कर्णालीका कथित दलितहरूको कथा
जीवन के हो? यो प्रश्नको उत्तर आ-आफ्ना भोगाइ अनुसारका छन्। गर्भाधानको पहिलो प्रहरबाट नमरुज्जेल जे जे बित्छन्, त्यही नै जीवन हो। त्यसैले जीवन अनुभूतिहरुको संग्रह हो।
'सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन...', त्यत्तिकै तारादेवीले गाएकी होइनन् होला।
१५ वर्षको कलिलो उमेरमा एउटा केटाले नजर लगायो। किशोर अवस्थामा काउकुति लाग्यो। जिउ सिरिङ्ग भयो। निद्रा लुटेर लग्यो। सोच्ने बनायो। के गरौं गरौं भयो? साथी-संगीले केटो राम्रो छ भने। चक्कर चल्यो। माया बस्यो। केटाको आउजाउ बढ्यो। उठबसले गति लियो। (१५ वर्षमाथि बिहेको लागि उपयुक्त उमेर हो। त्योभन्दा कम उमेरमा हुने बिहेलाई पनि स्वभाविक मानिन्छ। )
प्रेमको डोरी कस्सियो। केटाको मायाले च्याप्प गुलाबी काँडाले झैं समायो। सम्बन्ध फूल जस्तो भयो। छाति धक्क फुलेर आयो। वसन्तको वहार पनि फिक्का बन्यो। पाकेको फल खाएको राम्रो, काँचैमा माया लाएको राम्रो भनेझैं।
केटो राम्रो। केटीको हेर्ने आँखा राम्रा। सुन्दरता हेर्नेहरुका आँखामा हुन्छ। होचो कद, बाटुलो अनुहार, ठूला आँखा, चम्किलो छाला। सबथोक मिलेको साह्रै राम्रो। फलेको चामलजस्तो। खोस्याएको ओखर जस्तो।
केटी पनि उत्तिकै राम्री। बलेको दियो जस्ती। उभ्याएको देवलजस्ती। दुबैका आँखा राम्रा। नजर राम्रा। मन सफा।
केटोले भागौं भन्यो। साथीहरुले मौका छोप भने। मनले खाएको मान्छेसँग भाग्नलाई किन आइतबार कुर्नू?
त्यसरी भगाएर ल्याउने जुम्ला बोहरागाउँका दलजित कामी हुन्। भागेर आउँने जुम्ला कोटिलाकी रिउली कामी। दुईघण्टाको दुरीलाई उनीहरुले शुन्यमा झारे। रिउली र दलजितको कलिलो प्रेम बिहेमा परिणत भयो। घरबार सुरु भयो। जीवन रंगिन भयो। संसार जितेझैं खुशी भयो मन।
दिन बित्दै गए। गुजारा चलिरहेको थियो। बिहे भएको सात महिनामा घरमा खुशी थपियो। छोरा जन्म्यो। हुर्क्यो। दुई वर्षको भयो। त्यसैबेला ऊ बिरामी पर्यो। जति उपचार गरेपनि औषधि लागेन। रोग पहिचान भएन। अन्ततः ऊ मर्यो।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
रिउलीलाई आज लाग्छ दुःखका दिन त्यतिबेलै सुरु भएका रहेछन्। 'जराको जिलो रैरह्यो। टुप्पाको फल मासियो। ' उसको यादमा घाट किनारमा गएरै लामो समयसम्म रोएर दिन कटाइन्।
गाउँघरका सबैले ढाडस दिए। भरोसा दिए। समय बदलिदै गयो। याद पुरानै आउँन थाल्यो। चुरोटको अमल बस्यो। पीडा भुलाउन चुरोटले सहयोग गर्यो।
एक वर्षपछि अर्को छोरो जन्मियो- सुनिल। अहिले कक्षा ८ मा पढ्छ ऊ। स्कुलकै राम्रो विद्यार्थी हो। जहिले प्रथम हुन्छ। छोरोको पढाइले रिउलीलाई सन्तोष मिलेको छ। स्कुलका मास्टरहरु उसको तारिफ गर्छन्। त्यो सुनेर रातभर निन्द्रा लाग्छ।
