नेपालमा थप सहयोग गर्न अर्थमन्त्रीको आग्रह

फाइल तस्बिर

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशिमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताएका छन्।

अर्थमन्त्री डा खतिवडाले भने, “नेपालको चरम गरिबी केही वर्षभित्रमा हटाउने र आम जनताको औसत आयु एशिया प्रशान्त क्षेत्रको औसत आयु बराबर पु¥याई गुणस्तरीय जीवनयापन गर्नसक्ने बनाउन विश्व बैंकले सहायता राशिमा वृद्धि गर्नु जरुरी छ ।”

अर्थमन्त्री डा खतिवडासहित नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यले संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाउँदै उहाँले सो आग्रह गरेका हुन् ।

विश्व बैंकले नेपालमा सहायता गरेको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणनीति प्राथमिकताको विषयमा समेत खुलेर चर्चा गरे ।

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए । विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एशियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा धन्यवादसमेत दिएको अर्थमन्त्रालयले जनाएको छ ।

नेपालसँग बैंकको अझै धेरै क्षेत्रमा साझेदारी गर्न बाँकी रहेको उनिहरुको भनाइ थियो । वित्तीय सङ्घीयताको कार्यान्वयनको अनुभव आदानप्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालले छोटो सयममा वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंसा गरे ।

सो कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयताको कार्यान्वयनका विविध पक्षका बारेमा जानकारी दिएका थिए । यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा सचिव वैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका अर्थमन्त्रीहरुको १४औँ अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले यस क्षेत्रको आर्थिक वृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए । अन्तरदेशीय सडकलगायत हवाई सञ्जालको पर्याप्त विकास हुन सकेमा यसले आर्थिक वृद्धिमा योगदान पु¥याउने उनको भनाइ थियो ।

प्रकाशित मिति: : 2019-10-18 21:47:34

प्रतिकृया दिनुहोस्