हवाइ टिकट बुकिङ सकियो, उडान सङ्ख्या थप्दै वायु सेवा कम्पनी

फाइल तस्बिर

दशैँ आउनु एक महिना अघिदेखिनै हवाईजहाजको टिकट बुकिङ हुन्छ । यात्रुलाई घटस्थापना पछिका दिनमा धेरै टिकट चाहिन्छ । टिकट पाउन मुस्किल हुन्छ । पहिल्यै टिकट बुकिङ सकिएको हुन्छ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले दशैँको हवाई टिकट सबै सकिएको जनाएको छ ।

यो समय उडान हुने प्रायः सबै गन्तब्यमा हवाई यात्रुको चाप छ । यतीले आफ्ना पाँच एटिआर र पाँच साना गरी १० तथा भगिनी संस्था तारा एयरका छ जहाजबाट आन्तरिक उडान भर्दै आएको छ । भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत गन्तब्यमा हवाई जहाजको टिकट सकिएको छ । अरु बेला पनि व्यस्त रहने यि गन्तब्यमा दशैँका बेला हरेक वर्ष हवाई यात्रुको चाप हुने गर्छ ।

निजी क्षेत्रको अर्को ठूलो वायु सेवा कम्पनी बुद्ध एयरले पनि दशैँका लागि अधिकांश गन्तब्यमा टिकट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका अनुसार तुम्लिङ्टार र सुर्खेत गन्तब्यमा एक साता अघि नै बुकिङ पूरा भइसकेको छ भने बाँकी गन्तब्यमा ९० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरसँग आन्तरिक उडानमा रहेका १३ जहाज मध्ये ११ एटिआर र दुई साना जहाज छन् ।

आन्तरिक उडानको प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्सको पनि दशैँका लागि टिकट सकिएको छ । कम्पनीसँग आन्तरिक उडानका लागि ७० सिट क्षमताका दुई तथा ५० सिट क्षमताका दुई जहाज छन् । त्यस्तै आन्तरिक उडानका सौर्य, सीता र सिम्रिक एयरलाइन्सको पनि दशैँका लागि टिकट बुकिङ सकिएको छ । दशैँमा यात्रुको अत्यधिक चाप बढेकाले उडान व्यवस्थापन तथा थप विस्तार गर्न लागि परेको हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले पछिल्लो थानकोट–नागढुङ्गा सडक जामका कारण वायुसेवा कम्पनीलाई असाध्यै दबाब परेको भन्दै विमान कम्पनीले गन्तब्यमा उडान सङ्ख्या थप्ने तयारी गरेको छ ।

दशैँलाई लक्ष्य गरी अहिले सबै वायु सेवा प्रदायक कम्पनीको नियमित उडानमा शतप्रतिशत टिकट बुकिङ भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या बृद्धि गरिने जनाइएको छ । सङ्घका अनुसार आन्तरिक उडानमा १० हेलिकोप्टर कम्पनीसहित १८ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, सिम्रिक एयरलाइन्स, समिट एयर र तारा एयरले आन्तरिक उडान भर्दैआएका छन् ।

प्रकाशित मिति: : 2019-09-30 15:39:50

प्रतिकृया दिनुहोस्