‘हाम्रो हेड कस्टोडियन मिस्टर फलानो धेरै ‘स्याड’ हुन्छन्, कक्षामा,बाथरुममा हामीले कहिले फोहोर गर्नु हुँदैन’ भनेर विद्यार्थीलाई सम्झाउने काम भइरहन्छ सधैं।
म सरसफाई गर्ने ‘निचो कर्मचारी’ भन्ने हिनताबोध वा मनोगति उसको बोली,ब्यबहार, शरीरको हाउभाउमा फिटिक्क देखिदैन। भाषाले नि उसलाई सम्मानित ब्यबहार गर्नु पर्छ। अन्य क्षेत्रमा सरसफाई गर्ने मान्छेलाई भनिने अंग्रेजी शब्द ‘जेनिटर’ भन्न पाइन्न स्कुलमा उसलाई। ‘कस्टोडियन वा हेड कस्टोडियन’ के हो त्यो भनेर उसको ‘रेफरेन्स’ गर्नुपर्छ। सबै शिक्षक वा प्रिन्सिपललाई सम्बोधन गर्न भनिने ‘मिस्टर वा मिस/मिसेस फलानो थर’ जस्तै ‘मिस्टर टेलर’ भनेजस्तै उसलाई नि प्रत्यक्ष बोल्दा जस्तै ‘मिस्टर विलियम्स’ नै भनेर बोलाउनु पर्छ।‘कस्टोडियन एप्रिसियसन्स वीक’ अर्थात् हाम्रो भाषामा भन्नुपर्दा ‘पिउन सम्मान सप्ताह’ हुन्छ स्कुलमा।
त्यो हप्तामा ‘स्टाफ रुम’मा सबै शिक्षक भेला भएर कस्टोडियनलाई बुके, गिफ्ट कार्ड, खानेकुराको ‘ट्रिट’ दिएर थप्पडी बजाउने गर्छन्। उसले नि गर्वका साथ दुई शब्द दिन्छ त्यहाँ। विद्यार्थीले उनको सम्मान र प्रशंसामा ‘म्यासेज कार्ड’ बनाएर पठाउँछन्। सिलिङमा जडित गर्भे माइकबाट सबै कोठामा सुनिने गरी हेड सरले आफ्नो अफिसबाट ‘कस्टोडियनको कडा मेहनतले हामीले सफासुग्घर ठाउँमा बसेर सिक्न पाएका छौं, उनीहरुलाई धन्यवाद’ भन्ने ‘म्यासेज’ पठाइरहन्छ।
स्कुल सकिएपछि उसका अरु कस्टोडियनहरुको ‘सिफ्ट’ हुन्छ। उनलाई विद्यालयका सबै सरसफाइका कामको अह्राइखटाइ गरेपछि उसको काम सकिन्छ। काम सकेपछि चट्टबाहिर निस्केर हेडसरले चढ्ने ब्राण्डकै उस्तै ‘वर्गविहीन’ कार हाँकेर कालो चस्मा पहिरेर घर जान्छ ऊ। साँझको सिफ्टमा काम गर्ने कस्टोडियनले राति ११ बजेसम्ममा स्कुलका कोठा, चोटा, डेस्क,बेञ्च जम्मै टल्काएर भोलिपल्टलाई तयार पारेर छोड्छन्।
स्कुल हेरी स्टाफ रुममा २० जनादेखि ७० जनाले दिउँसो लन्च गर्छन्। आफ्नो खाना खाने र आफ्नो जुठो भाँडा ‘डिस वासर’मा आफैंले भर्नुपर्छ। डिस वासर भरिएको छ भने हातैले माझेर आफूले चलाएका डाडु,पुन्यु,काँटा चम्चा, बटुका, गिलास यथास्थानमा राख्नु प्रत्येकको जिम्मेवारी हो।भरिएको डिसवासरमा साबुन भरेर चलाइदिन, धोएका भाँडा मिसिनबाट झिकेर कपको ठाउँमा कप र बोलको ठाउँमा बोल राख्न, टेबल पुछ्न र ‘किचन काउन्टर टप’ सफाचट पारेर भोलिका लागि तयारी अबस्थामा राख्न जम्मै स्टाफलाई एक हप्ताको ‘किचन ड्युटी’को पालो बाँधिएको हुन्छ। यो पालो हेड सरको पनि आउँछ, सहायक हेड सरको पनि आउँछ।कुनै दिन स्कुल सकिएपछि स्टाफ रुममा छिरियो भने हेड सर एउटा टालो भिजाएर टेबुल चम्काइरहेको, माइक्रोवेभको फोहोर सफा गरिरहेको, डिस वासरबाट भाँडा झिकेर थन्क्याइ रहेको देखिनु सामान्य दृश्य हो यता।
स्टाफ रुममा ‘तिम्री आमा छैनन् यहाँ काम गर्ने, आफ्नो फोहोर आफैं सफा गर’ लेखिएको पोस्टर राखिएको हुन्छ। छेवैमा ‘किचन ड्युटी’ मा हुनेले के के गर्नुपर्छ भन्ने कुराको सुची टाँसिएको हुन्छ। त्यहाँ उल्लेख भएको काम गर्नु विद्यालयका शिक्षक र हेड सरहरुको कर्तब्य हो कस्टोडियनको होइन।यहाँका स्कुलमा कसैलाई चिया/कफी पकाएर हातमा ल्याइदिने, कुर्सीमा बसीबसी चिसो पानी ‘अर्डर’ गर्ने भन्ने हुन्न। पानीको जार ‘डिस्पेन्सर’ मा घोप्टो परिरहेको हुन्छ सधैं तिर्खा लागे आफैं पानी थापेर खाऊ।कफी बनाउने मिसिन, क्रिम, चिनी त्यहीं हुन्छ खान मन लागे आफैं बनाएर खाऊ।
एउटा अनुभव सुनाउँदै बिदा मागूँ।
शिक्षक तालिमका दिन ६०/७० जनाले खाएका जुठा थाल र पानीका कपभेला पार्दै ‘कन्टेनर’ मा थुपार्दै गर्न थाल्यो हेड सर। ‘ओ, यु टेक दम ?’ भन्दै कुनै अचम्म नमानी शिक्षकले आफ्नो जुठो प्लेट हेड सरलाई दिए। मैले मेरो पिउन प्रथाको संस्कारिक धकले गर्दा हेड सरलाई जुठो प्लेट उठाउन के दिनु भन्ने ठानेर ‘म आफैं फाल्छु मेरो प्लेट’ भनें।‘लुक, यम इज नट गिभिंग मि इभन हिज ट्र्यास प्लेट’, भनेर सबैको ध्यान खिच्यो।छेवैकी साथीले ‘यम डोन्ट बि सो ग्रिडी’ भनेर थपी र म ‘फ्रेन्ड्ली’ नै सही हाँसोमा उडाइएँ।
अब पिउनलाई प्रथामै राख्ने कि मर्यादित र तोकिएको मात्रै काम गर्ने सम्मानित काम र पदमा बिकास गर्ने तपाईं हाकिमको जिम्मा। संस्कार र संस्कृति हेरेर र परेर सिकिन्छ। राम्रा कुरा त जोबाट सिके नि भयो।‘पश्चिमा संस्कृति’ भनेर ‘स्टेरियोटाइप’ गरेर उडाए नि भयो।