क्यानेडियनलाई यसरी पनि चिनाईंदैछ नेपाल

तस्बिरः बिएल

क्यानडाको ‘दि ग्लोब एण्ड मेल’ पत्रिकामा झण्डै ७ महिनाअघि नेपालसम्बन्धी पूरै एक पेज सामग्री प्रकाशित भयो । उक्त पत्रिकाको २९ सेप्टेम्बर २०१८ को अंकमा ‘फ्लोरिसिङ इन आइसोलेसन्’ शीर्षकमा छापिएको सामग्री इलामलाई केन्द्र बनाई पूर्वी नेपालका बारेमा लेखिएको थियो ।

क्यानडामा धेरै बिक्री वितरण हुने र बढी आधिकारिक मानिने ‘दि ग्लोब एण्ड मेल’ को उक्त प्रिन्ट संस्करण कतिले पढे या पढेनन्, आफ्नो ठाउँमा छ।तर, ३३ बर्षदेखि क्यानडामा पत्रकारिता गरिरहेकी र उक्त पत्रिकाका लागि फिचर लेख्न कहलिएकी गेल म्याक्डोनाल्डको बाइलाइनमा प्रकाशित त्यो नेपाल सामग्री खँदिलो थियो।

‘दि ग्लोब एण्ड मेल’ मै २६ बर्षदेखि कार्यरत म्याक्डोनाल्डले ‘फ्लोरिसिङ इन आइसोलेसन्’ नामको उक्त फिचर नेपाल नघुमी लेखेकी थिइनन्।लेख्नुअघि उनी काठमाडौं हुँदै इलाम पुगिन् र पूर्वी नेपाललाई नजिकबाट नियालिन्।इलाममा उनी करफोकस्थित लेखक/पत्रकार केदार शर्माको चियावारी बीचको घरमा बसेकी थिइन् ।

 झण्डै त्यति नै बेला क्यानडाकै फ्रेन्च दैनिक ‘ले जर्नल डे मन्ट्रियल’का पत्रकार मार्क आन्ड्रे लेमिक्स चाहिँ कर्णालीको मुगुस्थित रारा तालको फन्को मार्दैथिए। फ्रेन्चभाषी बहुल क्युबेकस्थित मन्ट्रियलबाट प्रकाशित हुने उक्त पत्रिकामा फिचर लेख्न उनी पनि कहलिएका पत्रकार हुन्।

क्यानडाका कहलिएका दुई सञ्चारकर्मी एकै समयमा त्यसरी नेपाल घुम्नु संयोग थिएन। राजधानी अटोवास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर उनीहरुलाई नेपाल पठाएको थियो।बोर्डले खटाएका गाइडको सहयोगमा उनीहरु पूर्वी र पश्चिम नेपाल घुम्नुको एउटै उद्देश्य थियो, क्यानेडियन मिडियामा नेपाल समेट्नु।

‘पर्यटन बोर्डसँग समन्वय गरेर दूतावासले गतबर्ष जुनमा त्यसरी दुई क्यानेडियन सञ्चारकर्मी नेपाल पठाएको थियो’ अहिलेका कार्यवाहक राजदूत प्रकाश अधिकारीले भने, ‘नेपालबारे यहाँका पत्रपत्रिकामा लेख/रचना प्रकाशित गरी क्यानेडियन नागरिकलाई नेपाल घुम्न प्रेरित गर्नु यसको मुख्य उद्देश्य हो ।’

नेपालबाट फर्केपछि म्याक्डोनाल्डले इलामको चियावारी, खेती प्रणाली, पूर्वाधार विकास, मानिसको जीवनशैली आदि समेटेको ‘फ्लोरिसिङ इन आइसोलेसन्’ शीर्षकको फिचर ‘दि ग्लोब एण्ड मेल’को प्रिन्ट संस्करणमा छापिएको थियो, अनलाइन संस्करणमा अझै उपलव्ध छ।आन्ड्रे लेमिक्स लेख्ने क्रममा रहेको बताइएको छ।

