सगरमाथा र गौतम वुद्धको देशको नामले संसारमा नेपाललाई चिनिन्छ। नेपालको पर्यटन प्रवर्द्धनको प्रमुख माध्यम पनि यही नै हो।तर, भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक विविधताको देश नेपालमा यसबाहेक पर्यटन प्रवर्द्धनका अन्य थुप्रै माध्यम छन्।
फुड गुरुको नामले परिचित सुरेशचन्द्र बस्नेत भने अहिले सन् २०२० को नेपाल भ्रमण बर्ष सफल पार्न विश्वका ६ महादेशमा नै नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन्।
अमेरिकामा अहिले धेरै नेपाली होटल ब्यबसायमा आकर्षित भइरहेका छन्। अमेरिकाको प्रत्येक राज्यमा नेपालीको रेष्टुरेण्ट छ। विशेष गरी टेक्सास, न्युयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनिया, एलिनोयलगायतका राज्यका मुख्य सहरमा बाक्लै संख्यामा नेपाली रेष्टुरेण्ट भेटिन्छन्। नेपालीको ठूलो लगानी यही ब्यवसायमा भएको पाइन्छ।
बार्षिक रुपमा ठूलो संख्यामा अमेरिकी पर्यटक नेपाल भ्रमणमा आउछन्। तर, उनीहरुलाई नेपाली खानासम्बन्धी जानकारी नभएको देख्दा बस्नेतलाई अचम्म लाग्छ। केही समयअघि मात्र नेपाली खानाको प्रर्वद्धन गरी अमेरिकाबाट फर्किएका बस्नेत भन्छन्- 'अमेरिकामा नेपाली रेष्टुरेण्ट भएपनि हामीले विशेषगरी भारतीय खानालाई नै प्रवर्द्धन गरिरहेका छौ। नेपाली खानाको परिचय लुकाएर विदेशी खानालाई हामीले प्रोत्साहन गर्दा नेपालको पर्यटन क्षेत्रमा समेत असर परेको छ।'
नेपालीमूलका अमेरिकन लागानीकर्ताले भारतीय मेक्सिकन, चिनिया, तिब्बतियन र अमेरिकन खानामा मात्र जोड नदिएर विदेशीलाई नेपाली खाना र परिकार चखाउन सके सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रन सक्ने भनाइ बस्नेतको छ। सेफ एसोसियसन अफ नेपालका पूर्ब उपाध्यक्ष बस्नेतले अमेरिकाको न्युयोर्क, बोष्टन, टेक्सास र कनेक्टिकटमा नेपाली अमेरिकनले सञ्चालन गरेका रेष्टुरेण्टमा आफूले नेपाली खानासम्बन्धी तालिम पनि दिएको बताए।
जीवनका २८ बर्ष होटल क्षेत्रमै बिताएका बस्नेतले चीन, ,भारत, अष्ट्रेलिया, कोरिया र अमेरिकालगायतका देशमा नेपाली खानालाई चिनाउदै आएका छन्।
सन् २०१५ मा चीनको संघाईमा एशिया प्यासिफिक फोरममा सहभागिता जनाएका बस्नेतले सोही बर्ष भारतको कोलनरी फेडरेशन सम्मेनलमा पनि सहभागिता जनाई नेपाली खानालाई विश्वमा चिनाउन अहम् भूमिका निर्वाह गरेका थिए।उनले सन् २०१० मा अष्ट्रेलियामा, सन् २०१३ मा कोरिया र सन् २०१७ मा अमेरिकान कोलेनीरी सम्मेलनमा सहभागिता जनाएका थिए।
तनहु ब्यास नगरपालिका थातथलो भएका बस्नेत ब्यक्तिगत पहलमै नेपाली खानालाई विश्वका ६ महादेशमा परिचित गराउने अभियानमा जुटिरहेका छन्। नेप्लिज वर्ल्डवाइड सेफ्न एसोशियनको संस्थापक समेत रहेका बस्नेत नेपाली खानामार्फत विश्वमा नेपाललाई चिनाउन सकिने बताउँछन्। नेपाली खानालाई विश्वमा मात्र हैन नेपालको हिमालदेखि तराईसम्म प्रचारप्रसार गर्ने अभियानमा छन्, बस्नेत।
नेपाली फुड गुरुको नामले समेत परिचय बनाएका बस्नेत अहिले नेपाली परिकार ढिँडो, गुन्द्रुक, फापरलगायतका परिकारका विशेषता र यसले स्वास्थ्यमा पर्ने फाइदासम्बन्धी जानकारीमूलक पुस्तक नेपाली र अग्रेजी भाषामा प्रकाशित गर्ने तयारीमा छन्।
नेपाली खानाले विश्वमा नेपाललाई चिनाउने जनाउदै बस्नेत भन्छन्, 'सन् २०२० को पर्यटन बर्ष सफल पार्ने हो भने हामीले सगरमाथा, गौतमबुद्धसँगै नेपाली खानालाई पनि विश्वब्यापी बनाउनु पर्दछ।'
नेपाली खानामार्फत पर्यटन प्रर्वर्द्धन गर्न सकिने प्रमुख देशको रुपमा अमेरिकालाई लिन्छन्, बस्नेत। उनका अनसार अहिले धेरै नेपाली होटल ब्यबसायतर्फ आकर्षित भएकाले अमेरिकामा नेपाली खानालाई प्रवर्द्धन गर्न सहज छ।