रवि लामिछानेको साथले सुरू भयो रास्कोटमा सामुदायिक अस्पताल

तस्बिरः बीएल

कालिकोटको दुर्गम क्षेत्रमा रहेको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका, स्थानीय समाजसेवी तुलराज सिम्खडा र पत्रकार रवि लामिछानेको सक्रियतामा निर्माण भएको सामुदायिक अस्पताल आइतबारदेखि सञ्चालनमा आएको हो।उद्घाटनका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

अस्पताल उद्घाटन कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले पत्रकार लामिछानेको सक्रियतामा सुरु भएको अभियानमा सबैले साथ दिएर अस्पताल सञ्चालनमा आएको बताए। सामान्य बिरामी भएमा पनि दुई दिनको पैदल हिँडेर सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भन्दै अस्पताल सञ्चालनका लागि सहयोग गर्ने सबैलाइ नगरप्रमुख बरालले धन्यवाद दिए । ​

सामुदायिक अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ संकलन भइसकेको अस्पताल निर्माणका अभियन्ता तथा अस्पतालका अध्यक्ष तुलराज सिम्खाडाले जानकारी दिए। उनले भने- अस्पताल बनाउन नगरपालिका र रवि लामिछाने फाउण्डेशनले सहयोग गरेका हुन्।

सामुदायिक अस्पताल निर्माणका लागि सहयोग गरेका अभियन्ता तथा सञ्चारकर्मी रवि लामिछानेले अस्पताललाई नेपालको दुर्गम क्षेत्रको नमूना डिजिटल अस्पतालका रुपमा विकास गरिने बताए। उनले अस्पताललाई राजनीतिभन्दा माथि राख्न आग्रह गर्दै आफ्नो सम्झेर संरक्षण गर्न अनुरोध पनि गरे।

अस्पतालमा हाल एक जना एमबीबीएस डाक्टर, एचए, स्टाफनर्स, अहेव, अनमी, ल्याव असिस्टेण्ड र सहयोगी गरी ६ जना कर्मचारी कार्यरत रहनेछन्।तत्काल शल्यक्रियासहितका सेवा दिन नसकिने तर सामान्य उपचार भने गरिनेछ।गम्भीर खालका बिरामीलाइ पूर्ण रुपमा अस्पतालको पूर्वाधार निर्माण नहुँदासम्म रेफर गरिने छ।

गाउँमै अस्प्ताल सञचालन भएपछि स्थानीय नागरिक खुशी भएका छन् । १५ शैयाको डिजिटल अस्पताल सञ्चालनमा आएसँगै उपचार अभावमा मृत्युवरण गर्नुपर्ने दुर्गम क्षेत्रका नागरिकले स्थानीय क्षेत्रमै स्वास्थ्य सुविधा पाउने विश्वास गरेका छन्।

प्रकाशित मिति: : 2019-04-08 19:36:56

प्रतिकृया दिनुहोस्