नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ। राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो।
राष्ट्र बैङ्कले आर्थिक बर्ष २०७५/०७६ सम्ममा सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको उनले बताए ।
सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्तत: नेपाल राष्ट्र बैंकको ढुकुटीमा पुग्छन्।त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र ब्याङ्कले सटहीको सुविधा पनि दिएको छ। राष्ट्र बैकको मुद्रा व्यवस्थापन विभागका अनुसार त्यसरी सङ्कलित नोट फेरि चलनचल्तीमा नजाऊन् भन्ने हेतुले लेखाजोखा गरेपछि थापाथलीस्थित भट्टीमा जलाउने गरिएको छ।
नोटको आयु कति?
सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।
पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे तीन वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे दुई वर्षको हुने उनीहरू बताउँछन्। तर, यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन।
राष्ट्र बैंङ्कले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ। पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ।
पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ।
कसरी छानिन्छ नोट?
राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनस् भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ।
राष्ट्र बैंकले जलाउनका लागि नोटहरू छुट्याएपछि रु ५०० र १००० दरको नोटको गड्डीमा चारैतिर प्वाल पारिन्छ। तर साना दरका नोटमा भने प्वाल पारिँदैन। प्वाल पार्नुअघि दुई पटकसम्म नोटहरूको गणना हुने अधिकारीहरूको भनाइ छ।
नेपाली सेनाको सुरक्षामा ती नोटहरू थापाथलीस्थित भट्टीसम्म पुर्याइन्छ। जलाउनुअघि 'र्यान्डम स्याम्प्लिङ' विधिबाट पाँच प्रतिशत नोटमा नमुना परीक्षण गरेर जलाउने प्रक्रिया सुरु हुन्छ।