मानन्धर, राणा र महर्जनवोस्टनमा सम्मानित

तस्बिरः बिएल

म्याराथनका कीर्तिमानी धावक तथा दक्षिण एसियाली खेलकुदमा तीन पटक लगातार स्वर्णपदक विजेता वैकुण्ठ मानन्धर, पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रकाश राणा र वोस्टन म्याराथन २०१९ मा सहभागी धर्म महर्जनलाई यहाँ सम्मान गरिएको छ ।

ग्रेटर वोस्टन नेपलिज कम्युनिटी (जीवीएनसी) ले शनिबार नयाँ वर्षको उपलक्ष्यमा आयोजित वैशाखी साँझ २०७६ को अवसरमा उनीहरु तीनैजनालाई सम्मान गरेको हो। जीवीएनसीका अध्यक्ष अर्जुनजंग कुँवरले उनीहरुलाई खादा र सम्मानपत्र प्रदान गरे।

मानन्धरलाई उनले नेपालको म्याराथन खेल क्षेत्रमा पुर्‍याएको उच्च योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ। मानन्धरले चारपटक ओलम्पिक खेलमासमेत सहभागिता जनाएका थिए।

त्यसैगरी राणालाई ब्याडमिन्टन खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुर्‍याएको उच्च योगदानको कदर गर्दै सो प्रमाणपत्र प्रदान गरिएको हो। लामो समयदेखि वोस्टनमा नै बसोवास गर्दै आएका राणा नेपालको ब्याडमिन्टन खेलको पहिलो पेशेवर खेलाडी हुन्।

उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा थुप्रै पदक हात पारेका छन्। त्यसैगरी महर्जनलाई वोस्टन म्याराथनमा सहभागिता जनाएर नेपालको नाम राख्न सफल भएकोमा सो सम्मान गरिएको जनाइएको छ।

उक्त अवसरमा धावक मानन्धरले स्थापना गरेको वैकुण्ठ मानन्धर खेलकुद नेपाल नामक संस्थाको सहयोगका लागि पूर्व अन्तर्राष्ट्रिय सफ्ट टेनिस खेलाडी एवं जीवीएनसीका सल्लाहकार किरण खड्काले गरेको प्रयासबाट केही रकम सहायतास्वरुप धावक मानन्धरलाई प्रदान गरिएको थियो।

छोटो प्रयासबाट गरिएको यो सहयोग उनले खेलाडीहरुको लागि खर्च गर्ने जानकारी दिए। ‘म यो रकम नेपालको विकट गाउँका खेलाडीको हितमा लगाउँछु’, मानन्धरले भने। उनीहरु शुक्रबार नेपाल फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2019-04-19 08:42:05

प्रतिकृया दिनुहोस्