त्यसको चार वर्षपछि अर्को छोरो पनि जन्मियो। दुई छोरा भए। दुई छोरा स्याहार्दा मरेको छोराको पीडा कम हुँदै गयो। तर, कम भएको पीडाले पीडामाथि हुने पीडालाई दबाउन सकेन।
दलजितको कुनै नोकरी थिएन। थोरै जग्गा जमिनबाट नै गुजारा चलेको थियो। गुजारा के हुनु? छ भन्ने मात्रै हो। खेतीपातीबाट खान पुग्दैन। मुस्किलले ८ महिना नत्र ६ महिना कट्दैन। बाँकी मजदुरी हो। त्यो पनि सीप भएकाले पाउने।
कति पटक इन्डिया गए। धन कमाएर परिवार सुखी बनाउँला भनेर लागे केही सीप चलेन। एकपटक बाख्रापालन गरे। त्यसले अवस्था सुधारेन। भएका बाख्रा मरे। तिनको पनि रोग पहिचान भएन। लगानी डुब्यो। ऋण लाग्यो। 'सहर जाम्ला नि धन कमाई ल्यम्ला नी' भन्ने गीत सुनेर आश मान्नु मात्रै भयो। अवस्था फेरिएन।
पछि बसपार्कमा होटल चलाए। होटलमा उदारो खानेको संख्या घटेन। उदारो फिर्ता गर्ने ग्राहक भएनन्। उसको सबै लगानी शंकास्पद ऋण भयो। त्यही अवस्थामा होटल चलाइरहनु झन् बढी नोक्सान बेहोर्नु हुन्थ्यो। समयमै ऋण लाएर व्यवसाय बन्द गराए।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
सफलता हात लागेन। लगानी डुब्यो। त्यसले रातको निद हराम भयो, दिनको भोग हराम भयो। चिन्ताको कालो बादलले मनमा घाम लाग्न दिएन। मन पूरै उजाड मरुभूमि जस्तो, शिशिरमा पात झरेको रुख जस्तो। अँधेरी रात जस्तो।
उनले मन्द नसाको लत बसाले। चुरोटसँग माल खान सिके। माल मतलव गाँजा। इतिहासमा गाँजालाई नराम्रो नसा मानिएको देखिदैन। उनको नसाबारेको नकारात्मक टिप्पणी कसैले गरेन।
अथवा धेरैलाई थाहा भएन। गाउँले सबैका लागि उनी प्यारा थिए। उनलाई कसैले कुनै दिन नराम्रो भनेन।
रिउलीलाई लोग्नेको यो गुण आफ्नो सम्पत्ति जस्तो लाग्थ्यो। समय वित्दै गयो। छोराहरु हुर्कंदै गए। दलजित गल्दै गए। उनी लामो समय सम्म बिरामी परे। उपचारको निम्ति अस्पतालको वेडमा धेरैपटक भर्ना भए। रोग पत्ता लागेन। कहिले निको भएजस्तो पनि हुने। फेरि व्याथाले च्यापिहाल्ने। औषधि लागेन। रिउलीले अस्पतालको बेडमा पट्यारलाग्दो समय कतिपटक बिताइन याद छैन।
धेरैले देवी देउताको कारण हुनसक्ने भने। त्यसपछि सुरु भयो- देउतासँगको श्रृङखला। गन्यमान्य कोही देउता बाँकी रहेनन्। बाह्रभाइ मस्टो। नवदुर्गा भवानी मान्दै, पुज्दै आएका लाटी र बहान। मानो फुलचामल मुठो ध्वजा तिरेका कोही देउता बाँकि रहेनन्। लोग्नेको कमजोर शरीर बोकेर सबै गाउँगाउँ चाहारिन्। देउताका थानथान पुगिन्।
सबै देउताका धामीझाँक्रीले एकले अर्काको दोष देखाए। फलानो देउता लाग्यो भने। देउता लागेपछिको उपचार भनेको जरिवानास्वरुप जस तिर्नु हो।