दूतावास र बोर्डको खर्चमा क्यानेडियन सञ्चारकर्मीले नेपाल घुमेको यो पहिलोपल्ट होइन।अघिल्लो बर्ष सन् २०१७ मा पनि यसैगरी ती सञ्चारमाध्यमका दुई सञ्चारकर्मीले नेपाल घुमेका थिए।र, सन् २०१९ मा पनि सञ्चारकर्मीलाई उसैगरी नेपाल घुम्ने चाँजो मिलाएर यताका पत्रपत्रिकामा सामग्री छपाउने योजना छ।

पहिलोपल्ट पठाइएका सञ्चारकर्मीमध्ये ‘दि ग्लोब एण्ड मेल’की वेन्सी लियुङले पोखरा क्षेत्र घुमेर ‘नेपाल्स रेस्टोरेसन् अफ रिचेज्’ शीर्षकमा महाभूकम्पपछि तङ्ग्रिँदै गरेको नेपाली पर्यटनबारे लामो लेख लेखेकी थिइन्। ‘ले जर्नल डे मन्ट्रियल’का बेन् पेलोस्सीले पनि नेपाल घुमेर फ्रेन्ज भाषामा सामग्री पस्किएका थिए।

नेपाल साहसिक पर्यटनका लागि कहलिएको र क्यानेडियनहरु पर्वतारोहणमा रुचि राख्ने भएकाले क्यानडामा नेपाल प्रचार गर्नु महत्वपूर्ण हुने धारणा राख्छन् कार्यवाहक राजदूत अधिकारी। यसै प्रसंगमा उनी भन्छन्- 'तत्कालीन राजदूत कालीप्रसाद पोखरेलको अगुवाईमा क्यानेडियन सञ्चारकर्मीलाई नेपाल घुमाउने क्रम त्यसै सिलसिलामा सुरु भएको हो।'

तस्बिरः बेनुप

पर्यटन विभागको एक तथ्यांकअनुसार हालसम्म झण्डै ८० जना क्यानेडियनले सगरमाथा आरोहण गरेका छन् । अरु थुप्रैले अन्य हिमाल चढेका छन्।हिमाल मात्रै होइन, अरु गन्तब्यप्रति पनि उनीहरुको आकर्षण बढाउन क्यानेडियन सञ्चारमाध्यममा नेपालका पर्यटकीयस्थलको थप प्रचार गर्नु आवश्यक रहेको अधिकारी बताउँछन् ।

‘यताका नाम चलेका पत्रपत्रिकामा छापिएका सामग्री देख्नासाथ क्यानेडियन नेपाल घुम्छन् भन्ने होइन’ अधिकारी भन्छन्, ‘तर, त्यसले घुम्न चाहनेका लागि एक किसिमको प्रभाव चाहिँ पक्कै पार्छ, पढेकामध्ये कोही न कोही त पक्कै जालान्।’कतिपय क्यानेडियनले त्यसरी प्रकाशित सामग्रीबारे पछिसम्मै चर्चा गरेको उनको अनुभव छ।

क्यानेडियनलाई नेपालप्रति आकर्षित गराउन मन्ट्रियलदेखि टोरन्टो, अटोवा, क्याल्गेरी, एडमण्टन, भ्यान्कुभरसम्मै दूतावासले विभिन्न महोत्सव गरिसकेको छ।नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ/संस्थाले पनि यी र अन्य शहरमा नेपाल चिनाउने महोत्सव गर्दै आएका छन्।जसको अवलोकन गर्न बाक्लै संख्यामा क्यानेडियन पनि आउने गरेका छन् ।

नेपाल घुम्न चाहने क्यानेडियनले अटोवास्थित दूतावासबाट भिसा पाउँछन्।कतिपयले सिधै नेपाल गएर एअरपोर्टमै अन–अराइभल भिसा पनि लिने गर्छन्।पर्यटन विभागका अनुसार, त्यसरी सन् २०१७ को अन्त्यसम्म नेपाल घुम्ने क्यानेडियनको संख्या १५ हजार नाघिसकेको छ।

प्रकाशित मिति: : 2019-04-08 10:41:15

प्रतिकृया दिनुहोस्