नानीरामको नेपाल सपना : विदेशमा जति गरे पनि आखिर त्यो स्वदेश हैन

तस्बिरः बिएल

काठमाडौं जीतपुर फेदीका नानीराम फुँयालले सन् १९९६ मा एसएसलसी पास गरे।त्यही सालदेखि डिल्लीबजारस्थित ईआईसी इन्टरनेश्नल क्लवमा काम गर्न थालेर जागिरे जीवन सुरू गरे।जम्माजम्मी दुई वर्ष काम गरे होला उनले त्यहाँ।

त्यही काम गर्दै थिए, उनको दिमाखमा बिदेश जाने सपना सवार भयो। त्यसपछि उनी बिदेश पठाउने मेनपावर एजेन्सी खोज्दै हिडे।एउटा एजेन्सी भेटे र त्यहीबाट दुबईको एक रेष्टुरेण्टमा एप्लाई गरे।उनीसँगै दुईसयले एप्लाई गरेका थिए।तर, उनीसहित तीनजनाले मात्र नाम निकाले।

सन् २००० मा नानीराम दुबई गए।त्यहीको एक चेन रेष्टुरेण्ट क्याराभानमा काम सुरू गरे।त्यतिबेला उनको तलव पाँचसय दिराम थियो भने, ओभरटाइमसमेत गरेर महिनाको सात/आठसय दिराम जम्मा पार्थे।

दुई वर्ष दुबई बसेपछि अलिकति पैसा जम्मा भयो। त्यसपछि नेपालमै केही गर्छु भन्ने लाग्यो र उनी सन २००२ को फेव्रुअरीमा नेपाल फर्के।

नेपाल आएपछि होटल म्यानेजमेन्ट पढ्न क्याम्पस भर्ना भए।यता अध्यन पनि गरे उता खाद्यान्नको होलसेल ब्यापार पनि सुरू गरे।देशमा सशश्त्र द्वन्द चलेको थियो, बिस्तारै उनको ब्यापार घाटामा जान थाल्यो। पढाइको एक चरण पनि पूरा भएको थियो। उनलाई देशको अवस्थाले दिक्क लगायो र फेरि उनी दुबई नै फर्कने निदोमा पुगे।

सन् २००६ मा भिजिट भिसामा उनी दुबई हानिए।पहिलाको जस्तो दुबईमा उनको लागि काम तयार थिएन । अहिले जस्तो काम पाउँन सहज पनि थिएन त्यतिबेला।झण्डै एक महिनापछि बल्लतल्ल एक अमेरिकन बेसको केमिकल कम्पनीमा काम मिल्यो। हेल्परबाट उनको जागिर फेरि सुरु भयो। उनी साँढे पाँच वर्षसम्म त्यही कम्पनीमा काम गरेर साइट सुपरभाइजरसम्म बने।

नानीरामले काम गर्ने कम्पनीले सयभन्दा बढी आइटमका केमिकल बनाउथ्यो।उनको कम्पनीले केमिकल बेच्ने मात्र हैन, कसरी प्रयोग गर्ने भनेर सिकाउने पनि गर्थ्यो।सिकाउने बेला उनी पनि सँगै जान्थे।

तस्बिरः बिएल

'हामीसँग सयभन्दा बढी प्रोडक्ट हुन्थे, दुवईको ठुला कम्पनीलाई दिन्थ्यौ।विश्वको अग्लो टावर बुज्र खलिफा, दुबई मल, दुबई मेटे, पामजुमेरा र इमिरेट्स भिल्लालगायतका ठुला संरचना बनाउदा हाम्रै कम्पनीको केमिकल प्रयोग भएको हो, हेर्दाहेर्दै त्यस्तो संरचना बन्यो, देख्दा पनि कहाली लाग्छ', पुरानो कुरा समझदैं नानीराम भन्छन्।

लेबरबाट सुरु भएको जागीर ५ तहमाथि पुग्यो, अनि एकहजार दुईसयबाट सुरु भएको तलव चारहजार पुग्यो। तैपनि नानीराम खुशी थिएनन्। कारण त्यो उनको कहरको काम थियो, रहरको हैन। उनी होटल लाइनमा काम गर्न चाहन्थे।

केमिकल आइटम बेच्दै थिए, हिल्टन होटलमा भ्याकेन्सी खोलिएको थाहा पाए।उनले तुरून्तै एप्लाई गरे, नाम पनि निस्कियो।

मन लागेको लाइनमा काम पाएपछि उनले चारहजारको जागीर छोडेर एकहजार आठसयको जागीर सुरू गरे। उनको काम भनेको बिमानस्थलबाट पाहुना रिसिभ गर्ने र उनीहरूलाई सीटी टुर गराउने थियो।

काम सुरू गरेको ६ महिना मात्र भएको थियो, फेरि उनको भाग्य चम्क्यो, उनलाई एचएसबीसी बैकमा काम गर्ने अवसर आयो।उनी रोजाइको होटल लाइनको काम छाडेर बैंकतर्फ लागे।सन २०१२ बाट एचएसबीसी बैकको ट्रान्सपोटेसन बिभागको प्रमुख भएका थिए नानीराम। ६ हजार दिरामबाट सुरु भएको उनको तलव २० हजार दिराम पुगेको थियो।

अब उनीसँग केही गर्ने रकम पनि जम्मा भएको थियो। त्यसपछि उनलाई आफेनो रोजाइको पेसा गर्ने जागर चल्यो। अनि उनले सन २०१८को अन्ततिर जागिर छाडेर रेष्टुरेण्ड खोले।

होटल लाइनमा काम गर्न रुचाउने नानीरामले दुबईको अलाइनमा १७ वर्षदेखि चल्दै आएको चाइना टाउन भन्ने होटल किने। पहिला त्यहाँ चाइनिज खाने परिकार मात्र पाइन्थ्यो, तर हिजोआज टिपिकल नेपाली खाने परिकार पाउन थालेपछि चाइनाटाउन नेपाली टाउनजस्तै भएको छ।

'पहिला यहाँ चाइनिज परिकार मात्र हुन्थ्यो, क्यानडामा बस्ने एक नेपालीले चलाउदै आएका थिए, मैलै लिए त्यसपछि नेपालीलाई प्राथमिकता दिएको छु', नानीराम भन्छन्। नेपालीलाई घरको अनुभूति होस् भनेर त्यही अनुसारको सेवा दिदै आएको बताउँने नानीराम भन्छन्, 'त्यसका लागि प्राय: खानेकुरा नेपालबाटै मगाउने गरेको छु।'

नानीराम नेपालमा पनि केही गर्न चाहन्छन्। तर, उनलाई नेपालमा लगानीको ग्यारेन्टी छैन भन्ने लाग्छ। दु:ख गरेर कमाएको सम्पतिको माया हुँदोरहेछ भन्दै नानीराम भन्छन्- ' जे भए पनि अन्तिममा त आफ्नै देश फर्केर केही गर्ने हो। त्यसका लागि कुनै दिन त वातावरण बन्ला नि त।'

नानीराम त्यही दिनको प्रतीक्षामा छन्।

प्रकाशित मिति: : 2019-04-12 11:12:09

प्रतिकृया दिनुहोस्