त्यसपछि रिउलीले भने बमोजिमको जस तिर्न थालिन्। दुई खशी, चार कुखुरा सुनरगाउँ मस्टोलाई तिरिन्। चार कुखुरा, एक पाठो बाबिरा मस्टोलाई, चार कुखुरा एक पाठो सिंहाचौर बाबिरा मष्टोले खायो। चार कुखुरा एक पाठो माइती देउताले मागे। पाँच कुखुरा एक पाठो घरका देउतालाई छुट्याइन। बन देउतालाई समेत रिझाउनु पर्यो। तिर्ने ठाउँ तिर्नु पर्यो, नतिर्ने ठाउँ तिर्नु पर्यो। रिउली सम्झन्छिन औंसी, पुर्णे आए कि जस खोज्न गाउँगाउँ चाहर्नु परेका दिन।
घरको देउताले फेरि घर लगाएको माटोको दोष देखायो। माटो छोड्नुपर्ने भयो। त्यसको पनि उपचार भनेको पुरानो माटो धनीलाई रिजाउनु हुने रहेछ। त्यसपछि एक खशी। माटो धनीको लागि फेटा, एकसरो कपडालगायत तिर्नुपर्ने रहेछ। त्यो कर्मकाण्ड पनि पूरा भयो। तर लोग्नेको जीउ ठाडिएन।
लोग्नेको आय आर्जनका सबै प्रयास असफल भएपछि। ऋण बोकेर बसेको भारी जीउले यो सब गरेर जस तिर्ने कुरै आएन। रिउलीले काम गरेर सब गर्न सम्भव भएन। भएको जमिन बेच्नु बाहेक विकल्प थिएन। लोग्नेको जिउ जति प्यारो अरु केही हुँदैन। त्यसैले रिउली थाकिनन्।
बाँकी रहेको अरु जमीन पनि बेचेर त्यसमा ऋण काडेर उपचारको लागि काठमाडौं लैजाने सल्लाह भयो। देवरले लोग्नेलाई उपचारको लागि भनेर काठमाडौं लिने भए। सबै पैसा बोकेर उनीहरु दुईजना उपचारको लागि काठमाडौं गए।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
काठमाडौं पुगेकै दिन बसपार्क झर्ने बित्तिकै आकासे पुलनेर दाइलाई राखेर देवर ट्वाइलेट गएछन्। उनी फर्किदा दलजित त्यहाँ थिएनन रे।
'आकाशे पुल भनेको कहाँ हो थाहा भएन। सपनामा देख्छु विपनामा गएकी नाई। ' रिउली भन्छिन्।
आजभन्दा दुई वर्षअघि शिवरात्रीको दिन दलजित काठमाडौंमा हराए। देवरले काठमाडौंमा रहेका सबै साथी-भाइलाई भनेर खोज्न लगाएछन्। नभेटेपछि उनी रुदै घर फर्किए।
रिउलीको मनले मानेन। उनले कि सास चाहियो कि लास चाहियो भनिन्। कराइन्। आँसुका बलिन्द्र धारा बगाइन्। त्यसपछि गाउँका एकजना सामाजिक कार्यकर्ता तयार भए। उनले भने 'दलजित भेटियो भने अविर लगाउँछु। नभए खरानी घस्छु। ' उनका फुपाजु पनि तयार भए। दुईजना काठमाडौं पुगेको केही दिन पछि फागु पुर्णिमाको दिन दलजित नाजुक अवस्थामा काठमाडौंको कालीमाटीमा भेटिएछन्। लोग्ने नभेटिउन्जेल उनको मनमा गएको भुइँचालोले मन विक्षिप्त र बिचलित बनायो।
'कालिमाटी काहाँ हो? थाहा छैन। सपनामा त्यो ठाउँमा दलजित रोइरहेको देखिन्छ। बर्बर आँसु झारेको देख्छु। विपनामा कल्पना गर्छु। मन थाम्न सक्दिन। भक्कानिएर रुन मन लाउँछ। भित्तामा टाउको ठोक्न मन लाग्छ। सेरिएर मरौं जस्तो हुन्छ। तर अँह सक्दिन। दुई छोराको मुख हेर्छु। '
थौरै उपचारपछि दलजित घर आए। त्यसपछि उनको शरीर नचल्ने भयो। सिमेन्ट जस्तो भारी र साह्रो शरीरलाई रिउलीले सात महिनासम्म स्याहारिन्। रामनवमीको दिन। रिउलीसँग न लोग्नेको ज्यान रह्यो न धन। त्यो दिन सारा संसार अँध्यारो भयो। रात त्यसै अँध्यारो, दिन दलजितको अधुरो साथले अँध्यारो।
