अण्डाको मूल्य बढी लिए कारवाही

फाइल तस्बिर

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घले अण्डाको मूल्यमा एकरुपता कायम गरेको छ । यसअघि विभिन्न मूल्यमा अण्डा बिक्री वितरण हुँदै आएकामा आजदेखि अण्डाको मूल्यमा एकरुपता गरी उपभोक्ता मूल्य प्रतिगोटा  १२ रुपैयाँ कायम गरिएको छ । 

सङ्घको केन्द्रीय समितिद्वारा सोमबार राजधानीमा आयोजित छलफलमा  अण्डाको मूल्य तोकेको सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेले जानकारी दिए। हरेक शहरी क्षेत्रमा सोही मूल्यमा अण्डा बिक्री वितरण गर्नसमेत व्यवसायीलाई अनुरोध गरिएको छ। आज कायम गरिएको मूल्यमा अण्डा बिक्री वितरण नगर्नेलाई कारवाही गरिने सङ्घले जनाएको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष विनोद पोखरेलले मूल्यमा एकरुपता ल्याई किसानलाईसमेत फाइदा हुने तथा उपभोक्ता नठगिउन् भन्नका लागि अन्तक्र्रिया गरी नयाँ मूल्य निर्धारण गरिएको बताउनुभयो । यस अघि अण्डा प्रतिगोटा १५ रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो ।

आज कायम भएको मूल्य लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र अण्डा उत्पादक किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग–अलग समिति गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए। नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्यालले सबै मिलेर मूल्यमा एकरुपता गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। अण्डाको बजार अनुगमन समितिका संयोजक मदन पोखरेलले देशका सबै व्यवसायी, किसान तथा वितरकसँग छलफल गरेर निष्कर्ष निकालिएको बताए।

पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्टले मूल्य निर्धारण मात्रै समस्याको समाधान नभइ राज्यले निर्धारण गरेअनुसार उत्पादित अण्डा बिक्री वितरणको जिम्मेवारी लिनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले सबै मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: : 2019-09-23 22:52:10

प्रतिकृया दिनुहोस्