‘सतुवा खाल भतार, दही चिउरा खईय इयरऊ’
अर्थात एक महिलाको श्रीमान हुँदाहुँदै पर पुरूषसँग लागेको यस गीतको शब्दले दर्शाउँछ। ‘धिरेसे रंगवा डालुरे देवरा भित्री लागेला पाला रे’ अर्थात बिस्तारै रंग हाल है देवर जी भित्र चिसो भयो।
यस्ता अश्लील र अभद्र गीतहरुले होरी फगुवाको मौलिकता हराउँदै गएको छ। महिलाहरू यस्ता गीत सुनेर लज्जीत छन्। यीनै गीतहरु अहिले गाउँ सहरको चोक बजार तथा घर आँगनमा मात्रै होईन स्थानीय केही एफ.एम.रेडियोहरुमा पनि प्राथामिकताका साथ गुञ्जिने गरेको सुन्न पाईन्छ। होलीको परम्परागत संगीत ‘होरी’ को रूपमा गाउँ टोलमा साँझ जम्मा भएर सामुहिक रूपमा गाइने गीत सुनिदैन।
‘सिया निकले अवधवा के ओर होरीया खेले राम लला’
‘राम खेले होरी, लछमन खेले होरी, गढ लंका में रावन खेले होरी..होहो..हो...’ ई राम रसका फगुवाका पारम्परीक होरीका गीत हुन्।
प्रेम र सद्भावको पर्वको रुपमा चिनिएको ‘फगुवा’, ‘होली’ अर्थात फागुको पराम्पारिक स्वरुप फेरिएपछि रंगको यस त्यौहारको नै रंग फेरिएको जानकारहरु बताउँछन्। ‘होली पर्वको दुई वटा विशेषता छ, पहिलो यसका बिशिष्ठ गीतसंगीत र दोस्रो परिवार तथा गाउँसमाजभित्र एक आपससँग मिलेर मनाउने क्रममा वर्षभरीको रिसराग विर्सेर रंग अबिर साट्ने, मिठो मसिनो खाने र रमाइलो गर्ने,’ रौतहट जमुनियाका ७१ वर्षीय बेनीलाल साहले आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘आजभन्दा एक दशक पहिलासम्म पनि युवाहरु गाउँघरका अग्रज व्यक्ति तथा घरका ठूलाबडा सदस्यहरुको सामू उछ्रृंखल गतिविधि गर्न लजाउने तथा डर मान्ने गर्थे। तर, अहिलेका युवाहरु खुलेयाम मदिरा सेवन गरी गाउँघरमा होहल्ला गर्ने गरेको देख्न पाईन्छ।’
पहिलेको होरी गीतले मधुरता छाएको हुन्थ्यो तर, अहिले चर्को स्वरमा डिजेमा अश्लील गीत बजाएर समुदायका अन्य व्यक्तिहरुलाई दुःख दिने काम मात्रै भईरहेको छ।
उनको बुझाईमा पहिलेको आदर्श युग अब रहेन। अबको नयाँ पुस्तालाई होलीको खासमा के महत्व छ त्यो जानकारी नै छैन। ‘मदिरा सेवन गर्यो अरूलाई जिस्क्यायो यहि छ अहिलेको होलीमा’, उनी भन्छन् ।
मधेसका समुदायमा मनाईने जति पनि पर्व छन्। ती सबै पूजाको रुपमा मनाईन्छ। तर, होली फगुवा एकमात्र यस्तो पर्व हो। जसलाई यस समुदायमा मनोरञ्जन, खानपान र रमाईलो गर्नका लागि मनाउने गरिन्छ।
चैतको प्रतिपदाका दिन होली मनाईन्छ। वसन्त ऋतुको मध्यमा पर्ने भएकोले यस पर्वको आफ्नो छुट्टै पहिचान छ।
होलीलाई भाईचारा र आपसी सद्भाव बढाउने पर्वको रुपमा मानिन्छ। आपसी प्रेम र आत्मीयता बढाउनु यो पर्वको खास विशेषता हो। वर्ष दिनको रिस पनि यस दिन बिर्सेर रंग अबिरको साथ नयाँ सम्बन्धको सुरुवात गरिन्छ। तर, अहिले ठिक यस्को विपरीत भएको वीरगन्ज घडिअर्वाका प्रभु साह बताउँछन्।
