खुम्बुक्षेत्रमा किन घुम्दैछन् क्यानेडियन राजदूत ?

तस्बिरः राजदूत नादिर पटेल

सर्वोच्च शिखर सगरमाथाको सम्मोहनले कसलाई तान्छ ? हिमालका काख चहार्दै मज्जा लिन कसलाई मन लाग्छ ?

पहिले पहिले प्रायःको जवाफ हुन्थ्यो, ‘पर्वतारोहीलाई।’तर, हिमाली क्षेत्र हिँड्ने, उचाईसँग पौंठेजोरी खेल्ने र अग्ला हिमालको फेदमा आफूलाई उभ्याउने रहर पर्वतारोहीमा मात्र सीमित रहेन।

नत्र, अहिले पर्वतारोहण र डकुमेन्ट्री निर्माणमा ख्याति कमाएका एलिया साइक्ली सगरमाथाको शिरतिर उक्लिरहेका बेला नेपालका लागि क्यानेडियन राजदूत नादिर पटेल बेसक्याम्पतिर लम्किरहने थिएनन्।

यसपल्ट पर्वतारोही एलिया तेस्रोपल्ट सगरमाथा आरोहण गर्नेक्रममा छन् भने राजदूत पटेल पहिलोपल्ट बेसक्याम्प पुग्ने तरखरमा। भलै, दुबै क्यानेडियन नागरिक भए पनि उनीहरुलाई आफूहरु एउटै हिमालको काखमा पाइला चालिरहेको औपचारिक जानकारी नहुनसक्छ ।

संसारका थुप्रै हिमालमा पाइला पुर्याइसकेका साइक्लीले यात्रामा साथ दिने शेर्पादेखि बाटामा भेटिने आरोहीहरुको सामाजिक सञ्जालमा जसरी सचित्र विवरण पस्किरहेका हुन्छन्, राजदूत पटेल पनि दिन नबिराई खुम्बु क्षेत्रको लोभलाग्दो हिमाली दृश्य सार्वजनिक गरिरहेकै छन्।

‘सात बर्षअघि मेरी जीवनसाथीले खुम्बु क्षेत्रमा गरेको पैदल यात्राबारे चर्चा गर्दा म पटक–पटक लोभिन्थें’ पटेलले यात्रा थाल्नुअघि भनेका थिए, ‘यसपल्ट बल्ल साइत जुर्यो र त्यसतर्फ जाँदैछु।’ सन् २०१२ मा उनकी जीवनसाथी जेनिफर ग्राह्मले खुम्बु क्षेत्रको फन्को मारेकी रहिछिन्।

शुक्रवारदेखि लुक्ला हुँदै खुम्बु क्षेत्रमा पैदल यात्रा गरिरहेका पटेल नेपालका लागि मात्र क्यानडाका राजदूत होइनन्, उनी दिल्लीस्थित क्यानेडियन उच्च आयोगका प्रमुख र भुटानका लागि समेत राजदूत हुन्।क्यानडा–भारत सम्बन्ध व्यापार र आप्रवास दृष्टिले बृहत छ, त्यसैले जिम्मेवारी पनि ठूलै।

पाँच बर्षदेखि दिल्ली रहेका उनले त्यहाँको क्यानेडियन उच्च आयोगबाट नेपाल र भुटानका लागि पनि राजदूतको भूमिका निर्वाह गर्दै आएका छन्।दिल्लीस्थित क्यानेडियन उच्च आयोगले नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर राजदूत पटेलको खुम्बुयात्रा मिलाएको हो।जसबाट ‘नेपालले सन् २०२० मा मनाउन लागेको पर्यटन भ्रमण बर्षका लागि दरिलो सहयोग पुग्ने’ विश्वास उनले राखेका छन् ।

‘दुई देशबीच हुने कैयौं कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण बर्ष २०२० का लागि यो पदयात्रा उपयोगी हुने मेरो विश्वास छ’ लुक्ला लाग्नुअघि पटेलले भनेका थिए, ‘मलाई र मेरो परिवारलाई नेपाल मन पर्छ । यहाँ घुम्ने कुराले सधैं उत्साहित हुन्छौं।’ त्यसअघिको पत्रकार सम्मेलनमा पनि उनले भ्रमण बर्ष २०२० लाई सघाउन खुम्बु क्षेत्रमा पैदल यात्रा गर्न लागेको बताएका थिए।

यात्राको चौथो दिन राजदूत पटेल थामे हुँदै खुन्दे पुगेका छन्। तीन हजार आठ सय ४० मिटरको त्यो क्षेत्र पैदल यात्रा गर्दा भेटेका हिमाली बस्ती, खोलानाला, हिमश्रृंखला, बाटाघाटा र मानिसलाई उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन्।

