तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको प्रतिबद्धता

अर्थमन्त्री डा. युवराज खतिवडा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहीबार आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनलाई सम्बोधन गर्दै । तस्बिरः निरा गौतम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै रु १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३०  क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो । 

लगानी प्रतिबद्धता आएका प्रस्तावमध्ये कृषि, पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित रहेको तिलोत्तमा नगरपालिकाका प्रेस संयोजक बिपी गौतमले जानकारी दिए। प्रतिबद्धता आएका संस्था र तिलोत्तमा नगरपालिकाबीच बिहिबार नै प्रारम्भिक सम्झौतासमेत भएको उनले जानकारी दिए।

लगानी प्रतिबद्धता आएकामध्ये युकेएड र नगरपालिकाबीचको साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी सीप परियोजना सञ्चालन गर्ने प्रतिबद्धतामा प्रारम्भिक सम्झौता भएको छ । यस्तै नेपाल बैंक लिमिटेडले नगरभित्रका वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन व्यवसाय सञ्चालन गर्न चाहने, द्वन्द्वपीडित र विपन्न परिवारका जनतालाई नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउन रु एक करोड लगानी गर्ने प्रतिबद्धता आएको छ।

लगानी सम्मेलनमा नगरभित्रका सहकारीको समूहको लगानीमा तिलोत्तमा नगरपालिकामा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता आएको छ । यस्तै रिडी हाइड्रोले रु ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, रु एक अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न रु एक अर्ब ५० करोड लगानीको प्रतिबद्धतामा सम्झौता भएको प्रेस संयोजक गौतमले जानकारी दिए।

यसका साथै सङ्घीय सरकारको लगानीमा यसअघिनै घोषणा भएको फोहरमैला प्रशोधन केन्द्र र कृषिउपज सङ्कलन केन्द्रको परियोजनाको कामसमेत अघि बढाउने घोषणा गरिएको छ। लगानी सम्मेलनमा आएका लगानीका प्रस्तावबाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर गरिएको छ । यसका लागि डेरी, मिठाई, कमर्सियल फार्मिङ, स्मार्ट टनेल खेतीजस्ता निजी क्षेत्रबाट लगानीको प्रतिबद्धता आएको उनले बताए।

नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको समेत माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्था गर्ने छ । यस्तै निजी क्षेत्रका तर्फबाट आउने लगानीकर्तालाई समेत कानूनी प्रक्रियामा सहजीकरण र राजश्वमा छुटको व्यवस्था मिलाइने बताइएको छ । लगानी सम्मेलनमा नगरपालिकाले लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषिउपज सङ्कलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनस हब, रेल वे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष राखिएको थियो ।

यस्तै स्मार्ट हाटबजार, स्मार्ट पार्किङस्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दूध सङ्कलन तथा प्रशोधन केन्द्रजस्ता आयोजना अघि सारिएको थियो । नगरपालिकाले सम्मेलनबाट रु ५० अर्बभन्दा बढी पूँजी भित्रिने अपेक्षा राखिएको थियो ।    

प्रकाशित मिति: : 2019-09-27 08:14:09

प्रतिकृया दिनुहोस्