उनका अनुसार अहिले मानिसहरु साथिभाईको घरमा जान चाहँदैनन। अभद्र व्यवहारले गर्दा राम्रो सम्बन्ध पनि बिग्रिने गरेको छ। यस्तै गुनासो बहुअरीका लालबाबु यादवको पनि रहेको छ ।
बहुअरीकै ७५ वर्षिय आसमान यादव होरीको पारम्परिक गीत गाएर ‘सीया जानकीके ले गईले चोर दुनु भईया रोए हो कदम तर’, सुनाउँदै भने,‘आफ्नो पालामा गाउँका बुढापाकासँगै युवाहरु पनि होरी फगुवा गाउँथे। दिनभरी पारम्परीक होरीको गीत गाई सकेपछि बेलुकी पख चैतावर गाएर रंग आकाशमा उडाई फगुवा को समाप्ति गर्थे । तर यस्तो अब देख्न नपाउदा साह्रै दुःखी भएको बताए।
बारा सिमरौनगढ निवासी ६० वर्षिय रामेश्वर मेहताका अनुसार पहिले एक अर्काको घर घरमा गई रंग अबिर होली खेल्ने चलन थियो तर अहिले गाँउघरका बाटो समेत सुनसार देखिन्छन्।
पहिले समुदायका हरेक जातजाति सामुहिक रुपमा खानपिन गरी रमाईलो गर्थे । तर अहिले म नै ठूलो हुँ भन्ने भावना सबैको मनमा पलाएको छ। जसकारण आत्मीयता घट्दै गएको छ । युवाहरु अश्लिलता तर्फ गईरहेका छन्।
स्थानीय गायकहरु पैसा कमाउने लोभमा पारम्परीक गीतलाई बिगार्दै छन्। आफ्नो युवा अवस्था सम्झदै मेहता भन्छन्,‘त्यसबेला मदिराको सेवन खासै हुदैनथ्यो। त्यसबेला दुध, जौ, नरीवल, छोकडा र सुकमेलको मिश्रणमा कुश्मा तयार गरी सेवन गर्ने चलन थियो। त्यसबेला अहिले पाईने रेडिमेड पेय पदार्थ पिउने चलन थिएन। मौसम अनुसार पेटलाई सीतल बनाई राख्न कुशमा पिउने गर्थे। यसमा भाङ मिसीएको हुनाले यो पनि नसालु पेय पदार्थ हो तर मदिरा जत्तिको हानीकारक नभएकोले रमाईलोका लागि थोरै खाने चलन थियो।’
प्राध्यापक तथा समाजसेवी सुस्मा तिवारीका अनुसार आज पनि नयाँ पुस्ताहरुले रमाईले गरी होली पर्व मनाउने मनाईरहेका छन्। तर, परम्परागत रुपमा मनाउने चलन हराउँदै गएको छ।
अहिलेको होलीमा तडक भडक बढि भएको छ। पहिले प्राकृतिक रगंहरुको प्रयोग गरिन्थ्यो भने अहिले अहिले केमिकल्स युक्त रगंको प्रयोग भईरहेको छ। जुन स्वास्थ्यको लागि हानिकारक छ।
पहाडको तुलनामा तराई तिर लोला हान्ने प्रवृति कम रहे पनि जबरजस्ती रंग लगाईदिने पैदल यात्रुको जिउमा रंग हाल्ने जस्ता उच्छ्रृंख्ल गतिविधि बढी देख्न पाईन्छ।
जसकारण होलीको दिन सडकमा भद्रभलाद्मीहरु निस्किन चाहँदैनन्। महिलाहरु त डरले एक्लै कतै ननिस्कने अवस्था हुन्छ। फोहोर गीतहरु पनि बढी बज्ने हुदाँ लज्जा बोध भईरहेको उनले भनिन्।
बढ्दो शहरीकरणले गर्दा नयाँ पुस्ताहरुले पारम्परिक गीत संगीतलाई अपनाउन सकेका छैनन्। पहिले समुदायमा फगुवा मनाउने चलन थियो अहिले भने आफ्नो परिवारसम्म मात्र सिमित रहि होली मनाउने चलन आईरको उनको भनाई छ।
