कर्णालीले लियो कारागारमा पुस्तकालय अभियानको नेतृत्व

लक्ष्मी पौडेल 'अनुरागी'/बीएल

कारगारलाई सुधारगृहका रूपमा विकास गर्न कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम, जुम्ला, कालिकोट, डोल्पामा पुस्तकालय स्थापना गरिएका छन्। पुस्तकालयहरू कारागारलाई किताब अभियानअन्तर्गत स्थापना गरिएका हुन्।

वीरेन्द्रनगरमा अवस्थित कारागारमा एक कार्यक्रम नै आयोजना गरियो। पुस्तकालय उद्घाटन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही नै आइदिए।उनले भने- 'कारागारलाई गुरुकुलको रूपमा विकास गर्न आवश्यक छ। त्यसका लागि प्रदेश सरकार तयार छ।'

कार्यक्रममा मुख्यमन्त्री मात्र हैन, प्रदेशका सामाजिक विकास मन्त्री दल रावल पनि आइदिए। उनले पनि बोले। उनको भनाइ थियो- कारागारमा पुस्तक राख्नु ऐतिहासिक घटना हो। यो नेपालमै पहिलो हो। पुस्तक पढेर नयाँ जीवनको शुरूवाद गर्न कैदी बन्दीहरू सफल हुनेछन्।

कार्यक्रममा मदनपुरस्कार फेमका लेखकसमेत रहेका कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले पनि बोले।उनले भने- कारागारका कैदीहरूलाई घर फर्किँदा समाजमा बस्न र व्यवहारिक रूपमा घुलमिल हुन सहज होस् भन्ने ध्येयका साथ पुस्तकालय स्थापना गरिएको हो। यससँगै उनले अपेक्षा पनि गरे- 'कर्णालीका हरेक कारागारमा रहेका कैदी तथा थुनुवाले पुस्तक अध्ययन गर्नेछन् र त्यसबाट उनीहरूले जीवन रुपान्तरण हुने छ।'

सुर्खेतको वीरेन्द्रनगरस्थित कारागारमा चारहजार दुईसय ८२ पुस्तक राखिएका छन्। यसैगरी मुगुमा जिल्ला प्रहरी कार्यालय तथा हुम्लामा नवनिर्मित कारागार भवनमा पुस्तकालय स्थापना गरिएका छन्।

नेपालमा कारागार भन्नेबित्तिकै जोसुकैको दिमागमा पनि यातना दिने ठाउँ वा खराब लतका मानिसलाई सजाय दिन राख्ने ठाउँ भन्ने नै पर्छ, सुधारगृह पनि हो भन्ने पर्दैन। यो अभियानसँगै अब आममानिसमा त्यस किसिमको सोचाइ विकास होला भन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: : 2019-04-07 00:53:35

प्रतिकृया दिनुहोस्