विदेशबाट फूल आयात गर्दा नेपाली किसान मारमा

बिएल

प्रेमको प्रतिकको रुपमा रहेको फूलको वयान जति गरेपनि कम हुन्छ । एकआपसमा मित्रता, अपनत्व अनि मायाको आदानप्रदान गर्नको लागि फूलनै बढि मात्रामा प्रयोग गरिन्छ ।

पश्चिमेलि मुलुकमा सामान्य भेटघाटमा पनि फूल आदान प्रदान गरिन्छ तर नेपालमा भने कुनै चाँडपर्व वा धार्मिक काममा मात्रै फूलको प्रयोग गर्ने गरिन्छ । नेपालमा वर्षभरि सबैभन्दा बढी फूलको खपत भाईटिकामा हुने गर्छ।

भाईटिकाको पौराणिक धार्मिक र सांस्कृतिक मात्र नभई समाजिक महत्व पनि कम छैन। विषेशगरी दिदीबहिनिले दाजुभाईलाई सयपत्री ,मखमलि र गोदावरी दुबाेकाे रंगविरंगी माला लगाई दीर्घायुको कामना गर्दछन्। 

नेपालमा फूलको बढ्दो मागसँगै यसलाई व्यवसायिक ढंगबाट अगाडि बढाउने युवा जमातको पनि कमि छैन। बैदेशीक रोजगारीमा गएर फर्किएका युवा हुन् वा जनयुद्धका पूर्व लडाकु सवैको आर्थिक उपार्जनको लागि आकर्षणको पेशा बनेको छ फूल व्यवसाय। छोटो समयमै राम्रो आम्दानि गर्न सकिने हुनाले यस पेशामा मानिसको आकर्षण बढ्दै गएको हो।

सरकारले स्वदेश उत्पादनलाई बढावा दिने नीति ल्याएर विदेशी उत्पादनलाई विस्थापन गर्ने हो भने नेपालमा फुलखेतीबाट मनग्य आम्दानि गर्न सकिन्छ। गंगबुमा फूल खेति गरिरहेका लक्ष्मण केसी भन्छन्– एकातिर विदेशबाट भित्राएको फूलले पैसा कमाइरहेको छ भने अर्कोतिर नेपालमा उत्पादन भएको फूलले बजार पाउन सकेको छैन।

विशेषगरी तिहारको समयमा नेपालमा उत्पादन भएको फूलले नपुग्ने भएकोले अन्य देशबाट पनि फूलको आयात गरिन्छ। सयपत्री फूलको बाह्रैमास माग हुने भएपनि तिहारको समयमा गोदावरी र मखमली अत्याधिक बिक्रि हुने गरेको छ।

हाल नेपालमा सातसय नर्सरी संचालनमा छन् भने मुलुकका ४३ जिल्लामा व्यवसायिक फूलखेती हुने गरेको छ। गत आर्थिक वर्षमा करिब दुई अर्व ४२ करोड रुपैयाको फूलको कारोवार भएको थियो। यहि व्यवसायमा लागेर ४३ करोड ५ सय जनाले रोजगार पाएको फलोरिकल्चर एसोसियसन नेपाल (फान)ले जनाएको छ।

गत वर्षमात्र नेपालमा तिहारको लागि १० करोड रुपैयाँ बराबरको फूल आयात गरिएको थियो। ग्राहकको माग अनुसार भारत,नेदरल्याण्ड,थाईल्याण्ड,चीन लगायतका मुलुकबाट विभिन्न प्रजातिका फूल आयात हुने गर्छ।

फूल व्यवसायमा संलग्न दुर्गानाथ दाहाल ४ हजार फूलको बिरुवाबाट एक सिजनमा ४ लाखसम्म कमाउन सकिने बताउँदै भन्छन्– सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति नल्याएर विदेशबाट फूल मगाउँदा नेपाली कृषक मारमा परेका छन्। ललितपुर कृष्णमन्दिर बाहिर फूल बेच्दै आएकी प्रर्मिला महर्जन हाल दैनिक दुई सय पचासभन्दा बढि माला बिक्रि भएको बताउँछिन्। 

उनी नेपालमा माग भएअनुसारकाे फूल उत्पादन हुने बताएपनि अनियन्त्रित रुपमा विदेशबाट फूलहरु भित्र्याउँदा नेपाली किसान मारमा परेकाे गुनासाे पाेख्छिन्। भन्छिन्– सरकारले नीति बनाउने हाे भने हामी विदेशमा पनि फूल निर्यात गर्न सफल हुनेछाैं। 

प्रकाशित मिति: : 2019-10-27 14:07:43

प्रतिकृया दिनुहोस्