अमेरिकामा सेन्सस २०२०: 'कोही नेपाली नछुटौं' अभियान सुरू

युएस सेन्सस २०२० सचेतनामुलक कार्यक्रममा सहभागी हुदै नेप्लिज-अमेरिकन। तस्वीर सौजन्य: नर्वदा क्षेत्री

अमेरिकामा आगामी वर्षको अप्रिल १ मा जनगणना हुदैछ। युएस सेन्सस २०२० नाम दिइएको यो अमेरिकाको २४औं जनगणना हो।

आप्रवासीहरूको देश अमेरिकामा यो नै यस्तो मौका हो जतिबेला नागरिकता लिएका जो कोही अमेरिकी पनि यसमा दर्ता भएर आआफ्नो मूलको जनसंख्या बढाउने अवसर पाउँछन्।

अमेरिकामा नेपाली मुलका अमेरिकी नागरिकहरूको संख्या पनि दिनानुदिन बढ्दैछ। तर, कति छ यो आफैंमा पेन्डोराको बक्समा छ।

नेपालमा दोहोरो नागरिकताको प्रावधान नभएकाले धेरै नेपाली मूलकाले अमेरिकी नागरिकता लिए पनि सार्वजनिक गर्न चाहदैन थिए। उनीहरूले नेपालतिरको सबै कुरा बचाउँन नेपालमा चाँहि नेपाली नागरिकता नै प्रयोग गर्थे।पहिला अति राष्ट्रवादी सोच थियो र विदेशिनु पलायनवादी हुनु हुन्थ्यो।त्यसैले पलायनवादी नदेखाएर राष्ट्रवादी हुन पनि मानिसहरू अमेरिकी नागरिकका रूपमा गनिन चाँहदैन थिए।

तर, अहिले परिस्थिति फरक छ।गैरआवासीय नेपाली नागरिकताको समेत व्यवस्था भएकाले अब भने अमेरिकी नागरिकता लुकाइरहनु पर्ने विषय रहेन। अहिले पहिलेजस्तो पलायनवादीको आरोप पनि लाग्दैन, भूमण्डलीयकरणको प्रभाव पनि परेको छ। नेपालीको सोच र कोणमा पनि धेरै फरक आइसकेको छ।

यही परिस्थितिमा अमेरिकामा रहेका नेपालीहरू अब जनगणनामा पनि देखिऔं भन्ने आव्हानका साथ जनगणना सचेतना कार्यक्रम पनि सुरू भएका छन्।

यो अभियानमा न्युयोर्कलाई कार्यक्षेत्र बनाएको अधिकारकर्मीहरूको संस्था अधिकार पनि जोडिएको छ। अधिकारकी नर्बदा क्षेत्री 'जनगणनाको लागि जागौं' भन्दै अगाडि लेख्छिन्- 'नेपाली समुदाय अहिले आएर ह्वात्तै बढेको छ हाम्रो आँखामा तर सरकारको आँखामा छैन भने हाम्रो पहिचान नै हुदैँन र हामीले पाउने सुबिधा पनि पाउदैनौ। त्यसैले अब आउने २०२० को जनगणनाको लागि नेपालीको संख्या देखाउन सबैले कम्मर कसेर लागौ।'

अधिकार अप्रिल १ देखि यो अभियानमा जोडिएको बताउँदै सबैलाई आफू पनि दर्ता हुन र अरूलाई पनि दर्ता गराउन प्रयास गर्न पनि उनले आग्रह गरेकी छिन्। 

प्रकाशित मिति: : 2019-04-06 22:45:09

प्रतिकृया दिनुहोस्