नेपाल भारत सीमामा घाँस दाउरा गर्न जाने नेपालीहरू भारतीय बनरक्षकको गोलीको शिकार हुँदै आएका छन्। कतिको लाश भेटिएको छ, कतिको सास। तर, नौ वर्ष भयो गुलरियाका दुई नेपालीको भने न लास भेटिएको छ,न सास ।
घटना २०६७ साल फागुन ५ गतेको हो।गुलरियाका राममिलन लोध र हर्कबहादुर शाही भारतीयको बन क्षेत्रमा दाउरा लिन गएका थिए। भारतीय बनरक्षकले ती दुवैजनामाथि गोली चलायो, गोली प्रहारबाट दुबैजना घाइते भए, घाइते दुबैजनालाई भारतीय बनरक्षकले उपचार गर्ने भन्दै लग्यो, त्यो कुरा स्थानीयदेखि प्रहरी प्रशासनलाई समेत जानकारी छ। तर, भारतीय बनरक्षकले उपचार गर्ने भन्दै लगेका राममिलन र हर्कबहादुरको अवस्था अझै अज्ञात छ। परिवारलाई न लास मिलेको छ, नत सास मिलेको छ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाल पनि दुईजना नेपालीलाई भारतीय बनरक्षकले उपचार गर्ने भन्दै लिएर बेपत्ता पारेको स्वीकार गर्छन्। भन्छन्- 'जंगलमा दाउरा टिप्न गएका रहेछन्, भारतीय बनक्षेत्र परेछ। बनरक्षकले गोली चलाएछन्, घाइते भएका दुवैजनालाई उपचार गर्ने भनेर लगेकै हो, अहिलेसम्म कुनै जानकारी छैन, सोधपुछ जारी छ।
बेपत्ता २ जनासँग अन्य स्थानीयबासी पनि भारतीय बाक्षेत्रमा दाउरा टिप्न गएका थिए। भारतीय प्रहरीले गोली चलाउदा अरु सबै भागेपनि बेपत्ता पारिएका २ जना भने घाइते भएर भाग्न सकेनन्।
उपचार गर्न लगिएको भनेको क्षेत्रका अस्पतालमा खोजी गर्दा केही पत्ता नलागेको स्थानीयबासीको भना छ ।