अमेरिकाको कोलोराडोमा नेपाल डे परेड: जहाँ भए पनि यो मन त नेपाली हो

तस्बिरः बीएल

संसारभर छरिएर रहेका नेपालीले आफ्नो जन्मभूमीको सम्मानमा आआफ्नो सुविधाअनुसारको समयमा नेपाल डे परेड आयोजना गर्दै आएका छन्।यही क्रममा अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा नेपाल डे परेडको आयोजना गरिएको छ।

बोल्डर सिटी एन्ड काउन्टीले सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपालीको नयाँ वर्षको उपलक्ष्यमा नेपाल डे परेड आयोजना हुने औपचारिक घोषणा गरेपछि हरेक वर्ष 'नेपाल डे परेड' आयोजना हुँदै आएको छ।

स्थानीय नेपाली संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालले अर्को नेपाली संस्था हेल्पिङ ह्याण्डको सहयोगमा नेपालीहरूको ब्यापक सहभागितामा नेपाल डे परेड आयोजना गरेको हो। नेपाली भेषभूषा र पहिरनमा सजिएका सहभागीहरूले नेपाल र अमेरिकाको झन्डा, ह्याप्पी न्यु यियर, यु-एस नेपाल फ्रेन्डसिप लेखेका प्लेकार्ड र ब्यानर बोकेर नाँच्दै र गाउँदै नगर परिक्रमा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत र विशेष अतिथि बोल्डर नगरकी मेयर सुजन जोन्स थिए।

प्रमुख अतिथि महतले नेपालीको शिर उच्च पार्ने कार्यक्रममा सहभागी हुन पाएको गौरवान्वित भएको बताउँदै आगामी वर्षदेखि एकै दिन एकै ठाउँमा नेपाल डे मनाउन सुझाव दिएका थिए।

बोल्डर नगरकी मेयर सुजन जोन्सले नगरबासी नेपालीलाई नयाँ वर्षको शुभकामना दिदै कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेकी थिइन्।उनले आफ्नो सहरले विविधताको सम्मान गर्दै यही विविधता नै सहरको गहना भएको बताइन्।

आयोजक संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले सहभागी सबैलाई धन्यवाद दिए। कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा अगुवाहरूले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा ग्लोबल भुटनिज कम्यूनिटी अफ कोलोराडोको संयोजनका स्थानीय भुट्निज नेपालीको पनि उल्लेखनीय सहभागिता थियो। 

प्रकाशित मिति: : 2019-04-15 23:51:21

प्रतिकृया दिनुहोस्