प्रदेश नं दुई बाहेक देशभर सबै ठाउँकाे परीक्षा चैत १८ गते सकिएकाे छ। प्रदेश दुईमा लगातार एकपछि अर्काे गरी विज्ञान र सामाजिक विषयकाे प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएकाे थियो। यद्यपि, चैत २२ बाट पुनः गर्नेगरी सूचना आइसकेकाे छ।
यसरी विज्ञान र सामाजिक शिक्षाको एसईई प्रश्नपत्र परीक्षाअगावै बाहिरिएपछि शिक्षामन्त्री, गृहमन्त्री, शिक्षा अधिकारीलगायतको क्षमता र व्यवस्थापनमाथि प्रश्न उठेको छ। प्रश्नपत्रको सुरक्षा र परीक्षा सञ्चालनको जिम्मेवारी पाएका व्यक्ति तथा निकायको लापरबाही र निहीत स्वार्थको कारण प्रश्नपत्र बाहिरिएकाे बुझ्न कठिन छैन। केही पहुँचवालाकाे स्वार्थकाे कारण लाखौं विद्यार्थीको समय र श्रममात्र होइन राज्यकाे लगानी समेत बालुवामा पानी बनाउने काम भएकाे छ।
यही पृष्ठभूमिमा एसईई परीक्षा सञ्चालनकाे जिम्मा पाएकाे निकायका उच्चपदस्थ व्यक्तिहरु परीक्षा मर्यादित भएकाे स्वाङ लाइरहेका छन्। यसले परीक्षाकाे मर्यादा जिम्मेवार व्यक्तिहरुकाे बाेलीमा मात्र सीमित रहेकाे देखाएकाे छ।
प्रश्नपत्र बाहिरिने, मिलेमतोमा चिट चाेराउँने, कपी बाहिरबाट हाल्नेजस्ता विषयलाई सानो घटनाको रुपमा लिनु राज्यकाे लागि ठुलाे अभिसाप सावित हुनेछ। यसले विद्यार्थीमा जीवनभर नकारात्मक असर पर्ने सम्भावनाप्रति गम्भीर हुन जरूरी छ। साथै यस्ता घटनाको समयमै छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नु आवश्यक छ।
परीक्षाकाे जिम्मेवारी प्रदेशको भएपनि प्रश्नपत्र निर्माणकाे काम केन्द्र सरकारले नै गर्याे। यसकाे सुरक्षा र गाेपनियताकाे जिम्मा प्रहरीकाे भएकाे कारणले प्रश्न गृहप्रशासन र मन्त्रालयसम्म पुग्छ। यस्ताे अवस्थामा परीक्षाकाे जिम्मा लिनेले मर्यादाको ढ्वाङ हाँस्यास्पद सिवाय अरु केही हुँदैन।
मिलेमतोमा, दबाब र प्रभावमा परीक्षा केन्द्र मिलाउने। केन्द्राध्यक्ष मिलाउने। केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष आफ्नाे मिलाउने। तीनले निरीक्षक आफ्ना मिलाउने।तिनले आफ्ना-आफ्ना मान्छेलाई चिट चाेराउने।त्यसरी पास भएका आफ्ना-आफ्ना मान्छेलाई पहुँचकाे आधारमा शिक्षक भर्ना गर्ने र ती चिट चाेरेर पास भएकाले देशकाे शिक्षा क्षेत्र चलाउने अनि पूरै भविष्य नै चाेरकाे जिम्मा छाेड्नेजस्ताे काम उच्चपदस्थ व्यक्तिबाट भैरहेको छ। परिणाम परीक्षाले आफ्नाे मर्यादा गुमाउँदै छ भने देशले आफ्नाे भविष्य गुमाउँदैछ।
यी घटना विशेषत पछिल्लाे समय झन् बढेका छन्।गाइड, गेसपेपर, किताबबाट चिट चाेर्नु, हाकाहाकी लेख्नु सामान्य भैसकेको छ।परीक्षा हलबाट माेवाइमा प्रश्नपत्र लिकआउट गर्ने र माबाेइलबाटै सार्नेलगायतका काम सम्भव भएका छन्।
परीक्षा अगाबै अभिभावकहरु आफैले आफ्ना मान्छे निरीक्षक राख्नलाई लविङ गर्ने, जान्ने विद्यार्थी आफ्नाे छाेराछाेरीकाे नजिक राखिदिन पावर लगाउनेलगायतका काम पनि सामान्य जस्तै हुन थालिसकेका छन्। परिणाम एउटा कक्षाकाेठामा तीन चारजनासम्म निरीक्षक राख्नेसम्मका काम भैरहेकाे छ।परीक्षाकाे चासाे विद्यार्थीलाई भन्दा पनि अभिभावकलाई बढी देखिएकाे छ।