परिवारमा दिईने संस्कारको कमिले पनि विकृति फैलिँदै गएको उनको बुझाई छ।
समाजसेवी डा.तिवारीका अनुसार होली पर्व संसारभर एकै दिन मनाइने भए पनि नेपालमा भने दुई दिन मनाईन्छ जसकारण समुदायिक विभेद पनि भएको देखिन्छ।
पहिलेको समयमा सबै जातजाति एकै समुदायमा रहेका हरेक व्याक्ति एक आपसमा अंगालो मार्दै रंग लगाएर फगुवा मानाउँथे। तर, अहिले भने जातीय विभेद भएको छ।
खासगरी शहर बजारमा आ आफ्नो समुदायका व्यक्ति पहिचान गरी छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी होली मनाईरहेका छन्। जुन होलीको वास्तविक मौलिकता होईन।
कतै भोजपुरी भाषिले छुट्टै होली मिलन कार्यक्रम गरेको छ भने कतै भैथिली, मारवाडी, वैश्य, कायस्यजस्ता अनेकन जातजातिहरुले जातिय विभेद फैलाई रहेका छन्।
होलीको नाममा विभीन्न कार्यक्रमहरु भएको देख्न पाईन्छ तर यसको खास विशेषता के हो? भन्ने बारेमा विभिन्न समुदायका मानिसहरु बुझ्न सकेका छैनन् ।
लोक संस्कृतिविद उमाशंकर द्विवेदी ‘दधिची’ का अनुसार वसन्त ऋतुको मध्य पर्ने भएकोले यसबेला पूरा प्रकृति नव श्रृजनाको क्रममा हुन्छ। रूखहरुमा नयाँ पालुवा, मुजा तथा चिचिलाहरु पनि लागेको देख्न सकिन्छ। प्रकृति अन्तर्गत मानव जाति पनि परेको हुनाले मानवको मनमा पनि नव सृजनाका लागि उमंग र उत्साह हुन्छ।
पौराणिक मान्यता अनुसार पनि यसको छुट्टै महत्व छ। हिरण्यकश्यपकी बहिनी होलिका जुन राक्षसी हुन्छिन्। जसलाई बरदान प्राप्त हुन्छ, आगोबाट कहिल्यै नजल्ने।
त्यसै बरदानको गलत फाईदा उठाई आफ्नो भाईको छोरा भदई विष्णुभक्त प्रल्हादलाई मार्ने मनसायले आफूसँगै आगोमा जलाउन खोज्दा उल्टै प्रल्हाद बचे र डुंगा राक्षसी होलीका त्यही आगोमा जलेर खरानी भई।
त्यसैले पनि फागु पूर्णिमाका दिन मधेसको समुदायमा विशेष विधिपूर्वक होलिका दहन गर्ने परम्परा छ।
असत्यमाथि सत्यले विजय प्राप्त गरेको हुनाले होलीका दहनको भोलिपल्ट खुसीयालीको रुपमा रंग अविर लगाई मिठो परिकार खाएर खुशीयाली साटासाट गर्ने परम्परा छ।
यस्तै होली फगुवालाई मधेसको समुदायमा नयाँ वर्षको रुपमा मनाउने पनि चलन छ। त्यही कारण होलीका दहनको दिन सम्वत जलाएको पनि भनिन्छ। अर्थात पूरानो सम्वतलाई जलाई नयाँ सम्वतको सुरुवात गरिएको हो।
फागुनको शुल्क पक्ष पुर्णीमाको दिनमा हुने होलीमा सामेल हुन परदेश गएकाहरु केही दिन अगावै आइपुगेका हुन्थे। तराई क्षेत्रमा बाहिर काम गर्न परदेश जाने भनेर अधिकांश मानिसहरु भारतका ठूला सहर जाने भएपछि फर्किने मुख्य समय भनेकै होली र छठ हो।
संस्कृतिविद उमाशंकर द्विवेदीको बुझाईमा पहिलेको होली र अहिलेको नयाँपूस्ताले मनाउने होलीमा धेरै परिवर्तन आईसकेको छ। पहिलेको होली भद्र तथा शालिनताका साथ मनाईन्थ्यो।