आधार शिविरतर्फ लाग्नुअघि उनले आफू सम्मिलित सानो टोली र लुक्ला आसपासका तस्विर सार्वजनिक गरेका थिए। जहाँ उनले नेपाल–क्यानडा सम्बन्ध सुमधुर रहेको जनाउँदै ‘अझ साँच्चिकै उचाईमा पुग्ने’ लेखेका छन्।

लुक्लाबाट फाक्दिङ हुँदै नाम्चे पुगेका उनको टोली दुई सातासम्म खुम्बु क्षेत्र रहने जनाइएको छ। उनी नाम्चेबाट त्याङबोचे, पाङबोचे, फेरिचे हुँदै लोबुचे, गोरकसेप भएर आधार शिविर पुग्नेछन्।

क्यानेडिन दातृनिकायको सहयोगमा खुम्बु क्षेत्रमा विकासका काम भइरहेको उल्लेख गर्दै राजदूत पटेलले तिनको अवलोकन गर्नु पनि यात्राको उद्देश्य रहेको बताएका थिए। त्यसक्रममा उनले क्यानडाको सर एडमण्ड हिलारी फाउण्डेशनको सहयोगमा पुननिर्मित थामेको एउटा विद्यालय भ्रमण गरिसकेका छन्। जुन विद्यालय महाभूकम्पमा भत्किएको थियो ।

सगरमाथामा पहिलोपल्ट पाइला पुर्याएका तेन्जिङ नोर्गे शेर्पाको जन्मथलो थामे पुग्न पाएकोमा उनले गर्व गरेका छन्। खुम्बु क्षेत्रको यात्राक्रममा खिचिएका तस्विर र भिडियो क्लिप सामाजिक सञ्जालमार्फत मिडियामा पुर्याउने बताएका राजदूत पटेलले यसले नेपाल–क्यानडा सम्बन्ध थप दरिलो हुने विश्वास गरेका छन्।

सन् १९८२ मा लरी क्रिस्लेटले पहिलोपल्ट शिखरमा पाइला राखेयता झण्डै ८० जना क्यानेडियनले सगरमाथा आरोहण गरिसकेका छन्।बर्षमा झण्डै १५ हजार क्यानेडियनले नेपाल घुम्दै आएको अवस्थामा आफ्नो खुम्बु क्षेत्रको पैदल यात्रा दुई देशबीचको सम्बन्ध विकासमा महत्वपूर्ण हुने राजदूत पटेलले दोहोर्याइ रहेका छन्।

दिल्लीको कार्यकाल सकिनै लाग्दा राजदूत पटेल खुम्बु क्षेत्रको यात्रामा निस्किएका हुन्।राजदूतका रुपमा उनको यो अन्तिम नेपाल भ्रमण हुनसक्छ। सन् २०१४ देखि दिल्लीस्थित क्यानेडियन उच्च आयोग सम्हालिरहेका पटेल त्यसअघि सांघाईस्थित क्यानेडियन महावाणिज्य दूतावासमा थिए।

बाल्यकालमा गुजरातबाट अभिभावकसँग क्यानडा बसाईं सरेका पटेल अन्टारियोको क्याम्ब्रिजका स्थायी बासिन्दा हुन्। उनले न्युयोर्क युनिभर्सिटीबाट एमबीए गरेपछि सन् १९९० मा क्यानडाको सरकारी सेवा प्रवेश गरेका थिए।

लुक्ला जानुअघि राजदूत पटेल काठमाडौंमा क्यानेडिन दातृ निकाय ‘इन्टरनेशनल डेभ्लपमेन्ट रिसर्च सेन्टर’ (आइडीआरसी) को बैठकमा सहभागी भएका थिए।साथै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र क्यानडाका लागि नवनियुक्त राजदूत भृगु ढुंगानासँग पनि भेटवार्ता गरेका थिए।

क्यानडाले काठमाडौंको कन्सुलर कार्यालयसमेत बन्द गरेको र दिँदै आएको आर्थिक सहयोग पनि घटाएको अवस्थामा यसपल्ट राजदूत पटेलको भ्रमणलाई महत्वपूर्ण मानिएको छ। नेपालका लागि क्यानडाका अवैतनिक दूत डा. बुद्ध बस्नेतले दुई देशबीच यस्ता उच्चस्तरीय भ्रमणमा जोड दिइएको बताइसकेका छन्।

प्रकाशित मिति: : 2019-04-10 00:08:54

प्रतिकृया दिनुहोस्