लामाे समयसम्म सहायक केन्द्राध्यक्ष भएर काम गरेका जुम्ला रत्नचुडेश्वर माविका शिक्षक थकन कुमार राईलाई एसईई परीक्षामा विद्यार्थीले माेवाइलबाट चिट चाेरेकाे देख्दा आउँदाे कक्षा ११, १२ काे परीक्षामा पनि यस्ताे समस्या झेल्नुपर्ने हुन सक्ने लागेकाे छ।
पहिलाेपटक जुम्लाकाे परीक्षा देखेका विज्ञान शिक्षक मनिस बुढाथोकी परीक्षा हलमा विद्यार्थीले दुईदेखि तीनवटासम्म माेवाइल ल्याएकाे देखेर चकित परेका छन्।उनी भन्छन् 'विद्यार्थीकाे लागि गाइड, गेसपेपर हेरेर सार्नु निकै सामान्य भैसकेको छ भने माेवाइल प्रयाेगकर्ताकाे संख्या अत्यधिक देखिन्छ।' उनी थप्छन् 'निरीक्षक नै यस्ताे सेटिङ मिलाउन लागिपरेका हुन्छन्।'
शिक्षा विकास तथा समन्वय एकाई जुम्लाले परीक्षा अगावै परीक्षा सञ्चालनकाे मापदण्डबारे आयाेजना गरेकाे छलफलमा पंक्तिकारको पनि उपस्थिति रहेकाे थियाे। छलफलका सहभागी सबैले एसईई परीक्षालाई 'एसईई पर्व' भनेर व्यंग्य गरिरहेका थिए।
यसले तीनचार वर्षअगाडि जुम्लाले बेहाेरेकाे परिस्थितिकाे याद दिलायाे।त्यसवेला प्रायश; परीक्षाकेन्द्रमा भाेज भतेर चलेका खबर आइहेका हुन्थे।अभिभावकहरुबाट पैसा उठाएर परीक्षा अनुगमन गर्न जाने अधिकारीलाई बाजागाजा, फूलमाला, अविरले स्वागत गर्ने र पञ्चपरिकारयुक्त भाेजनमा भुलाएर परीक्षा मर्यादित रहेकाे बाेल्ने पार्नेसम्म भैरहेकाे थियाे। यसकाे निकै चर्काे आलाेचना भएपछि याे क्रम ठाम्मै राेकिएकाे छ।
तर, समय परिवर्तन सँगै चिट चाेराउने नयाँ शैलीकाे विकास भएका छन्। याे खेल जाडाे समयमा सञ्चालन हुने ट्युसनबाटै सुरु हुन्छ। विद्यालयमा पढाउने शिक्षककाे लगानीमा खाेलिएका ट्युसन सेन्टरका मालिक नै सक्रिय हुन्छन्। ट्युसन सेन्टरमा पढाउने शिक्षकले आफ्नाेमा पढ्न नआएपछि प्राक्टिकल नम्बर कम दिनेदेखि लिएर एसईईमा चिट नचाेराउनेसम्मकाकाे धम्की दिन्छन्। यत्ति गरेपछि आफ्नाे व्यवसाय सफल, विद्यार्थी र अभिभावक पनि ढुक्क।
छलफलमा केन्द्राध्यक्ष नियुक्त परीक्षा सञ्चालन निर्देशिकाअनुसार नै गराउने र ट्युसन सेन्टरका मालिकलाई परीक्षामा केन्द्राध्यक्ष वा सहायक केन्द्राध्यक्ष केही नबनाउने भन्ने सहमति भएकाे थियाे। केन्दाध्यक्ष नियमअनुसार भएपनि सहायक केन्द्राध्यक्ष हाम्राे सहमतिअनुसार बनाउने काम भएन।यसले फेरिपनि आशंका थपेकाे छ।
चैत १९ गते शिक्षा विकास तथा समन्वय इकाईले एसईई परिक्षाकाे समीक्षा गर्याे।समीक्षाले परीक्षामा हाेहल्ला नभएकाे, फर्जी विद्यार्थी एउटा पनि फेला नपरेकाे र एकजनाकाे पनि परीक्षा रद्द नभएकाेले परीक्षा मर्यादित भएकाे निश्कर्ष निकाल्याे। समीक्षा बैठकमा निरीक्षकहरुले विद्यार्थीलाई चिट चाेर्ने माहाेल मिलाएकाे कुरा उठेकाे हिस्टुन जुम्लाका अध्यक्ष जगदीश न्याैपानेले जानकारी दिए। यसले के देखाउँछ भने परीक्षा सञ्चालनमा जिम्मेवार अधिकारीहरु आफैपनि पुर्ण रुपमा परीक्षा मर्यादित बनाउन लागिरहेका छैनन् ।
जे होस् यस वर्षको एसईई पर्व सकिएको छ। तर, विगतमा भन्दा अरू खतरा भएर। राज्य नै प्रत्यक्ष परोक्ष रूपमा लागेर परीक्षाअगावै पटक पटक प्रश्नपत्र आउट भएर एउटा प्रदेशकै परीक्षा रद्द गर्नुपर्ने जुन परिस्थिति सिर्जना भएको छ- त्यसले दशा र दिशा दुबै सही देखाएको छ।यसपटक कुखुरा मात्रै हराओस्, अर्को वर्षदेखि स्याल नपल्कियोस् ।