कर्णालीमा नयाँ नजीर : भेरी-बबई आयोजनाको सुरूङ एक वर्ष पहिल्यै निर्माण

तस्बिरः बिएल

कर्णाली भन्नेवित्तिकै जो कोहीको दिमागमा पछौटेपन आउँछ। तर, यसपटक कर्णालीले अरूलाई सिकाएको छ।  आयोजनापछिको लाभ कर्णालीले पाउने नपाउने कुनै पत्तो नभएपनि आयोजनाको  भौतिक धरातल भने कर्णाली प्रदेशमै पर्छ।

देशमा आयोजनाहरू लथालिङ्ग, समयमा नसकिने जस्ता समस्या रहेको बेला भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ निर्माणको काम आयोजनाको लक्ष्यभन्दा एक वर्षअगावै सकिएको छ। कम्पनीले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै काम सम्पन्न गरेर नयाँ नजीर स्थापना गरिदिएको हो।

औपचारिक रूपमा ‘ब्रेक थ्रु’ भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। उद्घाटनका लागि वैशाख ३ गते प्रधानमन्त्रीको समय मागिए पनि निश्चित भइसकेको छैन। 

शनिबारसम्म सुरूङको दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रमुख सञ्जीव बरालले जानकारी दिए।

आयोजना टनेल बोरिङ मेसिन (टीबीएम) द्वारा निर्मित नेपालको पहिलो र एक मात्र आयोजना हो।१२ हजार दुईसय मिटर लामो सुरुङ निर्माणको जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले लिएको थियो।

२०७२ जेठ २१ गते सुरूङ खन्न सुरु गरेको कम्पनीको निर्माण म्याद २०७६ चैत १५ गतेसम्मको थियो।सुरूङ निर्माणको लागत करिब १० अर्ब ५७ करोड रुपैयाँ छ, जुन आयोजनाको कुल अनुमानित बजेटको ३५ प्रतिशत हो।

बहुउद्देश्यीय आयोजनाबाट भेरीको पानी बबईमा मिसाएर बाँके–बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र सुर्खेत–भेरीगंगा नगरपालिकाको हात्तीसारमा विद्युतगृह निर्माण गरी ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

२०७६ को माघबाट ८ देखि १० घनमिटर प्रतिसेकेन्ड पानी बबईमा मिसाइनेछ ।

३३ अर्ब १८ करोड लागत अनुमान गरिएको आयोजनाको सबैभन्दा बढी (४० प्रतिशत बजेट) काम सिभिल निर्माणअन्तर्गत छ । १२ अर्ब १० करोडमा हेडवर्क्स, सर्ज साफ्ट र पावरहाउस निर्माणको काम हुने गरी खरिद प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुख बरालले बताए।

उनका अनुसार २०१९ जुलाइबाट काम सुरु हुने गरी हाइड्रो मेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । यसअन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माणका काम हुनेछन् । उक्त कामको आर्थिक भार २ अर्ब ८४ लाख (९ प्रतिशत) छ । २०१९ अगस्टबाट निर्माण सुरु गर्ने गरी इलेक्ट्रो मेकानिकलको पनि खरिद प्रक्रिया सुरु भइसकेको छ । आयोजनाको कुल बजेटको ११ प्रतिशत (३ अर्ब ५१ कराड रुपैयाँ) भार ओगटेको इलेक्ट्रो मेकानिकलअन्तर्गत टर्बाइन, जेनेरेटर, स्विच यार्ड निर्माणको काम हुनेछ । आयोजना प्रमुख बरालले २०१९ डिसेम्बरबाट प्रसारणलाइन निर्माण गर्ने गरी खरिद प्रक्रिया सुरु भइसकेको बताए ।

प्रकाशित मिति: : 2019-04-07 08:24:51

प्रतिकृया दिनुहोस्