अमेरिका मोहः डीभी भर्नकै लागि राहदानी बनाउन पर्सामा बाक्लो भीड

फाइल तस्बिर

अमेरिकाले प्रदान गर्दै आएको डीभीका लागि फारम भर्दा अनिवार्य राहदानी चाहिने भएपछि अहिले जिल्ला प्रशासन कार्यालय, पर्साको राहदानी शाखामा भ्यान नभ्याई भएको छ।

अमेरिकाले यसै वर्षदेखि डीभीका लागि राहदानी चाहिने नियम ल्याइदिएपछि डीभी भर्ने युवायुवतीहरू राहदानीका लागि जिल्ला प्रशासन धाउन बाध्य भएका छन्। मंगलबार एकै दिनमा फास्ट ट्रयाकबाट राहदानी लिनका लागि २६ जनाले आवेदन दिएका र साधारण तर्फ ३३ जनाले दिएको जिल्ला प्रशासन कार्यालय पर्साका राहदानी फाँट प्रमुख सदन कुमार कर्णले जानकारी दिए ।

साधारण तर्फको पासपोर्ट एक महिना भित्र ५ हजार रुपैयाँ तिरेपछि जिल्ला प्रशासन कार्यालय मै आई पुग्ने तर फास्ट ट्रयाकका लागि एक दिनमा राहदानी लिन चाहनेहरुले १५ हजार, दुई दिनका लागि १२ हजार र तीन दिनका लागि १० हजार रुपैयाँ राजश्व तिर्नु पर्ने प्रावधान रहेको राहदानी फाट प्रमुख कर्णले जानकारी दिए । यसका लागि अनलाईन मार्फत फारम भरेर सेवाग्राही स्वयं नारायणहिटी स्थित राहदानी विभाग काठमाडौं जानु पर्ने कर्णले बताए ।

प्रशासन कार्यालयमा राहदानी बनाउन आउनेले डीभी भर्नकै लागि आएको नबताए पनि डीभीबाहेक तत्कालै राहदानी अनिवार्य चाहिने कुनै घटना नदेखिएको हुँदा उनिहरु डिभी भर्नकै लागि आएको कर्णले जानकारी दिए ।

राहदानी विभाग, काठमाडौंमा पनि उस्तै भिड

राहदानीका लागि मंगलबारसम्म आवेदन दिनेको संख्या झण्डै ५६ सय पुगको राहदानी विभागले जनाएको छ ।

दैनिक बढीमा ५ सय आवेदन पर्दै आएकोमा केही दिन यता राहदानी बनाउनेको भीड अस्वभाविक रुपमा बढेको हो । दशैंलगत्तै दैनिक हजार जनाले राहदानीका लागि आवेदन दिँदै आएकोमा मंगलबारसम्म झण्डै ५६ सयले आवेदन दिएको विभागले जनाएको छ ।


राहदानी बनाउनेको संख्या बढेपछि परराष्ट्र मन्त्रालयले १० जना कर्मचारी काजमा समेत खटाएको छ । अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ ।

अमेरिकाले सन् २०२१ का लागि अक्टोबर २ अर्थात असोज १५ गतेदेखि डीभीको आवेदन खुल्ला गरेको छ । आवेदनको समयसीमा ५ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म रहेको छ ।आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न अमेरिकी सरकारले विशेष अनुरोध गरेको हो ।

यसपटक डीभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डीभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।

पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने जनाइएको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

प्रकाशित मिति: : 2019-10-23 11:22:32

प्रतिकृया दिनुहोस्