पर्यटन दिवसमा तीन नयाँ गन्तब्य घोषणा, सरकारले ५० करोड दिने

फाइल तस्बिर

पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।

विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरेका हुन् ।

राज्यमन्त्री बुढाले नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरेका गन्तब्यहरुमा धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सा रहेका छन् ।

 घोषित गन्तव्य पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।

यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

 

प्रकाशित मिति: : 2019-09-27 12:53:50

प्रतिकृया दिनुहोस्