१५ वर्षको कलिलो उमेरले रोजेको साथ ३० वर्ष पुग्दा नपुग्दै छुट्यो। मधुर प्रेमको प्रिय आभास टुट्यो। याद यसरी छचल्किन्छन्। त्यसपछि ती आँखाबाट नदी बनेर बगिरहन्छन् निरन्तर। निरन्तर……।
निकै दिनदेखि उनी घरमा देखिइनन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पनि उनी घरमा थिइनन्। भोलिपल्ट अबेर अँध्यारो भैसकेपछि घर आइन्। कालो, मधुरो अनुहार, कालो पहिरन,हत्केला पुरै काला। सल्लाको खोटो लागेका।
उनी बिहान सबेरै उठेर राति अवेसरम्म वनमा जाने रहिछन्। दाउरा बनाएर त्यतै छोडेर आउने। सुकेपछि बेचेर घरखर्च चलाउने भनेर। आफैले बोकेर बजारमा लियो भने एक भारी दाउराको ६ सय रुपियाँसम्म आउँछ। त्यसले आफूलाई खाने चुरोट र घरको लागि तेल किन्न ठिक्क हुन्छ।
उनी भन्छिन्- 'स्कुल सुरु भैगो। छोराका ८ कक्षाका किताब किनेका छैनन्। दाउरा बेच्न पायाँ भने किनुला सोचेकी छु। जेठो छोरो साह्रै असल छ। उसको अनुहार बाबुसँग दुरुस्तै मिल्छ। उसको अनुहार हेरेर उसको बाबुको याद कम गराउछु। '
उनी कुराको सुरुवातमै भन्छिन् 'आँसु सुकिगया। बाहिर वर्षात छ। मनमा रुडो (खडेरी) छ। ' गाडी दुर्घटनामा परेर मरेको भए यसरी मर्यो भन्ने हुने थियो। कँही लोटी मरेको भए यस्तो भयो भन्ने हुँदो हो। कसैले हानी मारेको भए यस्तो भयो भुन्याछियौं। मन बुझाउने ठाउँ हुने थियो। त्यस्तो रोग लाग्यो जसलाई कसैले चिन्न सकेनन्। सारा जग्गा बेचियो। ऋण यति छ भन्ने गन्ति छैन। पीर मर्काको हिसाब छैन। '
'दिनदिनै सपनामा आउँछन्। कहिले रोएको देख्छु। कहिले लोटेको देख्छु। आफूलाई बचाउ भन्छन्। झट्ट निदले छोड्छ। अनि विरक्तिन मन लाग्छ। आत्मा वरिपरि घुमिरहेको जस्तो मान्छु। दुई वर्षको तिथि गरेर पित्रृ सेलाउँला सोचेकी छु। ङआइमाहरु देउडा गाउँने गर्थे- 'रुनैन भुन्याका दिन ओछ्यानभरी आँसु। ' आज आफूलाई त्यस्तै भएको छ। रातभरि छिटिछिटि, फिटिफिटि हुन्छ।
देउता माटो सुभ्य भएन भन्छ। घर उठाउनु पर्नेछ। घरमा खाने अन्न छैन। जनता आवासका घर ठुला मान्छे र स्थानीय नेताहरुले आफ्ना आफ्ना मान्छेलाई पारे। हामीलाई पढेको भए कति सजिलो हुँदो हो। फेरि यी दुई छोरालाई केही भयो भने के गरौंला। गाउँका महिलाका कुरा सुन्ने हो भने छाति चिरिन्छ। गोली हानेका छन्। छाति छियाछिया छ।
'छोरीको छोरो, हरिको पिलो, जडाको जिलो रैरह्यै, तेरो टुपाका फल एकै नरह्यै' भनेर गाउँघरमा श्राप दिने गर्छन्। मलाई त्यस्तै भयो। दुखारिन दुखैमा दिन जान्छ। कहिले सुख हुन्या नाई। 'कहिले स्याँल घाम, कहिले पाड घाम भन्छन्। ' तर मेरा दिन कहिल्यै आउँदैनन् जस्तो लाग्छ। 'मरुँ त पाउन्या नाई जोवन। बाँचु त कसरी?' जसो हुन्छ। तर पनि जसो हुन्छ। तर पनि सोच्छु छोराका दिन त आउँलान नि। त्यही एक त्यान्द्रो आशा बाँकि छ।