घरपरिवारमा मिठो परिकार बनाई मिलिजुली खाएर रंग अविर खेली दिउँसो पख आफ्नो समुदायमा रंग खेल्न समूहमा हरेक घर घरमा गएर परम्परिक होरी गीत गाउन चलन थियो। घरका मालिकले पनि ती टोलीलाई आदरका साथ स्वागत गरेर बदाम नरिवल छोकडा, सुपारी जस्ता मसाला सहित रंग र अविर लगाएर प्रेम पूर्वक विदा गर्थे।
टोलीमा आउनेहरुले सदैव आनन्द रहोस तिम्रो घर आँगनमा खुशीयाली छाओस भन्दै होरी गीत गाएर फर्कन्थे। तर, अब अहिले विकृति फैलिदै गएको छ।
शालिनताका साथ रमाईलो गर्न छोडेर उछृंखल गतिविधि गरेर नयाँ पुस्ताले रमाईलो गर्ने गरेका छन्। जस्तै मदिरा सेवन गर्ने, बाटोमा हिड्नेहरुलाई अभद्र व्यवहार गर्ने, क्षमताभन्दा बढी मदिरा सेवन गरी गाली गलौज गर्नु, रिस उठेको छिमेकीको घरमा फोहोर फाल्दिने, निहुँ खोज्ने, होलीको दिन आफ्नो मनमा लागेको रिस निकाल्ने गर्छन्।
न त प्रशासनको डर छ , न त समुदायको नै डर राख्छ। पहिलेको जस्तो आनन्दमय वातावरण अहिलेको फगुवामा नदिएको द्विवेदीको भनाई छ।
पहिलेका बुढापाका घरबाट निस्किएर चैतावर तथा होरी गाउँथे तर, अहिले उनीहरु घरबाट बाहिर निस्किने वातावरण नै हुदैन डरले बाहिर निस्किदैनन्। समुदायमा बस्न अपनाउने सामाजिक अनुशासन पनि हराउँदै गएको अवस्था छ । जुन कि सरकार र जनता दुवैका लागि चिन्ताको विषय रहेको उनको बुझाई छ।
संगीतको बारेमा भन्नु पर्दा, पहिलेको होरी गीतमा पनि मनोरञ्जनका लागि व्यंग्य हुन्थ्यो। तर, समुदायलाई समेटेर सबैले सुन्ने खालको पारम्परिक धुनमा गाएर बजाएर मनोरञ्जन गरिन्थ्यो। त्यसको अलग मिठास हुन्थ्यो । जुन अहिले त्यो हराउदै गएको छ।
त्यसमा धर्मको पनि कुरा हुन्थ्यो । तर, अहिले गाईने गीतमा परिवारले पनि सुन्नै नहुने खालको अश्लील शब्दको प्रयोग गरिएको हुन्छ । त्यो फगुवा होरी गीत नभई विकृत रुप हो। ‘होरी’ अर्थात होली बिशेषको लोकभाकाको गीतसंगीत। लोक भाकाको होरीको धुनमा दुई वटा ढोलक –मधेशको ठूलो मादल), एउटा डम्फा र एक जोर झाल एक जोर मन्जिरी चाहिन्थ्यो।
रामायणका मान्यताहरुलाई लोकब्यवहार राखेर भाकाहरु तयार गरिएको पाइन्छ। होलीको दिन समूहमै भएर एकपछि अर्को गरी घरघरमा पुग्दै गाउँभरी होरी गाउने परम्परा हो। मौलिकता बोकेका होरीका गीत लोप हुनुका कारण नयाँ पुस्ताले संरक्षण गर्न नसकेर हो। एक दशक पहिलेसम्म त्यस्ता पारम्परिक होरीका गीतहरु गाउँ गाउँमा गुञ्जिन्थे। तर, बुढापाकाहरुको संख्या पनि कम हुँदैगयो।
नयाँ पुस्ताले त्यसलाई ग्रहण गर्न सकेनन् र मौलिकता पनि हराउँदै गयो।
हरेक समुदायको पहिचान त्यस समुदायमा अपनाईने रीति संस्कृतिले झल्काउँछ। पुरानो पुस्ताले हस्तान्तरण गरेको संस्कृति नयाँ पूस्ताले जगेर्ना गर्नुपर्छ। नत्र समयको परिवर्तनसँगै आफ्नो पहिचान पनि गुम्ने डर हुन्छ।